कांग्रेसले बीपी सम्झने नैतिक हैसियत गुमायो | Khabarhub Khabarhub

कांग्रेसले बीपी सम्झने नैतिक हैसियत गुमायो


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बिपी कोइरालाको प्रेरणामा हुर्किएको नेपाली कांग्रेस आजका दिनमा बिपी कोइरालाको पदचापबाट विमुख भएको छ। विचलित भएको छ। बिपी कोइरालाको ११० औँ जन्म जयन्ती मनाउँदै गर्दा नेपाली कांग्रेसले उनको चिन्तन, विचार, व्यक्तित्व, मार्ग चित्रलाई ओझेलमा पार्ने ढंगबाट साहित्यिक महोत्सव गर्ने हिम्मत देखाएको छ। अहिले नेपाली कांग्रेस माओवादी केन्द्रसँग सत्ता साझेदारी गरेर बसिराखेको छ। नेपाली कांग्रेसले गर्नुपर्ने काम बिपी कोइरालाको विचारको सान्दर्भिकताका सन्दर्भमा आजका मितिमा राप्रपाले कार्यक्रम गरेर कोइरालालाई सम्झिँदै गर्दा कांग्रेसले सम्झिने हिम्मत र साहस किन गर्न सकेन। यिनै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता लोकेश ढकालसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

अहिले बिपीका सन्दर्भमा भइराखेका बहसलाई कसरी लिनुहुन्छ, साहित्यिक महोत्सवका विषयमा गर्ने कि वैचारिक विषयमा गर्ने हो ?
साहित्यिक विषयमा गर्नलाई एउटा महान् साहित्यकारलाई समालोचकलाई बोलाएर गर्दा ठिक हुन्छ। नेपाली कांग्रेसको जीवनमा, आन्तरिक सङ्गठनमा, पार्टीका दस्तावेजमा, विधानमा देखाउनको लागि बिपीका नाम राखिन्छ। यथार्थमा बिपीका विचार, चिन्तन, आदर्श मूल्य मान्यतालाई कांग्रेसले पछ्याउन छोडेको धेरै भइसक्यो। यस कारणले पनि कांग्रेसलाई बिपीको बारेमा चिन्तन मनन गर्ने हो भने उहाँको राष्ट्रिय एकता र नीतिको मर्मलाई समात्नुपर्छ। उहाँले प्रजातान्त्रिक मूल्य र मान्यतालाई समातेर बहस गर्नुपर्यो। राष्ट्रियताको बहस गर्दा पनि उहाँकै विचारलाई समातेर गर्नुपर्छ।

होइन भने पार्टी सभापतिले भनेको जस्तै अमूर्त रूपमा कुरा गरेर सबै हामी जे जे गरीरहेका छौँ बिपी कोइरालाको विचार र चिन्तन अनुसार नै अगाडि बढिरहेका छौँ भनेर त्यो घोर अपव्याख्या गर्नुपर्यो। त्यस कारणले कांग्रेसलाई सकस भएर नै अलि चतुरतापूर्वक अहिलेका युवा महामन्त्रीले यो साहित्यिक महोत्सवका नाममा बिपीलाई सम्झिने काम गरेको देखिन्छ। राजनीतिक रूपले बिपीलाई अब सम्झने कांग्रेसले नैतिक हैसियत गुमाइसकेको छ।

उच्च मर्यादाका साथ सम्झिनु पर्दा बिपी कोइराला उदारवादी वाम चिन्तक थिए भनेर कांग्रेस नेताले नै भन्न थालेका छन् ?
जसलाई जे स्वार्थमा प्रयोग गर्न सकिन्छ। त्यो गर्ने हो बिपीलाई प्रयोग गर्न सजिलो नै छ। बिपीको सिंगो जीवन संघर्षमा बित्यो। २००७ साल भन्दा अगाडि बिपी एउटा क्रान्तिकारी, युवा अवस्थामा वामपन्थी झुकाव भएको उहाँ आफैले भन्नुभएको छ। २००७ सालपछि १५ सालको चुनावसम्मको बिपी एउटा। प्रधानमन्त्रीको रूपमा बिपी एउटा। आठ वर्ष कठोर कारावास बस्दाको बिपी एउटा। २०२५ सालमा पञ्चायती कठोर कारागारबाट मुक्त भएपछि अर्को आठ वर्ष भारतमा बस्नुभयो, त्यो एउटा बिपी। त्यो बीचमा उहाँका विभिन्न कर्म छन्। उहाँका विचार पनि त्यही अनुसारले परिपक्व हुँदै र खारिँदै गएका छन्।

विशेष गरेर राजनीतिक व्यक्तित्व बिपीको चर्चा गर्दा उहाँको विचार, चिन्तन राष्ट्रिय एकता र मेलमिलाप नीतिको अन्तरिम सबैलाई चर्चा गर्दा ८ वर्षको पञ्चायतको कारावास त्यसपछिको अर्को आठ वर्षको कष्टपूर्ण भारतमा बस्नु, सिंगो १६ वर्ष भनेको उहाँको तपस्याको अवधि हो।

बिपीले भारतमा बस्दा सारा अन्तर्राष्ट्रिय जगतका साना राष्ट्रहरू सङ्कटमा मडारिएको देख्नुभयो। भारतले सिक्किमलाई आफ्नो भूमिमा गाभ्ने काम गर्यो। अफगानिस्तानमाथि हस्तक्षेप, पाकिस्तानको विभाजन, बङ्गलादेशको उदय सबै घटनाबाट नेपालको पनि राष्ट्रियता अब सङ्कटमा पर्नसक्छ भनेर भारत निर्वासनमा बस्नुभन्दा मर्नु परे पनि आफ्नै भूमिमा गएर मर्छु भनेर जोखिम मोलेर स्वदेश फर्किनुभयो। त्यो समयमा बिपीलाई फाँसीसम्म हुनसक्ने चुनौती थिए। त्यसको बाबजुद पनि नेपालमा आउनुभयो। त्यो खारिएको नेपाली राजनीतिमा बुद्धत्व प्राप्त गरेको बिपी भन्छु म। राष्ट्रियताको सवालमा राजासँग मिलेर देश बचाउनुपर्छ भनेर जसरी राष्ट्रिय एकता र विचार दर्शन लिएर नेपाल फर्किनुभयो। त्यो बिपी यथार्थमा राजनीतिकमा बुद्धत्व प्राप्त गरेको बिपी हो।

त्यो विचारलाई छोडेर २००७ या २०१५ सालअघिको एउटा क्रान्तिकारी विचारलाई समातेर बिपीको बाटोमा हामी बसेका छौँ। बिपीको बाटो हामी हिँडेका छौँ भन्नु बिपीप्रतिको घोर अपमान हो। उहाँका विचार र चिन्तनको घोर अपव्याख्या र दुरुपयोग गरेको मान्छु।

राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्किँदै गर्दाको सन्दर्भ र सान्दर्भिकता अहिले आएर असान्दर्भिक भयो। त्यो परिस्थिति फरक थियो। अहिले हामी राजा सहितको प्रजातन्त्रको परिकल्पना गर्न पनि सक्दैनौँ। बिपीले अवलम्बन गरेको त्यो बेलाका नीतिलाई अहिले अवलम्बन गर्न सक्ने अवस्था पनि होइन। त्यो गलत व्याख्या गरियो भन्छन् नि ?
त्यो भन्ने आफै गलत छन्। नेपाली कांग्रेसले बिपी कोइरालाको निधनदेखि नै उहाँका विचार र चिन्तनलाई छोड्दै गयो। बिपीले कम्युनिस्ट राष्ट्रवादी पनि हुँदैनन् किनभने कम्युनिस्टले माक्र्सवादी विचार धारालाई आधार मानेर राजनीति गर्छन्। उनीहरूले बहुदलीय व्यवस्थालाई पनि स्वीकार गर्दैनन्। एउटै कम्युनिस्ट पार्टी एउटै विचार र बहुलवादलाई विश्वास गर्दैनन्। त्यस कारण उनीहरू प्रजातन्त्रवादी होइनन्। संसारलाई एउटै राष्ट्र बनाउने माक्र्सको लक्ष्य हुन्छ। त्यस कारण कम्युनिस्ट राष्ट्रवादी पनि हुँदैनन्।

प्रजातन्त्रवादी पनि नहुने भएकोले यो पञ्चायती व्यवस्थाविरुद्धको प्रजातन्त्रको संघर्ष हो। म कम्युनिष्टलाई साथ दिएर हिँड्दिन भन्ने बिपीको मान्यता थियो।

यसको विपरीत उहाँको निधनपछि कांग्रेसले ०४२ सालको सत्याग्रह एकजुट गरेको भएता पनि पछि कम्युनिस्टलाई पनि साथ दियो। ०४६ सालको जनआन्दोलनमा त कांग्रेसका नेता गणेशमानजीले वाममोर्चा गठन गर्नको लागि सहयोगको भूमिका नै खेल्नुभयो। त्यो गरे बापत पञ्चायत अलिकति छिटो त ढल्यो। बिपीको त बरु १० वर्ष ढिलोगरी पञ्चायत व्यवस्था आओस् र प्रजातान्त्रिक शक्तिले आफ्नो बुतामा आफ्नो संघर्ष गरेर प्रजातन्त्र स्थापना भयो भने दिगो हुन्छ। कम्युनिस्टसँग मिलेर गरेको प्राप्त गरेको दिगो हुँदैन भन्ने बिपीको मान्यता विपरीत हामीले कम्युनिस्टसँग गला मिलाएको कारणले यो अवस्था आयो।

त्यो बेला सामान्य कम्युनिस्ट मात्र होइन माओवादी जसको लक्ष्य नै संसदीय प्रजातन्त्रलाई समाप्त गर्नको लागि कांग्रेसका नेता कार्यकर्ताको टाउको काटेर उसको ५२ साल फागुन १ बाट आन्दोलन सुरु भयो। आज तिनै कम्युननिष्टसँग अहिले कांग्रेसले सहकार्य गरेको छ।

माओवादी युद्ध, ज्ञानेन्द्रको माघ १९, सात पार्टीको मोर्चा, १२ बुँदे सहमति, दुई वटा संविधान सभाका निर्वाचनदेखि संविधान जारी हुँदासम्म कांग्रेसले आफ्नो वैचारिक धरातल बिर्सिएको छ। संसदीय प्रजातन्त्र भन्ने तर कम्युनिष्टसँग जे विषयमा पनि गएर सम्झौता गर्ने ? आजको हामीले स्वीकारेको भनेको विकृत संसदीय व्यवस्था हो।

कांग्रेसको जीवनमा भीड त छ तर कांग्रेसको भीडमा नै कांग्रेस खोज्नुपर्ने अवस्था छ। इतिहासमा आज कांग्रेस एक्लैले लिडरसिप लिन नसक्ने, वामपन्थीहरुसँग गला नजोडी केही गर्नै नसक्ने, संसदमा सबै भन्दा ठुलो पार्टी छ। तेस्रो दललाई प्रधानमन्त्री मानेर, लत्रिएर हिँड्नुपर्ने यो अवस्थामा सबै भन्दा संकटपूर्ण डिलमा कांग्रेसलाई पु¥याउने काम बिपीको नेतृत्वले गरेको हो। सुशील कोइराला हुँदै देउवासम्म कांग्रेस आइपुग्दा त दयनीय अवस्थामा पुर्याइएको छ। त्यहाँ बिपी खोज्नुपर्ने अवस्थामा पुगेको छौँ हामी।

नेपाली कांग्रेसमा केही नयाँ युवा आएका छन्। उनीहरू काममा प्रतिबद्ध छन्। बिपीको विचार पनि उनीहरूले प्रवाह गरिराखेका छन्। अब कांग्रेस बौरिन्छ भन्छन् नि ?
यो केही मैले देखेको छैन। मैले देखेको भनेको पार्टी कब्जा गर्ने मनोविज्ञानबाट साथीहरू लागेको देखिन्छ। अलिअलि भाषण गर्ने कला छ। बोल्नु हुन्छ। ताली र गाली खानुहुन्छ। अहिले कांग्रेसमा हामी जस्ता मान्छेले बिपी देखेको छैन।

दुई दुई पटकको संविधानसभाबाट गणतान्त्रिक संविधान लेखिराखेको छ। तपाईंहरू धर्मनिरपेक्षता गणतन्त्र कहाँबाट आयो बिपीले कहिले गणतन्त्र स्वीकार गरेका थिए भनेर प्रश्न गर्नु हुन्छ। परिवर्तन विरोधी हो तपाईँहरू ?
हामी परिवर्तन विरोधी होइन। संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशिता लगायतका क्रान्तिकारी मुद्दालाई के आधारमा नेपाली राजनीति र संविधानमा समावेश गरियो। म त आफैमा यो संविधान नै असंवैधानिक संविधान हो भन्छु। २०४७ सालको संविधान सबैले नेपालको सबै भन्दा उत्कृष्ट संविधान भनेको हो। त्यो संविधान सबै पुराना र नयाँ राजनीतिक शक्तिको साझा स्वीकार गरेको दस्तावेज थियो। तर अहिले दाता र छिमेकी राष्ट्रले भनेको आधारमा बनेको संविधान छ। राज्यले संविधान निर्माण गर्ने खर्च भन्दा धेरै ठुलो खर्च दातृ निकाय एनजीओ, आइएनजिओको नाममा भएको छ। त्यसरी बनाएको संविधान आज संसारको उत्कृष्ट संविधान पनि भन्न छोडिसके। यो संविधान कार्यान्वयन गर्ने अवस्थामा नै गएको छैन। यसले न राष्ट्र जोड्न सक्छ न स्थिर सरकार दिनसक्छ। म त यो संविधान बनाउने सबै प्रतिगामी देख्छु।

राजनीतिक स्थिरता त गठबन्धन नबनाई सम्भव नै छैन। कांग्रेसले गठबन्धन बनाएर स्थिरताको सन्देश त दिएकै छ त ?
स्थिरता त हामीले 0६२–६३ सालको राजनीतिक परिवर्तनदेखि देख्दै आएको हो। कति वटा प्रधानमन्त्री देख्यौँ ? यो संविधान रहेसम्म कुनै एउटा दलको सरकार बन्दैन। स्थिरता त हुँदैन। संविधानका अरु मूलभूत मुद्दामा त अरु बहस गर्छन्। स्थिरताको कल्पना नगरौँ । मूल कुरा यो संविधानलाई संशोधन गर्न राजनीतिक शक्ति तयार भए भने यो संविधान जीवित रहला।

बिपी कोइरालाले १८ महिनाको नेतृत्व गर्दा राजनीतिक स्थायित्व र सुशासनका कुरामा नेतृत्व गरेको पृष्ठभूमिमा कांग्रेस भएर हेर्ने हो भने अहिले सरकारले सुशासनको सन्देश त दिन खोजेको छ नि ?
गृहमन्त्रीले इमानदारी पूर्वक गरेको देख्छु म। तर उनी आफै निरीह छन्। गृहमन्त्रीले थाहा नपाउँदै गृह प्रशासनका मानिसको सरुवा हुन्छ। भुटानी शरणार्थीदेखि सुन प्रकरण, ललिता निवास प्रकरणका सन्दर्भमा सुन पानी छर्किसके। ठुला मान्छेलाई बयानसम्म लिन नसक्ने र साना मान्छेलाई मात्र थुनामा राख्नुको अर्थ हुँदैन। यो सुन प्रकरणमा पनि भारतको स्वार्थ जोडिएको छ। भुटानी शरणार्थीमा पनि अमेरिकाको चासो भएकोले अलिकति कारबाही गरिएको हो।
त्यस कारण सरकार सुशासनको लागि एकदमै दृढ भएको लागेको छ भन्ने आधार छैन।

यसको प्रमुख कारण तपाईंको पार्टी नेतृत्व हो नि ?
म कांग्रेसको कार्यकर्ता हुँ। विगतको कांग्रेस देख्दा गर्व लाग्छ। अहिलेको कांग्रेस देख्दा दुःख लाग्छ। कांग्रेसमा अहिले नीति र नेतृत्व ठिक छैन। उसले गरेको निर्णयको औचित्य नै स्थापित हुनसक्दैन।

नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ र सबै ठिक हुन्छ भन्नेलाई के भन्नु हुन्छ ?
नेतृत्व मात्र समस्या होइन। शेरबहादुरको ठाउँमा अर्को व्यक्ति सभापति हुँदैमा समस्या समाधान हुँदैन। अहिले पार्टी भित्र भएको रूपान्तरण के हो ? त्यसमा कुनै मुद्दा नै छैन। खाली शेरबहादुरलाई आलोचना गरेर अर्को व्यक्ति स्थापित गर्ने बाहेक त्यहाँ विचारको कुरा नै छैन। विचार शून्य भएर परिवर्तन हुँदैन। नीति र नेतृत्व दुबैलाई नसच्याएसम्म कांग्रेस ठिक बाटोमा हुँदैन। इतिहासका बिपीले कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंहलगायतले महान् आदर्शवादी नेताहरूले स्थापना गरेको गौरवशाली कांग्रेसको स्थान वर्तमान कांग्रेसले प्राप्त गर्न सक्दैन।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १० : ३० बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

चितवन– चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा गएराति सवारी दुर्घटना

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

जलेश्वर– मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा

अमेरिकी निर्वाचनमा बमको धम्की : खराब मौसमले केही स्थानमा मतदानमा समस्या

न्यूयोर्क – अमेरिकी राष्ट्रपति पदका लागि जारी मतदानमा पूर्वी भागमा

राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु

अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्पलाई सुरुवाती अग्रता

न्युयोर्क – अमेरिकामा मंगलबार भएको निर्वाचनको परिणाम आउने क्रम सुरु