महोत्तरी– चाडपर्व सुरु भएसँगै प्राचीन मिथिला क्षेत्रका माटोका भाँडा बनाउने कुम्हाल र मूर्तिकारको व्यस्तता पनि बढेको छ । दुई दिनपछिको विश्वकर्मा पूजा र त्यसपछि लगत्तैको चौरचण्ठ (चौरचन) पर्वमा आफूले बनाउनका सामग्री बिक्री हुने भएपछि कुम्हाल र मूर्तिकार सीपमुलक काममा व्यस्त भएका हुन् ।
प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गर्ने हिन्दू–मैथिल परम्परा छ । त्यसैले अहिले माटो मुछेर बनाइएका विश्वकर्माका मूर्तिमा मूर्तिकार अन्तिम सीप तिखार्दैछन् । ‘मूर्ति बनिसके, अब कतै रङ मिले-नमिलेको हेर्दैछु’, भङ्गाहा–४ रामनगरका मूर्तिकार अनुप महरा भने, ‘अब आज र भोलि त हो नि, अन्तिम रङ भर्ने, पर्सि त मूर्ति ग्राहकले लगिहाल्छन् ।’
मिथिलामा स–साना लघुउद्यम, कलकारखाना र ज्यावल बेचबिखन गर्ने पसलमा विश्वकर्माको प्रतिमा प्रतिस्थापन गरी उल्लासका साथ यो पर्व मनाउने परम्परा छ ।
पर्वका लागि विश्वकर्माका मूर्तिको माग भएपछि मूर्तिकारको अहिले व्यस्तता बढेको हो । मिथिलामा विश्वकर्मा पूजनोत्सवजस्तै दुर्गा पूजा (बडादशैँ), दीपावली, वसन्तपञ्चमी र श्रीकृष्ण जन्माष्टमी पर्व मूर्तिकारका लागि सीप बिक्ने मुख्य पर्व हुन् ।
मूर्तिकारजस्तै माटो मुछेरै विभिन्न प्रकारका भाँडा बनाउने कुम्हालको पनि अहिले व्यस्तता बढेको छ । अहिले मुखमा रहेको चौरचन पर्वमा माटाका तौला, छ्याँची र दियौरीजस्ता सामानको माग हुने भएपछि कुम्हाल चक्रमा यी भाँडा ढाल्न, सुकाउन र बजार पुर्याउन व्यस्त भएका हुन् ।
भदौ शुक्ल चौथी तिथिका दिन चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा माटोका नयाँ तौलामा पूजा सामग्री राखिने, नयाँ छ्याँचीमा दही जमाउने र त्यही दही अघ्र्य दिने र नयाँ दियौरीमा कपास कातेर बनाइएका बत्ती बाल्ने चलनले यो पर्वमा माटोका भाँडाको माग हुने गरेको हो ।
मिथिलामा चौरचनजस्तै जितिया, दशहारा (बडादशैँ), दीपावली, छठ र जुडशीतलजस्ता पर्वमा माटाका भाँडाको प्रयोग गरिने र यी नयाँ हुनपर्ने मान्यताले यी अवसरमा कुम्हालको सीप बिक्दै आएको छ । यी चाडपर्वका अवसरमा हुने आर्जनले नै वर्षभरिको घरको नगद खर्च सञ्चय गर्नुपर्ने हुँदा यी चाडपर्व आफ्नो आर्जनका मुख्य बेला हुने गरेका कुम्हाल बताउँछन् ।
प्रतिक्रिया