डढेलोको असरबाट वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो « Khabarhub

डढेलोको असरबाट वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- वनमा पस्ने बित्तिकै सुनिने चराचुरुङ्गीको चिरबिर महोत्तरीमा सुनिन छाडेको छ । रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको नजिकका बासिन्दा बताउँछन् ।

अहिले दिनहुँ जसो वन क्षेत्रमा डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको यिनका आनीबानी बुझेका वन क्षेत्र नजिकका सर्वसाधारणको भनाइ छ । बर्दिबास नगरपालिकाको मुख्य केन्द्र बर्दिबास चोकबाट पाँच सय मिटर मात्र दूरीमा रहेका नेवारडाँडा, कामीडाँडा, पानीखोल्सी र रातमाटा सामुदायिक वनमा सहजै देखिने मयुर फागुन १५ गते यता देखिन छाडेको बर्दिबास–१ र ३ को गौरीडाँडाका बासिन्दा बताउँछन् ।

‘मयुर त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्ने बित्तिकै थरि थरिका चराको चिरबिर सुनिन्थ्यो’, बर्दिबास–१ का बासिन्दा विनोद खड्का भन्छन्, ‘अचेल केही दिनयता यी चरा देखिँदैनन् ।’ त्यसै गरी वनमा बाक्लै रहने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएका खड्का बताउँछन् । यी तीन वटै सामुदायिक वन बर्दिबास–१ को मुख्य चोक र ३ को गौरीडाँडा बस्तीमाझमा पर्छन् ।

पछिल्लो पटक तीन दिनदेखि नेवारडाँडा–कामीडाँडा वनमा डढेलो लाग्दै आएको छ । त्यसै गरी रातमाटा वन क्षेत्रका कैयौँ ठाउँमा डढेलो बढ्दै गएको छ । आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अरू ज्यान जोगाउन अन्तै गएपछि वन सुनसान भएको बर्दिबास–३ का वडाध्यक्ष विराट विष्ट बताउँछन् ।

उनी भन्छन्, ‘भर्खरै दुई दिन अघिमात्र नेवारडाँडा–कामीडाँडा वनको सिरानस्थित सुरेश बस्नेतको घरमा डढेलो लाग्यो ।’  दिन दिनैको डढेलोले वनसँगै टाँसिएका बस्तीका बासिन्दा राति निश्चिन्त भएर सुत्न नसकेका विष्टको भनाइ छ । ‘त्रासैत्रासमा छौँ, कतिखेर डढेलो कहाँ देखिने हो भन्ने मनमा कुरा खेलिरहन्छ’, विष्टले भन्छन् ।

यसैगरी जिल्लाको चुरे पहाडी शृङ्खला बर्दिबास नगर क्षेत्रमै पर्छ । पूर्वपश्चिम राजमार्ग वारिपारिका सबैजसो वनमा अहिले डढेलोको मुस्लो, डढेलोले जलेको ठुटा र खरानी देखिन्छ । डढेलोले गर्दा वनका चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ डढेर खरानी भएको देख्नुपरेको ६० वर्षीया कर्णमाया गुर्मछाने बताउँछिन् ।

पूर्वमा रातुपुलबाट पश्चिममा बाँके पुलसम्म पूर्वपश्चिम राजमार्गको  १८ किलोमिटर दूरी महोत्तरीमा पर्छ । यो दूरीभित्रको भब्सीपुलबाट बाँकेसम्मको करिब १५ किमी दूरीभित्र दायाँबायाँ वन क्षेत्र छ । अहिले दिनहुँ वन क्षेत्रमा जताततै डढेलोले वन सम्पदा सखाप पार्दै छ । यसपालि हिउँदे वर्षा नहुँदा वन क्षेत्रमा सुकेर झरेको पतिङ्गरमा आगो चाँडै फैलँदा छिनभरमै जताततै काला ठुटा र खरानी देखिन्छ ।

यता वन सम्बद्ध कर्मचारी भने आवश्यक सङ्ख्याका सुरक्षा जनशक्ति नहुँदा सघन गस्ती हुन नसकेको बताउँछन् । ‘हामीसँग भएको जनशक्ति हिँडेको हिड्यै छ, एकातिर गयो, अर्कोतिर डढेलो लाग्छ’, बाँके सबडिभिजन वन कार्यालयका एक कर्मचारीले भने, ‘यो वन कर्मचारीबाट मात्रै नियन्त्रण हुनसक्ने कुरा होइन ।’

बर्सेनि डढेलोविरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रम गरिए पनि यो समस्या भने घटेको छैन । वन क्षेत्र नजिकका पशुपालक किसानका गोठालाले नै डढेलो लगाएपछि वर्षा हुनासाथ नयाँ घाँस पलाउने विश्वासमा डढेलो लाउने गरेका वन सम्बद्ध कर्मचारीको निष्कर्ष छ ।

‘कतिपय अवस्थामा रुख–रुखको घर्षणबाट निस्कने आगोले पनि डढेलो सल्कन्छ, तर यस्तो कमै हुन्छ’, गणन्ता सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह भन्छन्, ‘हामीकहाँ भने असावधानीसाथ मिल्काइएका बिँडी चुरोटका ठुटा र घाँस पलाउने आशमा गोठालाले सल्काउने आगोले नै डढेलो लाग्ने गरेको छ ।’

वन सम्बद्ध कर्मचारी सबै ठाउँमा पुग्न नसक्ने हुँदा यसमा आम सर्वसाधारणको चासो आवश्यक रहेको साह बताउँछन्। वन क्षेत्र नजिकका बस्ती–बस्तीमा डढेलोविरुद्धको जिम्मेवारीसहितको सामुदायिक सहभागिता बढाउन सके यो समस्या घटाउन सकिने वनविज्ञ बताउँछन् ।

वन वरपरका सबै बस्तीमा स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारणलाई आवश्यक तालिम दिएर सङ्गठित सामाजिक जिम्मेवारी दिए यसमा सुधार आउन सक्ने चुरे तथा वनबारे काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवको सुझाव छ ।

जिल्लामा राष्ट्रिय वन, सामुदायिक वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनासमेत २४ हजार हेक्टरभन्दा बढी वन क्षेत्र रहेको तथ्याङ्क छ । अतिक्रमण र डढेलोको चपेटाले दिनदिनै सघन वन क्षेत्र पातलिँदै गएको वन सम्बद्ध कर्मचारी नै स्वीकार गर्छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १२ : ११ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको