पाकापुस्ताकै भरमा ‘मारुनी नाच’, युवापुस्तालाई छैन चासो | Khabarhub Khabarhub

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’, युवापुस्तालाई छैन चासो


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

रामपुर– मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र  गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्छन् । पाल्पाको रामपुर नगरपालिका–२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन् । गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उनकै नेतृत्वमा देखाइन्छ । 

‘युवापुस्ता मारुनीमा रहर गर्दैन, अधिकांश पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्’, थापाले भने, ‘केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।’ मारुनी गाउने र नाच्ने भनेपछि उनी औधी खुसी छन् । पहिला अहिलेजसो मारुनी नाच्नेका लागि पोशाक उपलब्ध थिएन । आमा, दिदीबहिनीका सारी, चोलोलगायत भेषभूषा, गरगहना लगाएर नाच्ने गरेको उनी सुनाउँछन् ।

पूजाआजा, पास्नी, छैँठी, न्वारन, दशैँ-तिहारजस्ता पर्वमा मारुनी नाच्ने चलन थियो । अनिवार्यजस्तो यी पर्वमा मारुनी नाचिने गरेकामा पछिल्ला वर्षमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको छ । हिजोआज मेला, महोत्सवलगायत कार्यक्रममा संस्कृति जोगाउन मारुनी नाच नाचिन्छ । पुरुषले महिलाको भेषभूषा सारी, चोलो, पटुका, कण्ठमाला, चुरापोतेलगायत गरगहनामा सजिएर मारुनी नाचिन्छ । 

आफ्नो कला, संस्कृति जोगाउन पाका पुस्तासँग समूहमा आबद्ध भएर मारुनी नाच्ने गरेको बताउँछन्, ४३ वर्षीय दिनेश थापामगर । ‘बाउबाजेबाट सीप सिकेर १३ वर्षको उमेरदेखि नै मारुनी नाच्न थालेको हुँ, पहिलाको र अहिलेको मारुनीमा धेरै फरक छ, पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति कम हुँदा कहिलेकाहीँ मेला महोत्सव, कार्यक्रममा मात्रै सीमित बन्न पुगेको छ’, उनले भने । 

टोलटोलमा यस्तो नाच अहिले कमै देख्न पाइन्छ । परम्परागत संस्कृति संरक्षणमा कसैको ध्यान नजाँदा मारुनी नाच नाचिन छाडेको हो । पुरुष नृत्यकारले महिलाको भेषभुषामा सजिएर नाच्दा दर्शकमाझ रमाइलोपन ल्याउँछ । नृत्य मनोरञ्जनका लागि मात्र मारुनी देखाउने कार्य नभई समाजको परम्परागत कला-संस्कृति जोगाउनसमेत पाका पुस्ता भने निरन्तर लागिरहेका छन् ।

पुरानो रीतिरिवाज जोगाउँदै वाद्यवादनको तालमा गीतको भावअनुसार नाच्दै जाँदा छुट्टै आनन्द हुने स्थानीय ज्ञानबहादुर सारुमगरले बताए। पहिला त विभिन्न पर्व, पूजाआजा, उत्सव, पास्नी, छैँठीमा अनिवार्य मारुनी नाच्ने गरे पनि अहिले भने सबै कामकाजमा व्यस्त रहँदा कमै मात्रामा देखाइने उनको भनाइ छ ।

मारुनी भगवान्का विभिन्न गीत गाउने र सो गीतको भावअनुसार नृत्यकारले आफ्नो नाच देखाउने गरिन्छ । गीत झट्ट बुझ्न गाह्रो पर्छ । गीतमा पोख्त कलाकारले मात्रै नाच्न सक्छन् । ‘कमलको फूल लिन जाउन भानिज, शिरैउपर छाता छैन जान्न मत मामा’ यसरी गीतमा डुबुल्की मार्न सकिएन भने सामान्य सुनेको भरमा मात्रै नाच्न नसकिने मारुनीका कलाकार ६३ वर्षीय दानबहादुर थापाको भनाइ छ । 

‘बेग्लै लय भएकाले झट्ट गीतको अर्थ जोकसैले बुझ्न सक्दैनन्, मारुनी नाच्ने कलाकारले पहिला गीत राम्रोसँग सुनेरमात्रै नाच्नुपर्दछ, गीत बुझेपछि भने नाचु-नाचु भइरहन्छ’, उनले अनुभव सुनाए। गाउँमा हुने विभिन्न शुभकार्य, पूजाआजा, न्वारन, छैँठीजस्ता कार्यमा मारुनी नाच्दा गाउँ नै उल्लासमय हुने गरेकामा अहिले खोज्नुपर्ने अवस्था रहेको ५९ वर्षीय  ताराबहादुर थापाले बताए।

गीतमा भगवान् कृष्णका जन्मदेखिका उनले आफ्नो जीवनका कालखण्डमा गरेका विभिन्न क्रियाकलाप जोडिन्छन् । मारुनी नाचलाई कृष्णचरित्र नाच, खेलीनाच पनि भनेर चिनिन्छ । एक समूहमा मारुनी देखाउन कम्तीमा पनि २० कलाकार चाहिन्छन् । मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे तथा छदेखि १० सम्म गायक हुन्छन् । गायकमध्ये एक गुरु हुन्छन् । 

गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ । गीत निकाल्ने गुरुलाई ‘रौरा’ पनि भनिन्छ । ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि-पछाडि घुमेर नाच्छन् । भेषभुषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्दछ । 

मारुनीसंगै पुरसिङ्गे पनि नाच्छन् । पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुरसिङ्गे नाच्ने गर्दछन् । पुरसिङ्गे फेरबदल हुन सक्छन् । मारुनी नाचमा मादल, झ्याली, मृदुङ्गालगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ । पाल्पाको ग्रामीण भेगमा पहिले मारुनी नाच्ने समूह बाक्लै भेटिन्थ्यो । हिजोआज भने केही ठाउँमा मात्रै नाच्ने गर्दा मारुनी नाच्ने समूह कम हुन थालेको छ । जिल्लाका रामपुर, निस्दी, पूर्वखोला, माथागढी, तिनाउँका केही ठाउँमा मारुनी नाच बेलामौकामा देखाइने गरिन्छ ।

–सुशीला रेग्मी रासस


 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ५४ बजे

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ ।

एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

लमजुङ– झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी