गण्डकीमा बिजुली नपुगेका घर खोज्दै ऊर्जा मन्त्रालय | Khabarhub Khabarhub

गण्डकीमा बिजुली नपुगेका घर खोज्दै ऊर्जा मन्त्रालय


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुलीको पहुँचबाहिर रहेको देखाएको थियो ।

तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्यांकलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको देखिन्छ । 

मन्त्रालयको ऊर्जा शाखा प्रमुख इन्जिनियर जीवन श्रेष्ठका अनुसार बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको शतप्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुर्याउने योजनामा मन्त्रालय छ । ‘बिजुलीको पहुँचबाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पुर्‍याउँछौँ’, उनले भने, ‘केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिने ठाउँमा सौर्य ऊर्जा जडान भइरहेको छ ।’

अहिलेसम्म बिजुली नै नपुगेका घरधुरी पहिचान गर्न नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहसँग मन्त्रालयले समन्वय गरिरहेको इन्जिनियर श्रेष्ठले बताएका छन् । तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी रहेको उनको भनाइ छ । ‘अन्यत्र पनि विद्युत् सेवाबाट बञ्चित गाउँ र परिवार हुन सक्छन्, त्यस्ता ठाउँको हामी आफैँले पनि खोजी र अध्ययन गर्दैछौँ’, इन्जिनियर श्रेष्ठले भनेका छन् ।

प्रदेशभित्रका ९९ दशमलव ५० प्रतिशत घरमा विद्युत् सेवा पुगिसकेको र बाँकी घरधुरीमा यथाशक्य छिटो बिजुली पुर्याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रैमा सबै घरमा बिजुली पुर्याउने निर्णय गरेको थियो ।

बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेशको लक्ष्य यसै वर्ष पूरा हुने मन्त्रालयले जनाएको छ । सरकारको चालु आव २०८०-८१ को नीति तथा कार्यक्रमले पनि उक्त लक्ष्यलाई समेटेको छ । मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले विद्युतीकरण हुन बाँकी नवलपुर र तनहुँका केही ठाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको बताएका छन् । 

‘राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन नसिकने ठाउँमा लघुजलविद्युत् र सौर्य उर्जा प्रविधि जडानको काम भइरहेको छ’, उनले भने, ‘छुटेका घरधुरीमा दुई महिनाभित्रैमा विद्युतीकरण गर्न सकियो भने आगामी फागुन ४ मा पर्ने प्रदेश स्थापना दिवसमा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने मन्त्रालयको तयारी छ ।’

सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरधुरीलाई स्वघोषणा गरेर आउनसमेत मन्त्रालयले सूचित गरेको प्रवक्ता पौडेलले बताए । नेपाल विद्युत् प्राधिकरणको १३ वितरण केन्द्रमार्फत प्रदेशका ११ वटै जिल्लामा विद्युतीकरण गरिएको उनको भनाइ छ ।

लघजलविद्युत् पनि नभएको ठाउँमा घरेलु सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले अनुदानकोसमेत व्यवस्था गरेको प्रवक्ता पौडेलले बताएका छन् । मन्त्रालयका अनुसार प्रदेशका पाँच लाख ७५ हजार एक सय ८७ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ । 

राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी, बागलुङ र गोरखाका आठ स्थानीय तहका एक हजार पाँच सय ९६ घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कुल एक सय ९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । प्रदेशमा रहेका ९० लघुजलविद्युत् आयोजनाबाट तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन भइरहेको छ । यसबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : १२ बजे

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवन– प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर

जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ : सांसद विष्ट

काठमाडौं– नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या

लिङ्देन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छु, साना दललाई निषेध नगरियोस्

गणितले होइन चरित्रले देशलाई असर गर्‍यो : राजेन्द्र लिङदेन काठमाडौं–

अर्थतन्त्रप्रति यस्ता छन्‌ ओलीका ‘लिखत चिन्ता’ र पाँच प्राथमिकता

काठमाडौं– प्रतिनिधि सभामा विश्वासको मत लिँदै गरेका प्रधानमन्त्री एवम्‌ नेकपा