विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज चैत १ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १५, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्-

कृष्ण सागरमा अमेरिकी ड्रोन र रुसी लडाकु विमान ठोक्किएपछि दुई मुलुकबीच आरोप प्रत्यारोप

कृष्ण सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रुसी लडाकु विमान र अमेरिकी जासुसी ड्रोन एक आपसमा ठक्कर खाएपछि दुई मुलुक एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रेका छन् ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला मंगलबार कृष्ण सागरको आकाशमा रुसी वायुसेनाको सुखोई एसयु २७ लडाकु विमान र अमेरिकी एमक्यू ९ चालकरहित हवाई उपकरण ड्रोन एक आपसमा ठक्कर खाएका थिए ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले रुसी लडाकु विमानले अमेरिकी ड्रोनको पखेँटामा ठक्कर दिएको जनाएको छ ।

असुरक्षित र अव्यवसायिक रुसी हवाई कौशलले दुबै विमान दुर्घटना हुने जोखिम निम्त्याएको सो क्षेत्रमा तैनाथ अमेरिकी वायुसेनाका कमाण्डर जनरल जेम्स हेकरले बताएका छन् ।

रुसले भने आफ्नो लडाकु विमानले अमेरिकी ड्रोनलाई ठक्कर नदिएको र ‘जटिल हवाई चालबाजी’ का कारण उक्त ड्रोन खसेको बताएको छ ।

अमेरिकाका लागि रुसी राजदूत अनातोली अन्तोनोभले विद्युतीय प्रसारण प्रणाली बन्द गरी उक्त ड्रोन जानाजान र उत्तेजना भड्काउने उद्देश्यले रुसी आकाशमा प्रवेश गर्न लागेको अवस्थामा घटना भएको बताएका छन् ।

उत्तेजना भड्काउने उद्देश्यबाट प्रेरित भएर अमेरिकी ड्रोनले सो क्षेत्रमा उडान भरेको भएको आफ्नो मुलुकको ठहर रहेको उनको भनाइ छ ।

घटनाबारे थप छलफल गर्न अमेरिकी विदेश मन्त्रालयले राजदूत एन्तोनोभलाई बोलाएको थियो ।

आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउनसक्छ : अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री पाउल किटिङले चीनलाई लक्षित गरी भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउनसक्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री किटिङले सोमबार अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटिको संज्ञा दिएका छन् । यस सम्झौताका कारण अष्ट्रेलिया द्वन्द्वमा फस्नसक्ने र त्यसले घातक परिणाम निम्त्याउनसक्ने उनको चेतावनी छ ।

सन् १९९१ मा लेबर पार्टीबाट प्रधानमन्त्री बनेका उनले सोचविचार नगरी अष्ट्रेलियाले अमेरिका र बेलायतको अनुशरण गरेको आरोप लगाउँदै चीनबाट कुनै किसिमको सैन्य जोखिम नभएको टिप्पणी समेत गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री किटिङले विदेशीको उक्साहटमा गरिएको सम्झौताले जोखिम निम्त्याउने भन्दै ‘चीनले सिड्नी र मेलबर्नलाई सैन्य परिचालन गरेर कब्जा गर्न खोज्दा के हुन्छ ?’ भनी प्रश्नसमेत गरेका छन् । उनको विज्ञप्तिमा अमेरिका र बेलायत अष्ट्रेलियालाई सहयोग गर्न नआउने आशय रहेको बताइएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त सम्झौतालाई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य स्तरवृद्धि भएको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यसबाट हिन्द–प्रशान्त क्षेत्रको स्वतन्त्रता र खुलापन सुनिश्चित गर्ने टिप्पणी गरेका छन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोमा गत सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज र बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगै सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले सम्झौताका कारण आणविक अप्रसारमुक्त हुने अष्ट्रेलियाको प्रतिबद्धतामा कुनै प्रभाव नपर्ने बताएका थिए ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गत सोमबार परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौतासम्बन्धी गरेका थिए । सोमबार सार्वजनिक गरिएको सम्झौताअनुसार अष्ट्रेलियाले बेलायत र अमेरिकी प्रविधिमा आधारित पाँच वटा परमाणु शक्तियुक्त पनडुब्बी खरिद गर्नेछ । अब अष्ट्रेलियाले कम्तीमा तीन वटा अमेरिकाबाट र दुई वटा पनडुब्बी बेलायतबाट खरिद गर्नेछ । अष्ट्रेलिया, अमेरिका र बेलायतबीच १८ महिनाको लामो वार्ताको परिणामस्वरुप उक्त सम्झौता भएको हो ।

चीनले भने उक्त सम्झौता गम्भीर त्रुटी एवम् जोखिमको बाटोमा हिँड्ने प्रयास भएको भन्दै त्यसको चर्को विरोध गरेको छ । आफ्नो भूराजनीतिक स्वार्थका लागि अन्तर्राष्ट्रिय समुदायको चासोलाई पूर्णतया बेवास्ता गरी अष्ट्रेलिया, अमेरिका र बेलायत अधिक जोखिमको बाटोमा हिँडेका बेइजिङले बताएको छ । सम्झौताले हतियारको होडबाजी बढाएको तथा त्यो परमाणु अप्रसार सन्धि विपरीत भएको चीनको कथन छ ।

बेलायतपछि आणविक शक्तिले सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने दोस्रो देश अब अष्ट्रेलिया बन्नेछ । पनडुब्बी प्राप्त भएपछि शत्रुहरूलाई लामो दूरीमा पनि अष्ट्रेलियाले प्रहार गर्न सक्नेछ । अष्ट्रेलियाली जलसेनाका नाविक अमेरिका र बेलायतका पनडुब्बी आधारमा तिनको सञ्चालन एवम् प्रयोगबारे प्रशिक्षण लिन जानेछन् । सन् २०२७ मा अष्ट्रेलियाको पर्थमा केही अमेरिकी एवम् बेलायती पनडुब्बी तैनाथ गरिनेछ ।

पनडुब्बीको आफ्नै ‘फ्लिट’ निर्माण गर्न अष्ट्रेलियालाई तीस वर्ष लाग्नेछ । सम्झौतासँग चीनसँगको अष्ट्रेलियाको सम्बन्ध सुमधुर नहुने तथा दुवै देश द्वन्द्वको नयाँ चरणमा प्रवश गर्ने विश्लेषकहरूले बताएका छन् ।

जापानका युट्युबर सांसद सदनबाट निष्काशित

जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई संसदबाट निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिनपनि सदनमा उपस्थिति नभएका योशिकाजु हिगाशितानीलाई मङ्गबार संसदबाटै निष्काशन गरिएको हो ।

गत जुलाईमा निर्वाचित भएका उनी अनिवार्य उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एक पटक पनि उपस्थित भएका थिएनन् । यस कारण उनलाई जापानको माथिल्लो सदनले मङ्गलबार निष्काशन गरेको हो । सदनको हिजोको उक्त निर्णय आजदेखि लागू भएको छ ।

गासी उपनामले चिनिने योशिकाजु जापानको संसदबाट निष्काशित हुने ७० वर्षयता पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमा याचना गर्न निर्देशन दिएको थियो तर उनले त्यसको वेवास्ता गरेका थिए । एकउन्न वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन् । उनी निष्काशित भएपनि अर्का एक सदस्यले उनको स्थानमा काम गर्नेछन् ।

दुबईमा बसोबास गरिरहेको पूर्व व्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् । मानहानीको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उनको भनाइ छ । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचिति थियो ।

होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने

ल्याटिन अमेरिकी मुलुक होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ताइवानसँगको लामो समयदेखिको होन्डुरसको आधिकारिक सम्बन्ध विच्छेद हुनेछ ।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएका छन् । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा गत साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा गरेका थिए ।

होन्डुरस सरकारले ताइपेईसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको विषयमा तत्काल कुनै टिप्पणी भने गरेको छैन । यद्यपि बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एक चीन सिद्धान्तका आधारमा चीन होन्डुरस र विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधै इच्छुक रहेको बताएका छन् ।

ताइवानलाई आधिकारिक रूपमा मान्यता दिने १४ देशमध्ये होन्डुरस पनि एक हो । स्वशासित टापु ताइवानलाई चीनले आवश्यक भएमा बल प्रयोग गरेर आफ्नो मुख्यभूमिमा विलय गराउनसक्ने बताउँदै आएको छ । चीनको एक राज्य दुई नीतिअन्तर्गत ताइवानमा शासन सञ्चालन भइरहेको छ ।

यसैबीच, बेइजिङले बुधबार होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयको स्वागत गरेको छ । प्रवक्ता बाङले “हामी होन्डुरसको सान्दर्भिक वक्तव्यको स्वागत गर्दछौँ,” नियमित पत्रकार सम्मेलनमा भनेका छन् ।

इमरान खानका समर्थक र सुरक्षाकर्मीबीच झडप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच खाननिवास अगाडि झडप भएको छ । पूर्वप्रधानमन्त्री खानले प्रहरीसमक्ष गिरफ्तारी दिन अस्वीकार गरेपछि झडप भएको हो । घटनापछि पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन समेत भएका छन् ।

पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई) पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घरनजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुङ्गामुढाले प्रतिकार गरेका थिए । पिटिआईका एकजना कार्यकर्ताका अनुसार पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोलीसमेत हान्न थालेका बताएका छन् ।

गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आम निर्वाचनको माग गर्दै आएका छन् । सार्वजनिक रूपमा सरकारका कटु आलोचना गर्दै आएका उनीमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । सोही विषयमा जानकारी दिन अदालतले उनलाई बोलाएको छ । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए ।

इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट गरेका छन् । पञ्जाबका प्रहरी प्रमुख उस्मान अनबरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने बाध्यता रहेको बताए ।

पिटिआईका समर्थकहरूको एक समूहले दक्षिणी बन्दरगाह शहर कराँची र उत्तरपश्चिमको पेशावरमा पनि जुलुस निकालेका छन् । उनीहरूले सडक पनि अवरुद्ध पारेका छन् । कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो । प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ०० बजे

फिल्म बनाउन लागेका हुन् ‘बल्छी’ले ?

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेले एक पोस्टर सार्वजनिक

इन्डोनेसियामा बाढी पहिरोबाट ११ जनाको मृत्यु, १७ जना बेपत्ता

एजेन्सी– इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको

‘अफलाइन राइडिङ’ गर्दा युवतीले गुमाइन् ज्यान

काठमाडौं- सरकारले अवैधानिक घोषित गरेको ‘अफलाइन राइडिङ’का क्रममा एकजना युवतीले

वन्यजन्तुका लागि जंगलमै पोखरी निर्माण

घोडाघोडी– कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खान पोखरी निर्माण गरिएको

जसपाका मन्त्रीहरूको राजीनामा स्वीकृत

काठमाडौं– जसपाका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति