साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन | Khabarhub Khabarhub

साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् श्री पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् ।

विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिन्थ्यो । सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि भक्तजनको धेरै लाम लाग्ने भएकाले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

पशुपतिनाथमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि दर्शन गरेको कोषले जनाएको छ ।

पशुपतिनाथलगायत राजधानीका शिवालयमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको आज दिनभर लाम लागेको थियो । रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनमध्ये कतिपय भने तस्बिर खिच्न र टिकटक बनाउनकै लागि शिवालयमा आएका हुन् कि भनेजस्तो देखिने गरेको दर्शनार्थी राजेन्द्रप्रसाद श्रेष्ठले बताए । कोषले पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिकै जसरी नै व्यवस्था गरेको थियो । भक्तजन जुन ढोकाबाट दर्शनका लागि छिरेका थिए, त्यसै ढोकाबाट निस्कने व्यवस्था गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा भने अहिले पनि भक्तजनको भीड छ ।

यस वर्ष सौरमासअनुसार साउनमा पाँच सोमबार परेको छ । सौरमासअनुसार साउने सोमबारको अन्तिम दिन आज भए पनि यसपछि पनि चान्द्रमासअनुसार साउनका सोमबार भने बाँकी नै छन् । यस वर्ष सौरमासअनुसार साउन महिनामा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसारको साउन महिनामै गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत गरी त्यसको उद्यापन गर्नु हुने तर्क गरेका छन् ।

अर्का थरी धर्मशास्त्रीले भने अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउन महिनामा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन् । यस विषयमा निर्णय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि यस विषयमा आधिकारिक निर्णय गरेको छैन । कुल, परम्पराअनुसार नै वर्तालुले साउनको सोमबारको व्रत गरेका छन् ।

साउनको सोमबार आज पशुपतिनाथमा बोलबम यात्रीको पनि भीड लागेको थियो । सुन्दरीजलस्थित बागमतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरीजल पुगेका थिए । ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।

पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत राजधानीका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका ठूला, साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

साउन महिनामा शिवालयमा शुद्ध जलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ । साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने गर्छन् । साउने सोमबार रु सात हजार पाँच सयभन्दा धेरैको मात्र विशेष पूजा गर्न सकिने गरी व्यवस्था गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथमा साँझ आरती हेर्न आउने भक्तजनको पनि भीड लाग्ने भएकाले पनि भक्तजन बेलुकीसम्म धेरै देखिएका हुन् । पशुपतिनाथमा बेलुका भक्तजन आएसम्म सौरमासअनुसार साउनको अन्तिम सोमबारको दर्शन गर्न दिइने कोषले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ०४ बजे

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको