बाल साहित्यमा उपदेश दिनु हुँदैन | Khabarhub Khabarhub

बाल साहित्यमा उपदेश दिनु हुँदैन


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

साहित्यकार मधुसुदनप्रसाद घिमिरेको जन्म बुवा हरिप्रसाद घिमिरे र आमा चन्द्र प्रवाहको कोखबाट २००८ सालमा काठमाडौंको बानेश्वर शान्तिनगरमा भएको हो। उनको पहिलो प्रकाशित रचना ‘प्रतीक्षा’ गीत नयाँ सन्देश साप्ताहिक पत्रिकामा २०३२ सालमा प्रकाशित भएको थियो। इच्छाहरू सलबलाउँछन् मात्र कथा रत्न श्री मासिक पत्रिकामा २०३४ सालमा प्रकाशित भएको थियो। कविता कथा लघु उपन्यास र बाल साहित्यमा निरन्तर लागि रहेका साहित्यकार मधुसुदनप्रसाद घिमिरेसँग भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको साहित्यिक यात्रा कस्तो रह्यो ?
म स्कुल पढ्दादेखि नै साहित्य लेखनमा सक्रिय थिएँ। गद्य र पद्य कविता धेरै पढ्थेँ। पद्यमा छन्द हालेर धेरै जनाका कविताहरू पढिन्थ्यो। अरुका कविता पढ्दा मलाई पनि यस्तै लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। मैले लेख्थेँ तर अरुलाई देखाउन आँट नभएपछि आफैं राख्थेँ। पछि स्कुलबाट पालुवा भन्ने पत्रिका निस्किँदा त्यसमा मेरो एउटा कथा छापिएको थियो। त्यो कथा हरायो।

पछि २०३० सालमा परसु प्रधानसँग मेरो भेट भयो। एउटै अड्डामा जागिर खायौँ। मैले टेबुलमा बसेर लेखिरहँदा उहाँले हेरेर ‘राम्रो छ’ भन्नुभयो। उहाँले हेरेर तपाईंलाई म साहित्यकार बनाउँछु भनेर २०३२ सालमा निरोजराज पाण्डेजीको पत्रिकामा मेरो ‘प्रतीक्षा’ गीत छपाइदिनुभयो। त्यहाँबाट साहित्यिक यात्रा सुरुभयो।

कथा र काव्य लेख्दालेख्दै बाल साहित्यकार कसरी बन्नुभयो ?
२०५० सालमा परसु प्रधानको नेतृत्वमा हामी नेपालगन्ज गयौँ। महेन्द्र पुस्तकालयको ५० औँ वार्षिक महोत्सव थियो। त्यहाँ रमेश खकुरेलले एक महिनामा एउटा बाल साहित्य लेख्नुपर्छ भन्नुभयो। त्यहाँबाट फर्केर घर आएपछि एउटा कथा लेखेँ। त्यही कथा गोरखापत्र संस्थानको बाल प्रकाशन ‘मुना’मा दिए। त्यो २०५३ सालमा छापियो। त्यसले लेखनमा ऊर्जा दियो। २०५४ सालमा किताब नै निकाले। त्यसपछि बाल साहित्य लेखन सुरु गरेँ।

बाल साहित्य लेख्दा के कुरामा ध्यान दिनुपर्छ ?
बाल साहित्य र पौढ साहित्य लेख्दा फरक छ। पौढ साहित्यमा आफ्नो मनमा लागेको कुरा सबै भन्न पाइयो। तर बाल साहित्यमा त्यो हुँदैन। मार्नेमर्ने कुरा हुँदैन। बालबालिकाले कस्तो कुरा बुझ्छन् त्यसमा पनि ध्यान दिनुपर्छ। सरल शब्दमा लेखियो भने त्यो बाल साहित्य भयो।

तपाईंका साहित्यका विषयवस्तु के के हुन् ?
मैले यही समाजमा हेरेर बुझेर त्यही कुरालाई साहित्यमा लेख्ने हो। हरेक कुराले मलाई लेख्न उत्प्रेरित गर्छ। विकृतिका कुरा स्वीकृतिका कुरा यौनका कुराहरू लेखनमा हुन्छन्। यौन बिना मान्छे बाँच्दैन, यौन सबैलाई चाहिन्छ। यो हामीलाई मात्र होइन। पशु पन्छी बसैलाई चाहिने कुरा हो। तर यसलाई अश्लील ढंगले प्रस्तुत गर्नु हुँदैन।

चाहिने कुरालाई पनि कसरी प्रस्तुत गर्ने र मान्छेले कसरी लिने त ?
साहित्य अश्लील शब्दमा लेखिएका पनि छन्। ती छाडा शब्दहरू सधैँ स्थायी हुँदैनन्। राम्रो किसिमले शिष्ट भाषामा लेखियो भने मान्छेले लुकीलुकी भए पनि पढ्छन्।

तपाईंले सौतेनी छोरो पुस्तक के सन्दर्भमा लेख्नुभयो ?
मैले नेपाल सरकारको जागिर खाएँ। म पञ्चायती व्यवस्थाको बेलामा राजा भएको बेलामा जागिर खाएको मान्छे हुँ। पञ्चायती व्यवस्थाको सुधार भएर २०४६ सालपछि राजनीतिक परिवर्तन भयो। त्यसअघि कामको मूल्यांकन हुन्थ्यो। २०४६ को परिवर्तनपछि हाकिमहरू पार्टीको मूल्यांकन गर्ने भए। तीनै हाकिम पार्टीको झन्डा बोक्ने भए। म पार्टीमा कहिले विश्वास गरिन। अहिले पनि कुनै पार्टीको सदस्य छैन। कर्मचारीतन्त्रभित्र हुने व्यवहार र विभेदको बारेमा लेखिएको पुस्तक हो। पार्टीको मान्छे नहुँदा नेपाली कर्मचारीतन्त्रमा कस्तो विभेद भोग्नुपर्छ भन्ने कुरालाई समेटेर यो पुस्तक तयार पारेको हुँ। मेरो विदेश जाने रहर छ भन्दा हाकिमले प्लेन चढेर बझाङ पठाएपछि मलाई सौतेनी छोरछोरीको व्यवहार गरे जस्तै लाग्यो। त्यसपछि आफ्नै अनुभूति र व्यङ्ग समेटेर यो कृति लेखेँ।

कुन औडाहले ‘औडाह’ लेख्नुभयो ?
यो एउटा सामाजको विकृतिमाथि लेखिएको पुस्तक हो। पैसा हुनेले गरिबमाथि अर्थात् निर्धनमाथि धन हुनेले कसरी मानसिक र शारीरिक शोषण गर्छन् भन्ने कुरालाई देखाइएको छ। यो एउटा यौन पिपासुको उपन्यास हो। जसले आफ्नो इच्छा पूरा गर्न धर्म छोरी बनाएर घरमै राखेर निरन्तर यौन दुर्व्यवहार गरिरहन्छ र पछि आफै विवाह गरेर पठाउँछ।

बाल साहित्य कसरी लेख्ने भन्ने मापदण्ड होला नि ?
नेपाल सरकारको जागिर खाए पनि मैले पढाएको पनि छु। त्यो बेलामा एक महिना पढाउँदा १० रुपैयाँ दिन्थे। त्यो पैसाले मैले कहिले घडी किन्ने कहिले आमालाई तिलहरी बनाइदिने गर्थे। माओवादीले २०५२ सालमा द्वन्द्व सुरु गरेपछि विद्यालय शिक्षामा सिधा असर देखियो। बालबालिकालाई माटोको माया, तरबार होइन कलम समात्नुपर्छ भन्ने कुरा साहित्यमार्फत सिकाउन बाल साहित्यमा लागेँ। बालबालिकालाई प्रेरित गर्ने कुरा लेख्नु नै बालसाहित्य हो जस्तो लाग्छ। सिर्जनामा मापदण्ड हुँदैन तर बाल साहित्यमा अनुशासन हुन्छ।

बाल साहित्यमा उपदेश दिनु हुन्छ ?
पहिला पहिला उपदेश दिन्थेँ। तर हामीले बाल साहित्य समाजबाट त्यो कुरा हटायौँ। अब बाल साहित्य लेख्दा चराचुरुगींका कथाहरू लेख्छु। जसमा तिनीहरूले यस्तो गरे भन्दा बच्चाले हामीले पनि यस्तो गर्नुपर्छ भन्ने संकेतमा लेख्छु। अहिलेको बच्चाले यसो गर, उसो गर भनेर उपदेश दिएको पढ्दैनन्। अहिले मोबाइल कम्प्युटर देखाएर पढाउने कुरा छ। त्यसैले सुधार हुनुपर्छ। अबको बच्चालाई गाली गरेर होइन माया गरेर पढौँपढौँ बनाउनुपर्छ।

साहित्य लेख्न थालेको अवस्था र अहिलेको अवस्थालाई कसरी हेरिरहनु भएको छ? साहित्य लेख्न थालेको बेलामा मिडियाहरू कम थिए। पत्रपत्रिकाहरू कम थिए। त्यो समयमा सिर्जना छापिने भनेको गोरखापत्रमै हो। अहिले त धेरै पत्रपत्रिका छन्। जहाँसुकै छाप्न सकिन्छ। अहिले लेखकका लागि सजिलो भएको छ।

तपाईंका समकक्षी को को हुन् ?
मलाई परशु प्रधानले नै सिर्जना गर्न सिकाउनु भएको हो। ३० को दशकका सबै मेरा साथीहरू नै हुन्। मैले लेखेका कुरालाई सहयोग गर्ने भनेको पत्रकार हो। नगेन्द्रराज शर्मा ‘अभिव्यक्ति’का सम्पादक हुनुहुन्थ्यो। उहाँले मैले दिएका कृतिहरू फिर्ता गर्नु भएन। रोचक घिमिरे रचनाको सम्पादक उहाँले पनि मेरा सिर्जना फिर्ता गर्नु भएन। उहाँहरूले नै मलाई साहित्यकार बनाउनु भयो।

तपाईंको बाल्यकालको सम्झन योग्य क्षण कुनै थियो कि ?
बानेश्वरमा मेरो बाबा नै जन्मेको हो। वरिपरि काँडाघारी, सानो हिँड्ने बाटो थियो मेरो पालामा बानेश्वरमा काँही पनि स्कुल थिएनन्। त्यो बेलामा अहिलेको जस्तो स्कुल ड्रेस थिएन। जुत्ता लगाउन पनि रहर हुन्थ्यो। त्यो बेलाको बाल्यकालको कुरा गर्दा अहिले सपनामा बसे जस्तो हुन्छ।

आफ्नो समय र अहिलेका बालबालिकालाई देख्दा के फरक छ ?
आकाश पातालको फरक छ। हामीले मकै भटमास खाएर हुर्कियौँ। चिउरा भनेको कहिले काँहि खाने हो। मेरो छोराछोरीले चाउचाउ चिउरा खाएर हुर्किए। अहिले नाति नातिनाले चकलेट चोकोजहरु खाए। धेरै फरक छ। मेरो तिन पुस्तामा आकाश जमिन फरक छ। अहिलेको बच्चाहरूलाई सुविधा धेरै छ।

साहित्य सिर्जनामा भावी योजना के छन् ?
म योजना बनाएर केही लेख्दिन। म भोलि यसो गर्छु भन्ने छैन। जति बेला मनमा जे आउँछ त्यो लेख्छु। साहित्य सिर्जनाका लागि योजना बनाउँदिन।

संस्मरण कहाँ कहाँको लेख्नु भएको छ ?
टाढामा म दार्जिलिङमा गएको थिएँ। म परसु प्रधानको साथमै गएको हुँ। सिक्किमको गान्टुकमा केही रात बस्यौँ। त्यहाँ बस्दा हामीलाई साहित्यिक संस्थाहरूले भेटघाट गराए होटेलमा खुवाए। त्यो कुरा लेखेको छु।

लेख्नको लागि घर परिवारको कस्तो सहयोग छ ?
म घरको बुढो मान्छे। त्यो घरको सबै जिम्मा मैले लिएको छु। सबै काम सकेर मात्र लेख्छु म। सहयोग पनि पाएको छु ।

अहिले सम्मको जीवनलाई फर्केर हेर्दा के गरे, के पाएँ जस्तो लाग्छ ?
संसारमा जो जति आयो सबै कुरा जान्नुपर्ने रहेछ। त्यसैले मैले के गरेँ भन्दा पनि अब मैले के गर्न बाँकी छ भन्छु। म दैनिक भागवत पढ्छु। शनिवार भागवतसँगै चण्डी पढ्छु। सोमबार मिल्यो भने रुद्री पढ्छु। हिजो को कुरा गरेर आज हुँदैन। त्यसैले फर्केर नहेरौँ। अगाडि बढ्दै जाऔं भन्छु।

अहिलेका साहित्यकारलाई केही सुझाव छन् कि ?
अहिलेका साहित्यकारहरू पुरानो भन्दा राम्रो लेखेका छन्। साहित्य जीवन्त हुनुपर्छ। अहिलेका सिर्जनामा केही अश्लील कुरा आएका छन्। पाठकले हाँसीहाँसी पचाउन सक्ने सिर्जना हुनुपर्छ भन्छु। -एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ०२ बजे

आत्मनिर्भर बन्न बाँसको मुढा बुन्ने तालिम

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा ६ लाटीझोडाकी ५२ बर्षीय बुद्धी माया

प्रहरी प्रधान कार्यालयमा टीआरसी विधेयकबारे छलफल

काठमाडौं – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप

दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउँदै इंग्याण्ड

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा दक्षिण

भारतले समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजना सञ्चालन गर्ने

काठमाडौं – भारत सरकारले तामिल नाडु र गुजरात राज्यस्थित समुद्री

म्यूजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक

काठमाडौं – नायिका गरिमा शर्मा र मोडल धुव्र जिसि फिचर्ड