ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी लुकाईछिपाई राखेको आरोपमा प्रहरीले तीन जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१४ जुपिटर मार्गस्थित कमलरग अपार्टमेन्टको दोस्रो तल्लामा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले गत असोज १९ गते साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अपार्टमेन्टमा खानतलासी गर्दा १५ हजार ५ सय अमेरिकी डलर, ३८ हजार ४ सय ५० बंगलादेशी टाका र ३ लाख १५ हजार नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।
बरामद अमेरिकी डलर १०० दरका १५५ थान, नेपाली रुपैयाँ १ हजार दरका ३१५ थान रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, विभिन्न व्यक्तिका नाममा रहेका ७ थान पासपोर्ट तथा सामसङ, टेक्नो, आइफोन र ओप्पो कम्पनीका मोबाइल फोनसमेत बरामद गरिएको छ ।
पक्राउ पर्नेमा बंगलादेशको पश्चिम तिलापरा, उस्मानीनगर, सिल्हेट घर भई हाल सोही अपार्टमेन्टमा बस्दै आएका ३१ वर्षीय रमन मिया रहेका छन् ।
त्यसैगरी बंगलादेश घर बताउने २७ वर्षीय तायेब हुसैन राजोम सिद्दा र ढाका, मिरपुर घर भएका २५ वर्षीय महादी हसन पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बरामद मुद्रा, पासपोर्ट तथा अन्य सामग्रीसहित तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको छ ।
उनीहरूले उक्त रकम तथा पासपोर्ट किन र कुन प्रयोजनका लागि राखेका थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया