कागबेनी बाढी अपडेट : २९ घर पूर्णरूपमा ध्वस्त, यातायात ठप्प « Khabarhub

कागबेनी बाढी अपडेट : २९ घर पूर्णरूपमा ध्वस्त, यातायात ठप्प


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बागलुङ–  आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए ।

माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए । केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् ।

बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् । कागखोलामा करिब दुई घन्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले बताए । 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताए । 

यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पु¥याएको उनको भनाइ छ । माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौँ मानिस बाढीमा पुरिन सक्ने उनले बताए ।

‘दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौँ, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो,’ उनले भने, ‘एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रहेछ ।’

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । तेह्र आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई जारी राखेको उनको भनाइ छ ।

उनले सोमबार रातिसम्मको विवरणअनुसार चारपाङ्ग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको बताए । बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए । मर्धशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उनको भनाइ छ । उनका अनुसार करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आँकलन गरिएको छ ।

कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ । उनले बाढीपीडितलाई अहिले आफन्तकहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियमानुसार राहत सहायता दिने बताए । तत्कालका लागि गाँसबास, कपासको व्यवस्था गाउँपालिकाले गर्ने उनको भनाइ छ ।

बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिए । खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अभाव भएको उनको भनाइ छ । बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ११ बजे

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो १ बजेदेखि, तयारीबिना डाकिएको भन्दै प्रतिनिधि आक्रोशित

काठमाडौँ– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत