‘मेरो बच्चाको अझै नाम राखिएको छैन। उनी चार दिनको भइसकेकी छिन्,’ काइ फाइया अबु साफरले भनिन्। रफाहमा राष्ट्र संघले राखेको पराले म्याटमा छोरीलाई काखमा लिएर उनी बसीरहेकी छिन्। उनले छोरीलाई काखमा च्यापेकी छिन्। उनको मुहारमा एक किसिमको तनाव देखिएको छ। पहिलो पटक आमा बन्नुको पीडा पक्कै पनि कठिन हो। तर उनले अकल्पनीय दुःख र पीडाको सामना गरिरहेकी छिन्।
उत्तरी गाँजाकी २४ वर्षीया स्थायी बासिन्दा उनी इजरायली सेनाले हमला गरेसँगै सुरक्षाका लागि दक्षिणमा जान निर्देशन दिएपछि उनी वासस्थान छाडेर हिँडेकी हुन्। आफ्नो वासस्थान छाडेर त्यस किसिमको कठिन यात्राको सुरुवात गर्दा काइ फाइया गर्भवती नै थिइन्।
‘म बारम्बार एउटा स्थान छाडेर अर्को स्थानमा जानु परेको थियो। यसले मलाई अत्यन्त निराश तुल्यायो। म पुरै निराश भएको थिएँ। अन्ततः हामी न्युरेसिट क्याम्प पुग्यौ। त्यहाँ मेरै अगाडि बम पड्किरहेको थियो। मेरै अगाडि बम पड्किएर मानिसको ज्यान गएको दृश्य मैले देखेँ’, उनले भनिन्।
७ अक्टोबरका दिन हमासले आक्रमण गरेपछि इजरायलले लगातार हवाई आक्रमण गरेको छ। इजरायली सेनाले उत्तरी गाँजामा आक्रमणको केन्द्र बनाएपछि त्यहाँ भएका सबै स्थानीय बासिन्दालाई दक्षिण गाँजामा जानका लागि निर्देशन दिइएको छ। यसै सिलसिलामा काइ फाइया परिवारसहित हजारौँ जना उत्तरी गाँजा छाडेर दक्षिण गाँजा पुगेका हुन्।
यो यात्रामा उनी गर्भमा रहेको बच्चालाई समस्या हुने हो कि भन्ने चिन्ताले नै ग्रसित थिइन्। उनी अहिले पनि त्यो यात्रा सम्झँदै पाएको दुःखको सम्झना गर्छिन्।
लामो कष्टप्रद यात्रासँगै त्यो परिवार राफा सहरको कुवेती अस्पतालमा पुगेको थियो। त्यसको मेटरेनरी वार्ड बन्द भएपछि उनी नजिकैको इमिरिटी अस्पतालमा पुगेकी हुन्।
त्यस अस्पतालमा बच्चालाई जन्म दिन कम्ती कठिन थिएन। त्यहाँ धेरै नै भीड थियो। उत्तरी गाँजा र दक्षिणी गाँजाकै गर्भवती महिलाको त्यहाँ भीड लागेको थियो। त्यहाँ पेन किलरको अभाव थियो। अस्पतालले दुखाइ सहन धेरै कठिन भएका केहीलाई मात्र पेन किलर उपलब्ध गराइने नीति लिएको थियो। बिरामीले सहन सकेमा पेन किलर दिइँदैन थियो। उनले पेन किलरको उपयोग नगरेरै बच्चालाई जन्म दिएकी थिइन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार गाँजाका आधा भन्दा बढी अस्पतालमा इन्धनको अभाव छ। यस कारण त्यहाँ नियमित र अति आवश्यक काम पनि हुन सकीरहेका छैनन्।
लगातारको आक्रमणले ती सबै संरचना ध्वस्त हुँदै गइरहेका छन्। राष्ट्र सङ्घको अनुमान अनुसार अहिले युद्धको समयमा ५० हजार महिला गर्भवती छन्। एउटा अस्पतालले मुस्किलले एक दिनमा १ सय ८० जनालाई मात्र प्रसूति गराउन सक्छ।
धेरै अस्पतालले सुरक्षित रूपले बच्चा जन्माउने काम गर्न सकेका छैनन्। त्यहाँ इन्धनको अभाव छ। जेनरेटर चलेका छैनन्। औषधिको अभाव छ। कतिपय स्थानमा सुत्केरी गराउन आवश्यक पर्ने सामग्रीको पनि अभाव छ।
ओला अबु ओली पनि एक हुन्। ‘मेरो बच्चा दुई साताको भयो। उ युद्धकै समयमा जन्मिएको थियो। यो विद्यालय उ जन्मिएको स्थान हो।’ उनको अर्को पनि बच्चा छ। राफाह अत्यन्त भीड रहेको शरणार्थी शिविरमा बसी रहेका छन्।
‘मेरा दुवै बच्चा बिरामी भए। उनीहरूको पेटमा समस्या छ। झाडा पखाला गरि रहन्छन्। मैले स्तनपान गराउन चाहँदा उ वान्त गरिरहन्छ। मैले बच्चालाई बारम्बार अस्पताल लगे पनि यो समस्या ठिक हुँदैन,’ उनले भनिन्।
पिउने पानीको अभाव त्यहाँको अर्को समस्या हो। राष्ट्र सङ्घका अनुसार आफ्ना सम्पूर्ण आवश्यकता पुरा गर्नका लागि दैनिक तीन लिटर पानी मात्र प्राप्त हुनेछ। ओलाकै अनुसार शौचालयको अवस्था प्रयोग गर्न नै कठिन हुने किसिमको छ। पानीको अभावको कारण सर्वत्र समस्या देखिएको छ।
ओला जस्तै ओफा युसुफ फाक्रे अहमद पनि विद्यालयमा छन्। उनलाई बच्चा जन्मने दिन नजिकिँदै जाँदा चिन्ता लाग्छ। यस अवस्थामा नवजात शिशुलाई कसरी बढाउने भन्ने चिन्ताले उनी सोच मग्न छिन्। उनका लागि एकदमै कठिन जिन्दगी आउन नै बाँकी छ। गाँजाको उत्तरी सीमा बेट हननको स्थायी बासिन्दा उनी सेल्टरको खोजीमा त्यहाँ पुगेकी हुन्।
सुरुमा उनीहरू अल मुस्कार क्षेत्रको विद्यालयमा पुगेका थिए। त्यहाँ पनि छाड्ने भने पछि उनीहरू दक्षिणमा पुगेका हुन्। उनीहरूको साथमा गाडा पनि नभएका कारण धेरै दिन त हिँडेका थिए। पिउने पानी साथमा नभएका कारण सिधै समुद्रको पानी पनि उनीहरूले पिएका थिए। उनका श्रीमान् बोतलमा समुद्रको पानी झिक्ने गर्थे।
राष्ट्र संघले गाँजामा गर्भवती महिलाको मृत्यु दर बढ्न सक्ने चेतावनी दिइसकेको छ। अति आवश्यक वस्तुको अभाव तथा स्वास्थ्य जीवनको कारण उनीहरू यस समस्यामा छन्।
आस्मा पनि गाँजा सहरकी स्थायी बासिन्दा हुन्। मध्य गाँजाको डेयर बल बलाहमा अवस्थित अल अकस अस्पतालमा उनी तिन बच्चासहित बसोबास गरेकी छिन्। गर्भवती उनले घर छाड्नु अगाडि अघि चिकित्सक कहाँ पुगेर परीक्षण गरेकी थिइन्। त्यहाँको अवस्था देखेर उनी आफ्नो बच्चाका बारे एकदमै चिन्तित भएकी थिइन्। शौचालय जान सहज नहुने अवस्थामा रहेकी उनले लगातार शव देख्न थालेपछि झनै अत्तालिएकी थिइन्। हमासले ७ अक्टोबरको दिन गरेको त्यस आक्रमणकै कारण अहिले गाँजाको अवस्था साँच्चै विरक्त लाग्दो छ।
स्रोतः बीबीसी
प्रतिक्रिया