दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, नयाँ सरकारमा एमाले पनि सहभागी,सर्वोच्च अदालतले दसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने, न्यायालयलाई नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न प्रधानन्यायाधीशको निर्देशन, दसैँमा यातायातको सहज प्रबन्ध गर्न सुशासन समितिका सभापतिको निर्देशन, गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियोलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, नयाँ सरकारमा एमाले पनि सहभागी

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेका हुन् ।

सर्वोच्च अदालतले दसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने

सर्वोच्च अदालतले दसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।

कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारियो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एकसाथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको राम्रो काम देखेर गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र भएको भन्दै कोशीमा उक्त षडयन्त्र निस्तेज पारिएको बताएका हुन् ।

युवापुस्तालाई नैतिक शिक्षा पढाउन आवश्यक : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताएकी छिन् । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज घोराहीमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा भेटघाट गराउने माध्यम दिवा सेवा केन्द्र बनेको बताएकी हुन् ।

न्यायालयलाई नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न प्रधानन्यायाधीशको निर्देशन

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताएका छन् । उच्च अदालत पाटनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्नेमा जोड दिए ।

“भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्छ” प्रधानन्यायाधीश श्रेष्ठले भने, “नयाँ भवनको उपयोगसँगै अदालतको काम कारबाही उपभोक्ताको लागि सहज हुने र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।”

दसैँमा यातायातको सहज प्रबन्ध गर्न सुशासन समितिका सभापतिको निर्देशन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

सभापति खतिवडाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रहरी महानिरीक्षक, यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुखलगायतलाई यातायातको सहज एवं सुलभ प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो

गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए । कालिका भगवती मन्दिरको दसैँ घरमा नौ मानाको जमरा राखिएको छ । त्यस्तै गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको मूलपुरोहित भट्टराईले जानकारी दिए ।

सहमतिपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित

नेपाल सरकार र आन्दोलनरत पालिकाका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित भएको छ । विभिन्न माग राखेर विगत १४ दिनदेखि काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच गए राति सहमति भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, प्रदेश र स्थानीय सेवाको कर्मचारीको सेवा सर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने, स्थानीयका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समावेश गर्नुपर्ने मागमा प्रदेश कानुन निर्माण गर्दा मन्त्रालयले पहल गर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको पद रहने व्यवस्था गर्नुपर्ने र यस्तो पदमा ऐन प्रारम्भ भएको मितिले पाँच वर्षसम्म सङ्घीय निजामती सेवाका कर्मचारी खटाउने व्यवस्था समावेश गर्न उपयुक्त हुने गरी सहमति जुटेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ५९ बजे

कूटनीतिक अधिकारीहरूसँग कन्सुल विभागको छलफल

काठमाडौं– कन्सुलर सेवा विभागले नेपालस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ

के हो प्रसव फिस्टुला ?

लामो र कठिन सुत्केरी व्यथापछि महिलाको योनीमार्गबाट लगातार पिसाब, दिसा

कोशीलगायत पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

जोमसोम–कागबेनी सडक कालोपत्र सुरु

म्याग्दी– मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र