देश/प्रदेश

आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति

By खबरहब

November 13, 2023

सुनसरी– सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी हुँदा ५० लाख रुपैयाँ बढीको क्षति भएको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा गएराति आगलागी भएको जानकारी दिए ।

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाकाबाट आगो सल्किएको बताइएको छ ।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।