काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका छन् ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।
तिहारको चौथो दिन भोलि गोरुपूजा र गोबर्द्धन पर्वतको पूजा गर्ने परम्परा छ ।