व्यवसाय सानो वा ठूलो हुँदैन | Khabarhub Khabarhub

व्यवसाय सानो वा ठूलो हुँदैन

परिवारका सबै सदस्य आर्थिक हिसाबले मजबुत बन्नुपर्छ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

समय फेरिएको छ। राज्यका हरेक निकायमा जस्तै निजी क्षेत्र र उद्योगमासमेत समानताका सवाल जोडिएका छन्। देशको राष्ट्रपति र प्रधानन्यायाधीश महिला बनिसकेका छन्। यसले महिलाको नेतृत्व अब स्वीकार्य भएको देख्न सकिन्छ। महिला सक्षम हुनका लागि समाधान अधिकार र प्रतिनिधित्व संविधानले नै सुनिश्चित गरेको छ। नेपालमा महिलाको नेतृत्व र उद्यमशीलताका विषयमा आधारित भएर नेपालको सबै भन्दा पुरानो व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल चेम्बर कमर्शका उपाध्यक्ष उर्मिला श्रेष्ठसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

सरकारको व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कत्तिको चुनौतीपूर्ण छ ?
सुरुसुरुमा महिला नेतृत्व तहमा पुग्नु अनौठो विषय हुन्थ्यो। पहिला यो क्षेत्रमा म जोडिने बेलामा गन्नसक्ने महिला मात्र हुनुहुन्थ्यो। म भन्दा ठूलो उमेरको महिला यो क्षेत्रमा आउन नचाहने जस्तो देखियो। तर अहिले नेतृत्व तहमा महिलाले चासो दिएका छन्। हाम्रोमा महिला कर्मचारी पनि धेरै नै आएका छन्।

व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड महिलाले धानेका छन् भनिन्छ। कत्तिको सहज छ, समाजले कसरी हेरेको छ ?
अहिले महिलालाई समाजले हेर्ने दृष्टिकोण फेरिएको छ। महिला नेतृत्व लगनशील, संयमित भएर काम गर्छन् भन्ने प्रभावसमेत छोड्न सफल भएको छ। यो प्रभावले मात्र होइन आजको दिनमा महिला नेतृत्वका लागि सक्षमसमेत भएका छन्। अब नेतृत्वमा बसेर चुनौतीको सामना गर्न हरेक महिला तयार छन्।

साल्ट ड्रेडिङ नुनको बिक्री वितरणमा मात्र अल्झियो। अरु वस्तुको व्यापार गरेन भन्ने गुनासो सुनिन्छ। किन होला ?
यो २०२० सालमा नेपाल सरकार र निजी क्षेत्रका नुन व्यापारीको संयुक्त लगानीमा स्थापना भएको संस्था हो। साल्ट ट्रेडिङ कर्पोरेशन नामबाट स्थापना भएको संस्थाले नुनकै कारोबार गरेको हो। तर नेपाली उपभोक्ताहरूलाई अत्यावश्यक पर्ने वस्तुहरू पनि कारोबार गरौँ भन्ने भएरले अन्य वस्तुको पनि कारोबार हुन्छ। अहिलेसम्म आइपुग्दा चिनी, चामल दाल तेल, गेडागुडी, रासायनिक मल, बिउँ र अखबरी कागजलगायत अन्य वस्तुकोसमेत व्यापार गर्दै आएका छौँ। जनस्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने सामान जस्तो धूम्रपान मद्यपान लगायतको कारोबार गरेका छैनौँ ।

पब्लिक लिमिटेड कम्पनी त्यसमा पनि सरकारको सहभागिता भएको संस्था सञ्चालन गर्न कत्तिको सहज छ ?
चुनौतीलाई स्वीकार गर्नुपर्छ। नेपाल सरकारको होस वा पब्लिकको जसको भए पनि समान धारणाका साथ अगाडि जानुपर्छ। नेपाल सरकारको कम्पनी भनेपछि अलिकति हामीले नीतिहरू मानेर अगाडि जानुपर्छ।

नेपाल कृषि प्रधान देश भने पनि कृषकले समयमा मल पाएका छैनन्। यसमा कम्पनीले किन ध्यान नदिएको हो ?
नेपाल सरकारको २०६९ सालपछि मल वितरण सम्बन्धी काममा साल्ट ट्रेडिङलाई समावेश गरेको हो। यसमा नेपाल सरकारको ३० प्रतिशत अनुदानमा हामीले काम गर्ने हो। ७० प्रतिशत कृषि सामग्री कम्पनीलाई दिने हो। नेपालको आवश्यकता अनुदानको मलले मात्र पूर्ति हुन सक्दैन। मलका लागि बजेट नै हाम्रोमा पुग्ने छैन। अहिले नेपाल सरकारले मलको कोटा थप गरेको अवस्था छ। हामी निरन्तर सजक छौँ। नेपाल सरकारले ९२ हजार मेट्रिक टन मल फेरि ल्याउनु भनेर थप कोटा दिएको छ।

साल्ट ट्रेडिङलाई लिएर पहिला जनस्वास्थ्यसँग जोडेर प्रश्न गरियो, अहिले के छ अवस्था ?
पहिला आयोडिन धेरै भयो भन्ने कुरामा प्रश्न आएको हो। यो विषयमा नेपाल सरकारको खाद्य ऐन अनुसार नुनको स्पेसिफिकेसन राखेको हुन्छ। त्यस अनुरूप नै हामीले ल्याउनुपर्ने हो। उत्पादन स्टलमा आयोडिन ५० पीपीएम चाहिन्छ, बजारसम्म आउँदा ३० पीपीएम र घरसम्म पुग्दा र पकाइसकेपछिको खानामा १५ पीपीएम हुनुपर्छ भन्ने छ। त्यस कारण ५० पीपीएम भन्दा कम ल्याउँदा नेपाल सरकारले कारबाही चलाइहाल्छ। अर्को पाटोमा हेर्दा नेपालमा समुद्र नभएको कारण सामुद्रिक खाना छैन। यसको अर्थ नुनको विकल्प कुनै पनि छैन। नेपालमा आयोडिनको कमीबाट लाग्ने गलागाँढ, लुलोलंगडो हुने लगायतका समस्या कम भएका छन्। त्यो घट्दा न यी समस्याहरू बल्झिने हुन् कि भन्ने प्रश्न पनि आइरहेका छन्।

तपाईं नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षसमेत हुनुहुन्छ। अहिले निजी क्षेत्र मारमा परेका छन् भनिन्छ। यथार्थ के हो ?
अहिले तरलताको अभाव, कोभिड महामारी लगायतका समस्याले निजी क्षेत्र मारमा परेका हुन्। यो समस्याले खाद्यान्न, मजदुरको रोजगारी कम भएको छ। नेपाल राष्ट्र बैंकले ब्याजदरलाई खुकुलो बनाएको भए समस्या कम हुन्थ्यो भन्ने लाग्छ।

सरकारसँग कस्तो अपेक्षा गर्नुभएको छ ?
आम नागरिको हिसाबले अर्थ व्यवस्थालाई नीतिगत हिसाबले लानु राम्रो हुन्छ। नीति नियमहरू नारामा मात्र लगाएर हुँदैन। काम गरेर देखाउनुपर्ने जिम्मेवारी सरकारसँग छ।

चेम्बरमा महिलाको प्रतिनिधित्व कस्तो छ, महिलाको लागि के गरिरहेको छ ?
चेम्बरले आम नेपाली महिलालाई चाहिने कुरामा नेपाल सरकारसँग लभिङ गर्ने हो। हामीले बैंकसँग सहकार्य गरेर फाइनान्सिङ, र अडिटिङका कुरामा तालिम दिने काम सुरु गरेका छौँ।

समाजसेवाबाट पनि धेरै सम्मान पाइसक्नु भएको छ अरु महिलालाई कसरी प्रेरणा दिनु हुन्छ ?
सबै महिलालाई स्थान दिनुपर्छ। अगाडि जान प्रेरणासमेत दिन्छु। मेरो परिवारका सबै जनाले समाजसेवा गर्नु भएको थियो। त्यस कारण मैले पनि समाजसेवा गर्ने प्रेरणा पाएँ।

तपाईंको लक्ष्य के छ ?
मेरो लक्ष्य सबै महिलाको आर्थिक अवस्था राम्रो बनोस् भन्ने छ। सबै जना आर्थिक हिसाबमा मजबुत हुनुपर्छ। सबैले समान व्यवहार गरौँ। आफूले आफैलाई माया गरौँ। सबै सबल बनौं। कुनै पनि व्यवसायलाई सानो ठूलो नभनी काममा निरन्तर लागौं भन्ने नै छ।
(एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ३७ बजे

समिति नबनेसम्म अवरोध कायम हुन्छ : कांग्रेस, सरकार भन्छ- ‘अवरोध भए विकल्पमा गइन्छ’

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध

सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन

काठमाडौं– सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्

सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै स्थगित

राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।