दाँत समग्र स्वास्थ्यका लागि अभिन्न अंग हो। स्वास्थ्यसँग दाँतको गहिरो सम्बन्ध छ। दाँत बलियो भयो भने हाम्रो पाचन प्रक्रियालाई पनि धेरै फाइदा पुग्ने गर्दछ। हामीले खाएका खानेकुरा दाँतले चपाउनु पर्ने भएकाले त्यसको केही अंश दाँतमै रहन्छ। मानव शरीरमा अन्य भाग जस्तै मुखमा पनि अनगिन्ती ब्याक्टेरिया हुनसक्छन। जुन प्राय हानिकारक हुँदैनन्। तर यसले हाम्रो सामान्य स्वास्थ्यलाई असर गर्नसक्छ। दाँतमा ओरल इन्सफेक्सन अर्थात् मुख भित्र विभिन्न हुने अस्वास्थ्य परिस्थिति जस्तै दन्त हर्षाले मधुमेह, मुटुजन्य रोगसहित गर्भवती अवस्थामा प्रिम्याचुअर डेलिभरी हुनसक्छ। साथै दन्त हर्षा जस्ता समस्याका कारण वयस्कमा दाँत झर्ने समस्या अत्यधिक देखिएको छ। यस्तै समस्याले गर्दा कृत्रिम दाँत राख्नुपर्ने अवस्था बढ्दै गएको छ। यिनै विषयमा आधारित रहेर खबरहबका लागि दन्त विशेषज्ञ डा.सुनिता कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंशः
दाँत चोइटिने र झर्ने समस्या किन र के करणले हुन्छ ?
हाम्रो दाँतहरूमा तीन वटा लेयर हुने गर्दछ। बाहिरी भागलाई इनामेल भनिन्छ। मध्ये भागलाई डेन्टिन र भित्री भागलाई पल्प अथवा नसा भनिन्छ।
हाम्रो दाँतको बनावट मिलेर बनेको हुँदैन। मोलार दाँतमा डिप फिसरका कारण इन्टरडेन्टल ग्यापमा हामीले खाएको खाना अड्किन सक्छ। त्यो खाना समयमा नै सफा गरिएन र त्यही बस्यो भने मुखमा भएको ब्याक्टेरियाले त्यो खानाको सहाराले एसिड निकाल्छ। जसले गर्दा दाँतको सतह कमजोर भएर टुक्रिने समस्या आउँछ। अरु कारण पनि हुन्छन्।
जस्तो: इनामेल हाइपोप्लासिय साथै ट्रमा, धेरै दाँत किट्ने बानी भए, कडा खानेकुरा, खेलकुदमा लागेको चोट आदिका कारण पनि दाँत चोइटिने समस्या देखा पर्दछ।
कृत्रिम दाँत नै राख्नुपर्ने अवस्था कसरी आउँछ ?
कतिपय मान्छेको सोचाइ हुन्छ, एउटा दाँत नभएर केही असर गर्दैन भन्छन् । तर सामान्य रूपमा दाँतमा किरा लाग्यो दुख्न थाल्यो भने निकालेर फाल्नु हुँदैन त्यसको उपचार गर्नुपर्छ । निकालेर फालेमा हाम्रो पङ्क्ति मिलेर बाँकी दाँतहरू आफ्नो स्थानबाट खाली स्थानतर्फ सर्ने गर्दछ र विपरीतमा रहेका दाँतहरू बढ्न थाल्छ। यसको प्रमुख कारण भनेको जानी नजानी आफ्नो दाँतप्रति बेवास्ता गरेको नै देखिन्छ।
दोस्रो कारण भनेको ट्रमाका कारण पनि दाँत झर्न सक्दछ र कृत्रिम दाँत राख्नुपर्ने अवस्था आउनसक्छ। साथै आरसीटी गरेको दाँत भए कुनै डिसअर्डर भएको खण्डमा वा अन्य कुनै कारणले प्राकृतिक दाँतको अभावमा कृत्रिम दाँत भरपर्दो विकल्प बन्नसक्छ।
कृत्रिम दाँतलाई कसरी ध्यान वा सुरक्षित राख्न दिने ?
यसको लागि खानेकुरा खाइसकेपछि नियमित रूपले कुला गर्ने बानी बसाल्नुपर्छ। यसको लागि मनतातो पानीमा नुन राखेर पनि कुला गर्न सकिन्छ।
दाँतको क्यापमा अड्केर बसेका फोहोर सामान्य ब्रसले सफा गर्दा नजान पनि सक्छ। त्यसलाई डेनटल फल्सको साहयताले निकाल्न सकिन्छ। जस्तै भए पनि यो मेरो कृत्रिम दाँत हो। प्राकृतिक जस्तो बलियो हुँदैन भन्ने सोच हुनु आवश्यक हुन्छ। कडा खाने कुरा नखाने, मदिराजन्य तथा सूर्तीजन्य पदार्थको सेवन नगर्नु दन्त्य स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ।
कृत्रिम दाँत राख्नको लागि कति समय लाग्छ ?
कति वटा दाँत राख्ने भन्ने कुरामा भरपर्छ। पुरै नै दाँत राख्नु परेमा १५ दिनदेखि एक महिना समयसम्म लाग्न सक्छ। एक वा दुईवटा राख्नु परेमा बढीमा दुई हप्ता लाग्ने गर्दछ। सोही अवस्थामा ट्रायल गर्नुपरेमा भने १० दिनसम्म लाग्नसक्छ।
इम्प्लान्टको लागि भने बढीमा ६ महिना लाग्न सक्छ। तर, कुनै बेला परिस्थिति अनुरूप ६ महिना बढी पनि लाग्नसक्छ। म्याक्जिलोफेसियलअन्तर्गत भने विस्थापित दाँतको स्थानअनुरूप समय लाग्ने गर्दछ। किनकी जतिजति मासु र बेसमा बदलाव आउँछ, त्यहीअनुरूप हामीले त्यसलाई मिलाउँदै लैजानुपर्ने हुन्छ।
डेनटल क्राउन, ब्रिज, ओन्लेज, इनलेज र भेनिर्स मिलाउँदा भने एक हप्ता लाग्ने गर्दछ। यदि फुल-माउथ रिह्याबिलिटेसन गरेको छ भने धरै फलोअप लाग्छ।
एकदेखि डेढ वर्ष पनि लाग्नसक्छ। यसको मतलब यो होइन कि दिनदिनै आउनुपर्छ। फलोअपका लागि डेनटल सर्जेनले उपयुक्त समय मिलाएर अपोइन्टमेन्ट फिक्स गर्ने गर्नु हुन्छ।
कृत्रिम दाँत राख्नुका फाइदा के के छन् ?
यदि कसैको प्राकृतिक दाँत कुनै कारणवश वा रोगका कारण झर्यो भने कृत्रिम दाँत नै आवश्यकता बन्दछ। किनभने यसले बोली प्रष्ट गर्न पनि सहयोग गर्दछ। प्राकृतिक लयमा जिब्रोलाई काम गर्न कृत्रिम दाँतले मद्दत गर्दछ। बुद्धि बंगराबाहेक अन्य दाँत नभएको खण्डमा खाली ठाउँमा कृत्रिम दाँत राख्नु उपयुक्त हुन्छ। किनभने उमेरअनुसार दाँत आफ्नो स्थानबाट सर्दै जाने गर्छन्।
कुनै दाँत नभएको खण्डमा दाँत अत्यधिक रूपले आफ्नो स्थानबाट सर्न सक्छन्। तर, यस्तो हुनबाट रोक्न खाली ठाउँमा कृत्रिम दाँत राखेमा यसले दाँतलाई टम्म रूपमा यथावत् राख्न पनि सहयोग गर्दछ। कृत्रिम दाँतले सहज रूपमा चपाउन सहयोग गर्ने हुँदा पाचन प्रणालीलाई मद्दत पुग्ने गर्छ। यसका साथै आफ्नो दाँतलाई पङ्क्तिमा राख्दा मिलाएर सुपराइरप्ट हुनबाट जोगाउन सकिन्छ।
समग्रमा भन्नु पर्दा प्रोस्टोडोन्टिस्टको उद्देश्य भनेको नै प्राकृतिक दाँतको पुनः निर्माणमा टेवा पुर्याउने हो। समग्र रूपमा प्राकृतिक दाँतको अत्यधिक क्षति भएको अवस्थामा भने कृत्रिम दाँतलाई विकल्पको रूपमा लिन सकिन्छ।
समग्र दाँतको हेरचाहका लागि के के कुरामा ध्यान दिनुपर्छ ?
दाँत कहिले पनि खोलेर फाल्नु हुँदैन। सुरुसुरुमा दाँत खोल्दा असर नदेखिए पनि, एउटा दाँतलाई निकाल्नु भनेको पुरा मुखको पङ्तिलाई नै बिगार्नु हो। त्यसैले दाँतको हेरचाह गर्नु आवश्यक छ।
यसको लागि दाँतमा कुनै समस्या देखा पर्यो भने समयमा नै जाँच गर्ने, नरम ब्रसको प्रयोग गर्ने, दाँत धेरै घोटेर ब्रस नगर्ने र सधैँ सफा गर्ने, खानेकुरा खाइसकेपछि तुरुन्तै कुला गर्ने, बच्चा जन्मेदेखि नै दाँत तथा मुखको सरसफाइ गर्ने दाँत नआएका बालबालिकामा कपास राखेर सफा गरिदिने, बच्चा दुई वर्षको भएपछि मञ्जन प्रयोग गर्दा मध्यम खालको केराउको दाना राखेर सफा गर्ने। जिब्रो पनि सफा गर्ने गर्नुपर्छ।
अन्य समय मनतातो पानीमा नुन राखेर सफा गर्नुपर्छ। पिरो खाने कुराबाट टाढा रहने, धूम्रपान मद्यपानदेखि टाढा रहने, सफा रहने र प्रत्येक ६ महिनामा अस्पताल गएर दाँतको जाँच गराउँदा दाँतको समस्याबाट बच्न सकिन्छ।
प्रतिक्रिया