भोजपुरका विपन्न परिवारलाई जस्ताको छानो « Khabarhub

भोजपुरका विपन्न परिवारलाई जस्ताको छानो


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न १०६ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो । 

गाउँपालिकाले गत र यो आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ । गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागू गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । 

प्रतिपरिवार परिवारलाई ७५ हजार बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ । कतिपय परिवारको घरसमेत निर्माण गरिदिएको उनले जानकारी दिए ।

‘यहाँका विपन्न परिवारको फुसको छानो हटाएका छौँ’, प्रशासकीय अधिकृत निरौलाले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिने लक्ष्यले उनीहरुलाई जस्ताको छानो दिएका हौँ । दुई आर्थिक वर्षमा यो कार्यक्रममा हामीले ७० लाख खर्च गरेका छौँ । छानो फेरिदिएपछि स्थानीयलाई सहजता भएको अवस्था छ ।’

गाउँपालिकाले वडा नम्बर १ र २ का आठ–आठ घर, वडा नम्बर ३ मा पाँच घर, वडा नम्बर ४ मा १२  घर, वडा नम्बर ५ मा आठ घर, वडा नम्बर ६ मा नौ घर, वडा नम्बर ७ मा छ घरलाई जस्ताको छानो वितरण गरेको हो । त्यस्तै वडा नं ८ मा पाँच घर र वडा नं ९ मा आठ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो ।

वर्षौंदेखि फुसको चुहिने छानोमा बस्दै आएका स्थानीय जस्ताको छानो पाएपछि खुसी भएका छन् । बर्षातको समयमा चुहिने छानोमा समस्या हुने भए पनि गाउँपालिकाले जस्ताको छानो दिएपछि सहज भएको हतुवागढी–१ की स्थानीय चिनिमाया खड्काले बताइन् ।

आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसक्ने परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाएको हो । गाउँपालिकाले विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत नौवटै वडाका नागरिकलाई जस्ताको छानो दिएको छ । 

केन्द्र सरकारबाट फुसको छानो हटाउने कार्यक्रम निरन्तर नआएपछि गाउँपालिकाले आफैँ बजेट विनियोजन गरेर विपन्न परिवारको फुसको छानो हटाएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

यो आर्थिक वर्ष र आगामी वर्षको लागि समेत केन्द्र सरकारबाट यो शीर्षकमा बजेट नआएको अध्यक्ष राईको भनाइ छ । यो वर्ष वित्तीय समानीकरणमा आउने बजेट घटेको कारण फुसको छानो हटाउने कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ । आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष राईले बताए ।

केन्द्र सरकारबाट आउने फुसको छानो हटाउने शीर्षकको बजेट यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा समेत शून्य रहेको अध्यक्ष राईले बताए । केन्द्रको बजेटले यो गाउँपालिकालाई प्राथमिकतामा नराखेपछि आफैँले कार्यक्रम ल्याएर जनताको फुसको छानो हटाएको उनको भनाइ छ ।

बर्सातको समयमा कष्टर जीवन बिताउँदै आएका स्थानीयलाई जस्ताको छानो फेरिदिएपछि सहजता थपिएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । वडाका अतिविपन्न, एकल महिला, दलित आर्थिक रुपमा कमजोर रहेको परिवारलाई प्राथमिकतामा राखेर छानो वितरण गरिएको उनको भनाइ छ ।

स्थानीय तह सञ्चालनमा आएपश्चात् विभिन्न आर्थिक वर्षमा सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय ८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत दश र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत एक सय छ गरी हालसम्म चार सय पाँच परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ११ : १६ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको