देश/प्रदेश

पुष्प व्यवसायबाट मनग्य आम्दानी

By खबरहब

November 13, 2023

गलकोट– बागलुङ नगरपालिका-१ रामरेखाका भुवन बोहोरा पुष्प व्यवसायमा लागेको आठ वर्ष भयो । भारतको नयाँदिल्लीमा बिएसी बोट्नी विषयमा अध्ययनपश्चात् काठमाडौँमा शिक्षक पेसामा आबद्ध बोहोरा आफ्नै ठाउँमा पुष्प व्यवसायको राम्रो सम्भावना देखेर फर्किएका थिए । 

साविकको धौलागिरि अञ्चलमा व्यावसायिक पुष्पखेतीको अभाव रहेको र बजार विस्तारको राम्रो सम्भावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरिसकेका छन् । २९ वर्षीय बोहोराले सञ्चालनमा ल्याउनुभएको ऋषिका नर्सरीमार्फत अहिले ठूलोमात्रामा पुष्पको कारोबार हुँदै आएको छ । उनले पुष्पसँगै फलफूलका बिरुवा बिक्री गर्नुका साथै बगैँचा सजावटको कामसमेत गर्दै आएका छन् । 

पछिल्लो समय धौलागिरिको बागलुङसहित म्याग्दी र पर्वत जिल्लासम्म आफ्नो बजार विस्तार भइरहेको भन्दै तिहारको समयमा बढीमात्रामा फूलको कारोबार हुने बोहराले बताए । तिहारको समयमा मात्रै पाँच लाखसम्म फूलको कारोबार गर्ने उद्देश्य रहेको उनको भनाइ थियो । उनले मौसमी मात्रै नभएर बेमौसमी फूलहरुकोसमेत कारोबार गर्दै आएका छन् । फूल बिक्रीबाट तिहारको समयबाहेक मासिक रू एक लाख ५० हजार आम्दानी हुने बोहोराले जानकारी दिए। 

‘सम्बन्धित विषयमा अध्ययन गरेको थिए । शिक्षक हुनभन्दा धौलागिरिमा फूलको खासै कारोबार नभएको देखेँ । आफैँ बजार विस्तार गर्ने लक्ष्यसहित आठ वर्षअघिदेखि पुष्प व्यवसायमा लागेको हुँ’, उनले भने, ‘तिहारको समयमा सयपत्री फूल र तयारी माला बिक्री हुन्छन् । अघिपछि गमलासहितका घर सजावटका लागि फूल बिक्री गर्छु । अहिले नर्सरीमा उत्पादन भएका विशेष फूल काठमाडौँ र पोखरासम्म पठाउँदै आएको छु ।’

तीन वर्ष काठमाडौँमा विज्ञान विषयको शिक्षक भए पनि व्यवसायमा नामसँगै आम्दानी गर्न सकिन्छ भनेर गृह जिल्ला फर्केर पुष्प व्यवसायमा लागेको बोहोराको भनाइ छ । उनका अनुसार नर्सरीमा तीन जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । 

पुष्प व्यवसायभन्दाबित्तिकै तिहारमा मात्रै गरिने व्यवसायलाई सोचिने भन्दै आफूले बाह्रै महिना फूलको कारोबार गरिरहेको बोहोराले बताए। म्याग्दीका तीन स्थानीय पालिकासँग फूल र फलफूलका बिरुवा निर्यात गर्ने वार्षिक सम्झौताअनुसार काम भइरहेको उनले जानकारी दिए। 

‘वार्षिक ग्राहकसमेत बनाइसकेको छु । बगैँचाको डिजाइन र दुबोसहितको फूल लगाउन परामर्शसमेत दिइरहेको हुन्छु’, पुष्प व्यवसायी बोहोराले भने, ‘धौलागिरिमा पछिल्ल्लो समय घर सजावटमा फूलको प्रयोग गर्ने, बगैँचामा दुबो लगाउने प्रचलन बढेको छ । तिहारलाई मात्रै लक्षित गरेर सयपत्री फूल खेतबारीमा लगाउन सकिन्छ ।’ पुष्पखेतीबाट वार्षिक रू १५ लाखसम्मको कारोबार हुने जनाउँदै उनले तिहारमा सयपत्रीको माग बढी हुने भए पनि अन्य समय बेमौसमी फूलको माग हुने बताए।

धौलागिरिमा मासिक रू चार लाखको फूलको कारोबार गर्ने लक्ष्यअनुसार आफूले योजनाबद्ध ढङ्गबाट काम गरेको बताउँदै विस्तारै फूल तथा बगैँचा सजावटको बजार विस्तार भइरहेकामा खुसी लागेको बोहोराले बताए। साढे चार रोपनी जग्गामा फैलिएको नर्सरीमा हालसम्म रू एक करोड लगानी भइसकेको बताउँदै दीर्घकालीन लक्ष्यका साथ पुष्प व्यवसायमा लागेको उनको भनाइ थियो ।

उनको नर्सरीमा अहिले सयपत्री, मौसमी, बहुवर्षीय र टिस्युकल्चर गरिएका सजावटका फूल छन् । त्यस्तै मेवा, आँप, अम्बा, किबी, चेरी, एबोकाडो र आरुका उन्नत जातका बिरुवासमेत उत्पादन र बिक्री भइरहेका छन् । साढे तीन रोपनी आफ्नै जग्गा रहेको बताउँदै बोहोराले वार्षिक रू ५० हजार भाडा तिर्नेगरी एक रोपनी जग्गा भाडामा लिएको जानकारी दिए।

धौलागिरिमै आफ्नो ठूलो नर्सरी रहेको दाबी गर्दै आफूले अध्ययन गरेको विषयमा व्यवसाय गर्न पाउँदा सन्तुष्ट भएको बोहोराले बताए । पुष्प व्यवसायमा बुबाले साथ दिँदै आएका छन् । चार जिल्लाका सरकारी कार्यालय सजावटका लागि आफ्नै नर्सरीबाट फूल निर्यात भइरहेको उनले बताए।