कुनै एक जङ्गलमा एउटा सिंह थियो । केही दिनदेखि ऊ आफ्नो गुफाबाट निस्केको थिएन । उ बिरामी भएको थियो । करिब १०–१२ दिनपछि उ गुफाबाट बाहिर निस्कियो । उसलाई मानिसलाई जस्तै रुघाखोकीले सताएको रहेछ । रुघाखोकीका कारण उसले कुनै पनि वस्तुको वास्ना र स्वाद थाहा पाउन सकेको थिएन ।
एक दिन उ गुफाबाट निस्किँदा गुफाकै छेउमा एउटा खरायो देख्यो । उसले खरायोलाई आफू नजिक बोलाएर सोध्यो– ए खरायो मलाई रुघाखोकी लागेर सन्चो नभएको १०–१२ दिन भयो ! खानाको वास्ना, स्वाद केही पनि थाहा पाउँदिन, मेरो मुख पनि गनाएको जस्तो लागिरहेको छ । एकपटक सुँघि हेर् त के कसो रै’छ ?
सिंहले खरायोको नाकैमा पर्ने गरी लामो सास फाल्यो । खरायोले भन्यो– ‘सरकार हजुरले भने जस्तै हजुरको मुख त साह्रै गनाएको रै’छ ।’ खरायोले यति भन्नासाथ सिंहले खरायोलाई एक झापड हानेर भन्यो– जङ्गलको राजाको मुख गनायो भन्ने तँ !
त्यसपछि सिंहले अलि परतिर रहेको ब्वाँसोलाई सोही प्रश्न दोहोर्यायो । ब्वाँसोले खरायोले दिएको जवाफ सुनिरहेको थियो । मुख गनाएको छ भन्यो भने आफ्नो हालत पनि खरायोको जस्तै हुने ठानेर ब्वाँसोले भन्यो– ‘छैन सरकार, हजुरको मुख त वास्ना पो आइरहेको छ । कहाँ गनाउनु !’
सिंहले ब्वाँसोलाई पनि खरायोलाई झैँ झापड हान्दै भन्यो– झुट बोल्छस् । गनाएको मुखलाई वास्ना आइरहेको छ भनेर !
यो सबै गतिविधि अलि पर रहेको स्यालले नियाली रहेको थियो । उसलाई लाग्यो अब आफ्नो हालत पनि खरायो र ब्वाँसोको झैँ हुने भयो !
नभन्दै सिंहले स्यालतिर अगाडि बढेर सोही प्रश्न सोध्यो– खरायो र ब्वाँसोको हालत देखिरहेको स्यालले जुक्ति निकाल्दै भन्यो– ‘सरकार हजुरलाई जस्तै मलाई पनि रुघाखोकी लागेको एक साता भइसक्यो, त्यसैले मैले पनि कुनै किसिमको वास्ना र स्वाद थाहा पाउन छाडेको छैन । त्यसैले हजुरको मुख गनाएको छ वा वास्ना आएको छ केही ठम्याउन सकिनँ ।’
त्यसपछि सिंह स्याललाई केही नभनी आफ्नो गुफातिर लाग्यो । छट्टु स्याल आफ्नो जुक्ति, बुद्धिका कारण सिंहको झापड खानबाट बच्यो । त्यसैले जसले परिस्थितिअनुसार आफूलाई प्रस्तुत गर्न सक्छ त्यसले कहिल्यै दुःख र कष्ट झेल्नु पर्दैन ।
प्रतिक्रिया