पर्यटकलाई लोभ्याउँदै ‘तोक्पेगोला’ « Khabarhub

पर्यटकलाई लोभ्याउँदै ‘तोक्पेगोला’


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ ।

यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ ।

समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ ।

गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो ।

अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भीर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भीरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट दूध रङको छङ्छङ झर्ने पानीको दृश्य र आवाजले जोकोहीलाई आनन्दित तुल्याउँछ । 

वरिपरिका चउरमा फुलेका रङ्गीचङ्गी फूलले सुनमा सुगन्ध थपिए झैँ बस्तीको सुन्दरता अझ बढाइदिएको छ । महिनैपिच्छे रङ फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोक्पेगोलाको बस्तीको विशेषता हो । 

कहिले पहेँलो फूलले पहेँलपुर बन्छ । कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडाकाँडा र बस्ती बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तै मौसम उघ्रिदिन्छ

गाउँमा दुःख बिराम नहोस्, अशान्ति नसहोस्, सधैँ सुख शान्ति होस् भनेर प्रत्येक वर्ष लामा बोलाएर पूजापाठ गर्ने गरेको मिक्वाखोला –५ पापुङका वडाध्यक्ष ग्याञ्जे शेर्पाले बताए ।

भोटे भाषामा ‘लू’ भनिने रहेछ । प्रत्येक घरले पालोपालो गरेर प्रत्येक वर्ष ‘लू’ खेदाउने गरेको उनले बताए । शेर्पाका अनुसार तीन दिनसम्म लामाले मन्त्र जप गरेर अन्तिम दिनरात परेपछि गाउँका सबै भएर थाल बजाउँदै  लू अर्थात् भूत खेदाउने गर्दछन् । 

बस्तीमा आउँने बाटो सबैमा मन्त्र जपेको विभिन्न मूर्तिहरुले बाटो बन्द गर्दछन् । लू देखाउने समयमा बस्तीमा अन्य मान्छे आवतजावत गर्नु हुँदैन भन्ने जनविश्वास रहिआएको स्थानीयको भनाइ छ । 

लू खेदाउने समयमा बस्तीमा मान्छे आवतजावत गरियो भने बिरामी हुने । मृत्युसमेत हुनसक्ने स्थानीयको जनविश्वास रहेको तोक्पेगोलाका स्थानीय पासाङ भुटी शेर्पाले बताए ।

यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याग्रिँदो जाडो । जुन समयमा पुगे पनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । तोक्पेगोला क्षेत्रमा दर्जनौँ तालतलैया रहेका छन् । सोदो पोखरी, भूत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि ।

डाँडाकाँडा, पाखा, पखेरा, छाँगा, वन जङ्गल, जडीबुटीले यो क्षेत्र सजिएको छ । बस्तीदेखि तीन सय मिटर दूरीमा छ, सोदोपोखरी । नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने । स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेसा पशुपालन हो । 

गाई, याक तथा चौँरी पालेर जीवनयापन चल्छ । बिहान छाड्दा र गोधुली साँझमा फर्कंदा याक तथा चौँरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङकुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ । चीनको तिब्बतसँग सीमा जोडिएको छ यो ठाउँ । 

तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामलबाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्षदेखि नाकाबन्द भएको छ । लामो समयसम्म नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको तोक्पेगोलाका स्थानीय तेञ्जिङ शेर्पाले बताए ।

यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत् ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् । प्रायः सबैको पापुङमा घर छ । 

कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात् बेँसी झर्छन् । तोक्पेगोला क्षेत्रमा जडीबुटी पनि आम्दानीको स्रोत हो । तोक्पेगोला पुगेर फर्कने भन्छन्, ‘भर्जिन पर्यटकीय क्षेत्र ।’

कसरी पुगिन्छ ?

सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्को दिन हिँडेर तोक्पेगोला पुगिन्छ । कच्ची सडक भएकाले गाडीमा घल्च्याकघुल्चुक सहनुपर्छ । सदरमुकामदेखि हिँडेर हान्दु्रङ–खोक्लिङ–लिवाङ–साँवा हुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ । 

सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गए पनि तोक्पेगोला पुग्न दुई दिन लाग्छ । दर्जन बढी झोलुङ्गे र काठे पुल तर्नुपर्छ । पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन । ठाउँठाउँमा भेटिएका गाईगोठ नै होटल हो । पर्यटकको चहलपहल हुन थालेसँगै तोक्पेगोलामा भने होटल तथा घरबास (होमस्टे) खुल्नेक्रम सुरु भएको छ । 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ४६ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन