विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज वैशाख ३०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १३, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

हिंसा गरेको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ

हिंसा गरेको आरोपमा इमरान खानको पार्टीका थप ५ सय ४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

लाहोरको कोर कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेहरूमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआई का सदस्य रहेको डनले बताएको छ । मे ९ देखि पञ्जाब प्रहरीले पार्टीका पदाधिकारी र सदस्य विरुद्ध प्रान्तभर २०५ वटा मुद्दा दायर गरेको छ ।

बिहीबार राति प्रहरी अधिकारी र पीटीआईका कर्मचारीबीच केहीबेर झडप भएको थियो । प्रहरीले जेल रोडमा रहेको पीटीआईको कार्यालयमा संदिग्ध ठानिएका पार्टीका सदस्यलाई पक्राउ गर्नका लागि स्टेशनमा सूचना जारी गरिएको थियो ।

पार्टीका सदस्यले प्रहरीलाई ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको छ । अदालतबाट छोडिएपछि पीटीआई अध्यक्ष इमरान खानलाई स्वागत गर्न पार्टी समर्थक कार्यकर्ताहरू ठूलो सङ्ख्यामा भेला भएको खबर आएपछि शुक्रबार साँझ उनको जमान पार्क हवेली वरिपरि प्रहरीको उपस्थिति बढाइएको थियो ।

पञ्जाब प्रहरीका प्रमुख डा उस्मान अन्वरले शुक्रबार जारी गरेको विज्ञप्तिमा महत्वपूर्ण पूर्वाधार, सार्वजनिक र निजी सम्पत्तिमा आक्रमणका लागि जिम्मेवार अपराधीलाई कारबाही गरिने, क्षमा नदिइने उल्लेख गरिएको छ ।

अश्वेत अमेरिकी नागरिकको हत्या गर्ने पेनीद्वारा आत्मसमर्पण

श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइदै छ ।

मे १ मा नीलीको मृत्यु भएकै दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो ।

मे ३ मा नीलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ ।

म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन् ।

इथियोपियामा फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुग्यो

दक्षिणपूर्वी इथियोपियामा फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत सातादेखि फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो ।

हाल हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ । इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाइएको छ । चिकित्सकहरूलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिइएको छ ।

सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधीहरु प्रयोग गरिएको छ । यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आव्हान गरेको छ ।

हुथी लडाकू समूहको ड्रोन आक्रमणमा परी तीन यमनी सैनिकको मृत्यु

यमनको मारिब प्रान्तमा हुथी लडाकू समूहले गरेको ड्रोन आक्रमणमा परी कम्तीमा तीन जना यमनी सरकारी सैनिकको मृत्यु भएको यमनका एक सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

नाम नबताउने शर्तमा स्थानीय सरकारी अधिकारीका अनुसार हुथी समूहले मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानलाई लक्षित गरी रातभर गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएका थिए ।

ती अधिकारीले भने, “हुथी विद्रोहीले बिहीबार राति हरिब क्षेत्रमा तैनाथ हाम्रा सैनिकलाई विस्फोटक पदार्थले भरिएको ड्रोनले निशाना बनाएका थिए। रातभर धेरै विस्फोटका आवाज सुनिएको थियो ।”

सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच जारी द्वन्द्वमा सापेक्षिक शान्तिको अवधिका बीच ड्रोन आक्रमण भएको हो । यमनले हालैका महिनाहरूमा शत्रुतामा उल्लेखनीय कमी आएको अनुभव गरेको छ । यो सापेक्षिक शान्ति यमनको आठ वर्ष लामो विनाशकारी युद्धको अन्त्य गर्ने उद्देश्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति प्रयासहरूसँग मेल खान्छ ।

तेलको लागि धनी मानिने यमनको मारिब प्रान्तको लडाईं जारी द्वन्द्वको एक प्रमुख प्रेरक शक्ति बनेको छ, किनकि यसको बहुमूल्य स्रोतहरूले नियन्त्रणका लागि विभिन्न गुटहरूलाई आकर्षित गर्दछ ।

हुथी लडाकू समूहले सन् २०१४ मा साउदी समर्थित यमनी सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन गृहयुद्धमा फसेको छ । यस द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत भएका छन् र यमनलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटको सङ्घारमा पु¥याएको छ ।

विमान चालकले ककपिटमा साथीलाई प्रवेश दिएपछि ‘एअर इन्डिया’ लाई जरिवाना

भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया (३६ हजार ४९६ अमेरिकी डलर) जरिवाना गरेको छ ।

भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।

भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो । डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको छ ।

उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेह जारी गरेको थियो । अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सह–चालकलाई उल्लङ्घन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो ।

म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै

बङ्गालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौं मानिस भागेका छन् भने छिमेकी देश बङ्गलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न लागिपरेका छन् ।

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवातले २२० किलोमिटर प्रतिघण्टा (१३६ माइल प्रतिघण्टा) को गतिमा हावा चलिरहेको बताइएको छ ।

करिब १० लाख रोहिङ्ज्या शरणार्थीहरू बस्ने कमजोर आश्रयस्थल कोक्स बजार र म्यान्मारको पश्चिमी रखाइन तटमा रहेको सिट्वेको बीचमा आइतबार बिहान आँधी कमजोर हुने अनुमान गरिएको छ ।

एएफपीका संवाददाताका अनुसार शनिबार सिट्वेका बासिन्दाले कार, ट्रक र तीन पाङ्ग्रे (टेम्पो) मा आफ्नो सम्पत्ति र घरपालुवा जनावर जम्मा गरी सुरक्षित स्थलतर्फ हिँडेका छन् ।

“हाम्रो परिवारमा हजुरआमा हुनुहुन्छ र हामीले उहाँको हेरचाह गर्नुपर्छ,” खिने मिनले राज्यको राजधानीबाट बाहिरिने बाटोमा आफ्ना नातेदारहरूले भरिएको ट्रकबाट एएफपीलाई बताए ।

“हाम्रो घरको हेरचाह गर्न सिट्वेमा एक जना मात्र मानिस बाँकी छन् ।

करिब एक लाख ५० हजार मानिसहरूको बसोबास रहेको यस शहरमा पसल र बजारहरू बन्द गरिएका थिए र धेरै स्थानीयहरू अग्ला स्थानमा रहेका गुम्बाहरूमा आश्रय लिएका थिए । आँधीका कारण सबै जना सुरक्षितस्थलतर्फ भागेको बताउँदै चालीस वर्षीय क्याव टिनले आफ्नो छोरा स्थानीय अस्पतालमा रहेकाले त्यहाँबाट बाहिर जान नसक्ने बताए ।

“यो चक्रवात हाम्रो राज्यमा आउनेछैन भन्नेमा हामी आशावादी छौँ । तर यदि यस्तो नियति भयो भने हामी यसलाई नजरअन्दाज गर्न सक्दैनौं,” उनले भने ।

सन् २००८ मा दक्षिणी म्यान्मारमा एक लाख ३० हजारभन्दा बढी मानिसको ज्यान जाने गरी आएको आँधीलाई सङ्केत गर्दै उनले भने, “मलाई चिन्ता छ कि यो चक्रवातले ‘नरगिस’ले जस्तै हाम्रो राज्यलाई पनि असर गर्नेछ ।”

म्यान्मारको जुन्टा अधिकारीहरूले राखिन तटमा रहेका गाउँहरूबाट स्थानान्तरणको निगरानी गरिरहेको सरकारी सञ्चार माध्यमहरूले शुक्रबार जनाएका छन् ।

म्यान्मार एयरवेज इन्टरनेसनलले रखाइन राज्यका लागि आफ्ना सबै उडान सोमबारसम्मका लागि स्थगन गरिएको जनाएको छ ।

श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराएका छन् ।

मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो ।

त्यसैगरी २०२१ र २०२२ का लागि आधिकारिक तथ्याङ्क क्रमशः ५.४९ बिलियन डलर र ३.८ बिलियन डलर थिए । प्रवासी कामदारको विप्रेषण श्रीलङ्काका लागि राजस्वको मुख्य स्रोत हो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ५९ बजे

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका