निर्देशक बुबालाई छल्दै नायिका बनेकी केकी | Khabarhub Khabarhub

निर्देशक बुबालाई छल्दै नायिका बनेकी केकी


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केकी अधिकारी अभिनय, स्वर, बौद्धिक र ‘क्युट लुक’ले परिचित छिन् । उनले आफूलाई अभिनयसँगै निर्माताका रुपमा समेत विस्तार गरेकी छिन् । उनी पढेलेखेकी नायिकामा गनिन्छिन् ।

केकीका बुबा बद्री अधिकारी फिल्म निर्देशक समेत हुन्, तर उनले बुबाको फिल्ममा काम भने गरेकी छैनन् । रोचक त के छ भने उनले रङ्गमञ्चमा आफूले काम गरेको बुबालाई पछि मात्रै थाहा दिएकी हुन् ।

बुबासँग लुक्दै–छिप्दै रङ्गमञ्चमा प्रवेश गरेकी केकीले फिल्म खेल्ने निर्णय लिँदा बुबा–आमासँग बोलचाल बन्द भएको प्रसंग खबरहबसँग खुलाएकी छिन् । फिल्मकै लागि उनले एमबीबीएसको परीक्षासमेत हापेकी थिइन् ।

नृत्य, विज्ञापन, म्युजिक भिडियो हुँदै फिल्ममा आएकी केकीले तेस्रो फिल्म ‘मसान’बाट मात्रै परिवारलाई प्रमाणित गरिन्, तर त्यसअघि नै उनले निर्माता र दर्शकलाई अभियनले मन जितिसकेकी थिइन् ।

अल्लारे मानसिकताले फिल्ममा प्रवेश गरेकी केकीले आफू स्थापित भएपछि मात्रै अभिनयमा गम्भीर बनेको खुलाएकी छिन् । पढाइमा उत्कृट छात्राको चरित्रबाट चरित्र नायिका बन्दा उनले गरेका संघर्ष अहिले सुन्दा रोचक लाग्छ । यस क्षेत्रमा काम गर्ने चाहानेका लागि प्रेरणासमेत बन्न सक्छ ।

स्कुलमा पहिलो हुँदा सुख थिएन’

केकी काठमाडौंको बौद्धमा जन्मिएकी हुन् । उनका बुबा निर्देशक साथै शिक्षक थिए । बुबाले जागिर खाने दोर्जे स्कुलको होस्टलमा उनी जन्मिएकी हुन् । उनका एक भाइ पनि छन् ।

केकी बाल्यकालको स्मरण गर्छिन्, ‘हामी सानो हुँदा बुबाको रङ्गमञ्चको संघर्ष पनि जारी थियो । परिवारको पालनपोषणका लागि उहाँ शिक्षण पेसामा पनि हुनुहुन्थ्यो ।’

केकी जन्मिएको केही वर्षमा बुबाले आरुबारीमा नयाँ स्कुल खोलेपछि उनको बाल्यकाल त्यहीँ बित्यो । उनी सानैदेखि स्कुलमा प्रथम हुने गरेको बताउँछिन् ।

‘पहिलो हुँदा पनि आफ्नै स्कुलमा त जो पनि हुन्छ नि भन्ने दबाब थियो मलाई । साथीहरुले प्रश्नपत्र जाँच अघि नै थाहा हुन्छ भन्ने आरोप लगाउँथे,’ उनी थन्छिन्, ‘स्कुलले नलिने परीक्षा एसएलसीमा सर्वोत्कृष्ट श्रेणीमा पास भएर आफूलाई प्रमाणित गरें । त्यसबेला डिस्टिङसन ल्याउने देशभर १०० जना मुस्किलले हुन्थे ।’

प्लस टूमा विज्ञान विषय पढेकी केकी एमबीबीसको तयारी गर्दागर्दै रङ्गमञ्चमा प्रवेश गरेकी हुन् ।

   केकीले ३३ भन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । यसबीचमा एमबीए पनि उत्तीर्ण गरिन् । उनी दुईवटा फिल्मकी निर्माता पनि हुन् । उनको लगानीमा बनेको ‘बोक्सीको घर’ प्रदर्शन हुन बाँकी छ ।

बाल कलाकारमा बुबाले नलिँदा

बुबा फिल्म क्षेत्रमा सक्रिय र विद्यालयमा पनि चलाउने भएकाले बालकलाकार चाहिँदा धेरैले सम्पर्क गर्ने केकी बताउँछिन् । तर पढाइ बिगार्ने भयले बुबाको नजरमा उनी बाल कलाकारमा छनोट हुन सकिनन् ।

साथीहरुले सुटिङमा गएको कुरा सुनाउँदा आफूलाई निकै चित्त दुःखेको उनी स्मरण गर्छिन् । उनी सुनाउँछिन्, ‘साथीहरु सुटिङबाट फर्किएपछि निखिल उप्रेतीलाई भेट्यौं, यस्तो भयो, उस्तो भयो भनेर सुनाउँदा मलाई एकदकै नरमाइलो लाग्थ्यो । बुबाले सुटिङमा लानुभएन भनेर आमासँग गएर रुन्थेँ ।’

बुबासँगको डरका कारण उनले आफूलाई सुटिङ लैजानु भनेर कहिल्यै भन्न सकिनन् । उनी भन्छिन्, ‘सायद बुबालाई सुटिङमा लैजाँदा यतै लाग्छे र आफूले यस क्षेत्रमा गरेको संघर्ष छोरीले पनि गर्नुपर्छ भन्ने उहाँमा चिन्ता थियो होला ।’

फुर्सदले जुराएको ‘क्लोजअप’को विज्ञापन

केकीले प्लस टू साइन्समा सकेपछि एमबीबीएसको तयारी कक्षा लिइन् । बिहान ‘क्लास’ र दिउँसो फुर्सद थियो । त्यहीबेला पत्रिकामा एनटीभी–२ (हालको एनटीभी प्लस) बाट प्रसारण हुने नृत्य प्रतियोगिता ‘घिन्ताङ्’ को विज्ञापन देखेपछि उनले सहभागी हुने निर्णय गरिन् ।

केकी स्मरण गर्छिन्, ‘सानैदेखि मलाई नाच्न मन भएर त्यहाँ भाग लिने सोचेकी थिएँ । त्यही कार्यक्रमले यहाँसम्मको यात्रा तय हुन्छ भनेर परिवारले त के मैले पनि सोचेकै थिइनँ ।’

टेलिभिनको प्रतियोगितमा सहभागी हुँदा केकी विज्ञापनका लागि कलाकार खोजिरहेको ‘थम्सन नेपाल’ टिमको नजरमा परिन् । त्यो टिमले नेपाल टेलिभिजनसँग सहकार्य गरेर केकीसम्म पुग्यो ।

केकी भन्छिन्, ‘मेरो बुबा सिरियल बनाउने भएकाले उहाँहरुले घरको नम्बर पाउनु भएछ । त्यसबेला सबैको हातमा फोन हुँदैन थियो, सम्पर्क गर्न गाह्रो हुन्थ्यो ।’

पहिलो फोनको विश्वास नलागेका कारण दोस्रो फोन आएपछि मात्रै केकी विज्ञापनको अडिसनमा पुगिन् । उनी सुनाउँछिन्, ‘त्यहाँ म पुग्दा १५–२० जना अडिसनका लागि तयार गर्दै हुनुहुन्थ्यो । सबै अग्ला र राम्रा मोडलहरु थिए । म त सानी थिएँ, त्यसमाथि मेरो पृष्ठभूमि मोडलिङ पनि थिएन ।’

अडिसनमा दुई लाइन डाइलग तीन तरिकामा भन्न लगाइएको उनी सुनाउँछिन् । डाइलग थियो– पाँचको कमाल गज्जबको, तिम्रो मेरो जोडी मिलेको । एउटा केटा साथीसँगै भएको ब्याकग्राउन्ड दिइएको उनी बताउँछिन् ।

डाइलग पाउने बित्तिकै उनी अडिसनका लागि तयार भइन् । तीन फरक शैलीमा डाइलग भन्ने टास्क दिइएकामा दश फरक तरिकाले प्रस्तुति दिएपछि जज प्रभावित भएको उनी सुनाउँछिन् । उनी थप्छिन्, ‘मैले के गरें चाहिँ थाहा भएन । उहाँहरुले पोर्टफोलियो लिएर आउनु भन्नुभयो । मैले हुन्छ भनेर तर पोर्टफोलियो के हो मलाई थाहा थिएन । पछि सर्ट लिस्टमा पर्नुभयो भनेर फोन आयो ।’

प्रोफेसनल फोटो सुट, सबै एङ्गलको फोटो, ब्याक ग्राउन्ड, उचाइ, तौल सबै खुलाउनुपर्ने भएकाले उनले पोर्टफोलियो तयार गर्न सकिनन् । टिमले विज्ञापनका लागि फोन गरेपछि उनले यथार्थ खुलाइन् । उनीहरुले नै फोटो सुट गराइदिएपछि विज्ञापनमा खेल्ने पक्का भयो ।

फोटो सुटको स्मरण गर्दै केकी भन्छिन्, ‘ठूलो स्टुडियो थियो, त्यसबेलाका चर्चित फोटोग्राफर माधव दाइले फोटो खिच्नुभयो, पहिलो पटक मेकअप आर्टिस्टले मेकअप गराइदिए । सपनाजस्तो थियो त्यो क्षण ।’

विज्ञापन सुट भयो तर उनले परिवारले पढाइ बिगार्छे भनेर यस क्षेत्रमा काम गर्न नदिने डरले थाहा दिइनन् । यसरी लुकेर गरेको विज्ञापनपछि उनको अवसरका ढोका खुले ।

घरमा छलेर म्युजिक भिडियो

केकीलाई म्युजिक भिडियोको पहिलो अफर निर्देशक प्रशन्न पौडेलले नेपाल टेलिभिजनको क्यान्टिनमा गरेका थिए । तर, उनले जिस्काएको ठानिन् । दोस्रो पटक अफर गरेपछि चाहिँ काम गर्ने पक्का भयो ।

केकी स्मरण गर्छिन्, ‘बाबाले थाहा पाउनुभयो भने काम गर्न नदिने डर थियो, त्यही भएर आमालाई मात्र भनेँ । ६ बजे घर पुग्ने गरी सुटिङको समय मिलाउन लगाएकी थिएँ ।’

केकीको दोस्रो म्युजिक भिडियो अन्जु पन्तको स्वर भएको ‘आहा, वनमा फुल्यो फूलै फूल’ हिट भयो । त्यसपछि भने उनी मेकरको नजरमा परिन् । उनी भन्छिन्, ‘दोस्रो म्युजिक भिडियोले म मोडल भनेर चिनिन लागेँ । मिडिया क्षेत्रमा ठूलै चर्चा थियो । त्यहीबेलादेखि मैले धेरै अफर पाएँ ।’

केकीले यसपछि रङ्गमञ्चमा फर्केर हेर्नुपर्ने अवस्था बनेन । तर, उनलाई बुबाले म्युजिक भिडियो गरेको थाहा पाउनुहुन्छ भन्ने डर कायमै थियो । पढाइ बिग्रन्छ भनेर बुबाले फिल्म क्षेत्रमा काम गर्न नदिने डर उनमा थियो । उनी त्यसबेलाको अवस्था सुनाउँछिन्, ‘बाबाले थाहा पाएको क्षणलाई कसरी सामना गर्ने, डर थियो । बाबाले यो क्षेत्रमा काम गर्न मिल्दैन भनेपछि त यो क्षेत्रमा काम गर्ने सन्दर्भमै पूर्णविराम लाग्थ्यो ।’

यही ताका केकीलाई फिल्मको अफर आयो । घरमा भन्न सक्ने अवस्था थिएन । उनी भन्छिन्, ‘मलाई अब एमबीबीएसको परीक्षा दिन पनि मन भएन । तर, घरमा एमबीबीएस नगरी फिल्म गर्छु भन्ने अवस्थै थिएन ।

यही समयमा म्युजिक भिडियोको दौरान मोडल रिमा विश्वकर्मा र नायिका बेनिसा हमालसँग केकीको भेट भएको हो ।

फिल्म खेल्दा बाआमासँग बोलचाल बन्द

केकीले खेलेको पहिलो फिल्म ‘स्वर’ सन् २०१० मा प्रदर्शनमा आयो । फिल्मै मनमा बसिसकेकाले उनले एमबीबीएसको परीक्षा नदिने र बुबालाई यसबारेमा जानकारी दिने निर्णयमा पुगिन् । निर्देशक प्रसन्न पौडेलको सल्लाहअनुसार आफू यस्तो निर्णयमा पुगेको उनी सुनाउँछिन् ।

एमबीबीएस नपढ्ने कुरामा आमाको जवाफ थियो– यस्तो पढ्ने बच्चा, बिग्रिएको यो सबै म्युजिक भिडियोले हो ।

पछि हिम्मत निकालेर बुबालाई भन्दा एमबीबीएस नपढ्ने कुरालाई उहाँले सहजै लिएको केकी सुनाउँछिन् । ‘तर म्युजिक भिडियो गर्दैछु, अब फिल्म गर्छुभन्दा उहाँ आमासँग बोल्नै छोड्नुभयो’, केकी थप्छिन् ।

आमाले म्युजिक भिडियो खेल्न दिएका कारण छोरीको पढाइ बिग्रने चिन्ताले यो अवस्था सिर्जना भएको केकी बताउँछिन् । उनी भन्छिन्, ‘घरमा तिक्तता छायो । घरमा चार जना, चारै जना कोहीसँग बोलेको छैन । चिसो पसेको जस्तो भयो घरमा । म भन्नै सक्दिनँ घरको त्योबेलाको अवस्था ।’

त्यसपछि केकीले फिल्ममा काम गरेर पढाइ बिग्रिएको अवस्थामा रङगमञ्चको काम छोड्ने प्रतिवद्धता गरेपछि बुबाबाट काम गर्ने अनुमति पाइन् र ‘स्वर’मा अनुबन्ध भइन् ।

बाबाले के पढ्ने त अब ? भनेर सोधेको समय स्मरण गर्दै केकी भन्छिन्, ‘डरमा फ्याट्ट मुखबाट बीआईएम निस्कियो । त्यसबेला त्यही विषय नयाँ थियो । कुनै योजनाबिनै त्यो विषय पढियो ।’

बुबासँगको प्रतिवद्धता अनुसार पढाइ र फिल्मी करिअर दुबैलाई राम्रोसँग अगाडि बढाएकी केकीले १३ वर्षको अवधिमा दर्जनौं हिट फिल्म दिएकी छन् । यसबीचमा उनले एमबीएसमेत उत्तीर्ण गरिन् । उनी दुईवटा फिल्मकी निर्माता पनि हुन् । उनको लगानीमा बनेको ‘बोक्सीको घर’ प्रदर्शन हुन बाँकी छ । पहिलो फिल्मबारे तल चर्चा गरिएको छ ।

हिरोइन भनेको मन पर्दैन थियो’

दोस्रो फिल्म हिट हुँदासम्म केकी आफ्ना साथीहरुलाई रङ्गमञ्चमा काम गरेको कुरा नभनेको बताउँछिन् । उनी स्मरण गर्छिन्, ‘म त्यसबेला पनि माइक्रो चढेर कलेज जान्थेँ ।’

त्यसबेला साथीहरुले थाहा पाएर ‘हिरोइन’ भनेर सम्बोधन गर्दा आफूलाई मन नपर्ने केकी सुनाउँछिन् ।

‘मलाई यही क्षेत्रमा काम गर्छु भन्ने नै थिएन । यो मेरो चाहाना थिएन । अर्को कुरा, त्यस समय म फिल्ममा काम गर्छु भनेर गर्वका साथ भन्ने अवस्था नै थिएन,’ उनी थप्छिन्, ‘केहीले ऊ हिरोइन भन्थेँ । मलाई त्यो भनेको मनै पर्दैन थियो ।’

घरकै निर्देशकको मन जितेको फिल्म

केकी पहिलो फिल्म प्रदर्शन नभई दोस्रो फिल्म ‘आई एम सरी’ मा आर्यन सिग्देलको जोडीका रुपमा अनुवन्धित भइन् । त्यसबेला करिअरको उत्कर्षमा रहेका आर्यनसँग फिल्ममा जोडिनु केकीका लागि अर्को सफलता थियो ।

उनी सुनाउँछिन्, ‘आर्यन दाइ त्यो उचाइमा हुनुहुन्थ्यो, त्यसबेला निर्देशक र निर्माताले उहाँलाई सोधेर मात्रै हिरोइन लिन्थे । उहाँको स्टारडम उच्च भएका बेला भेटेकाले आज पनि मलाई आर्यन दाइसँग आँखा जुधाएर कुरा गर्न अप्ठ्यारो लाग्छ ।’

‘आई एम सरी’ हिट भयो । फिल्मले काठमाडौैंभन्दा बढी मोफसलमा दर्शकको माया पायो । यसरी हिट फिल्म दिएर दर्शकको मन जितेकी केकीले घरकै निर्देशक अर्थात् बुबा बद्री अधिकारीको मन भने तेस्रो फिल्म ‘मसान’बाट जितेकी हुन् ।

मसानमा खेल्दा केकी २१ वर्ष थिइन् । मुख्य पात्रमा अनुबन्ध भएकी नायिका व्यक्तिगत कारणले बाहिरिएपछि उनी आफूभन्दा १० वर्ष छिप्पिएको पात्र ‘हेलेन’को भूमिकामा देखिनुपर्ने भयो । पुरानो कथामा आधारित उपन्यासबाट फिल्म निर्माण भएकाले डाइलगमा समेत समस्या भएको उनी स्मरण गर्छिन् ।

केकी भन्छिन्, ‘अहिले आएर बुझ्दा त्यस्तो पात्र मैले के बुझेर गरेँ होला भन्ने लाग्छ । मैले अभिनय गरेको अहिलेसम्मकै सबैभन्दा गाह्रो पात्र हो त्यो ।’

‘मसान’ले केकीलाई कलाकारका रुपमा स्थापित गरायो । उनले पनि यही फिल्मबाट कलाकारितामै लाग्ने अठोट लिइन् । उनी भन्छिन्, ‘मलाई नीर शाहजस्तो निर्देशकले त कलाकारका रुपमा लिइसकेपछि अब किन गम्भीर नहुने भन्ने सोच आयो ।’

यस पात्रबाट पनि बुबाले आफूमा कलाकार बन्ने छनक देखेको हुनुपर्ने केकीको ठम्याइ छ । उनी भन्छिन्, ‘मसानपछि अब तिमीले आफ्नो निर्णय आफैँ गर्न सक्छौ, तिमीले काम गर्न सक्छौ भन्नुभयो ।’

यसरी केकीले अगाडि बढाएको आफ्नो अभियन यात्रालाई अझै निरन्तरता दिइरहेकी छिन् । उनले ३३ भन्दा बढी फिल्ममा अभिनय गरेकी छन् ।

पत्रिकाको फोटोले नदिएको उत्साह

अक्सर कलाकार आफ्नो फोटो पत्रिकामा आएपछि गर्व गर्छन्, सफलताको महसुस गर्छन् । धेरै कलाकारलाई आफ्नो फोटो पहिलोपटक पत्रिकामा आएको सम्झना हुन्छ ।

केकीलाई पनि कलाकारितामा लागेपछि पत्रिकाका लागि पहिलो पटक फोटो सुट भएको याद छ । तर उनी त्यससँग खासै उत्साहित थिइनन् ।

उनी भन्छिन्, ‘आई एम सरी फिल्मका बेला पहिलो पटक पत्रिकाका लागि फोटो सुट भएको भएको हो । कलाकार बन्नुभन्दा पहिले पत्रिकाको पहिलो पृष्ठमा ‘क्लोजअप’ले गरेको विज्ञापनमा मेरो फोटो आउँथ्यो । यो म फिल्ममा आउनुभन्दा अघिको कुरा हो । मलाई त्यस्तो पत्रिकामा फोटोको मोह थिएन ।’

रङ्ग पत्रिकाको नियमित पाठक न भएका कारण पनि पत्रिकाको फोटोमा आफ्नो रुचि नभएको केकी बताउँछिन् ।

आमा बन्ने’ योजना

सन् २०२२ मा विवाह बन्धनमा बाँधिएकी केही कार्यव्यस्ताका एकाध वर्ष ‘आमा बन्ने’ योजना नबनाएको सुनाउँछिन् । उनी भन्छिन्, ‘अहिले चाहिँ हामी यही अवस्थामै रमाइरहेका छौं । अब जीवनमा खालीपन भयो, केही नयाँ चाहियो भन्ने कुरा पनि आउला चाँडै । आगामी वर्ष एक–दुई वर्ष म काममै व्यस्त छु ।’

बुहारी बनेपछि अभिनय

‘म सेलिब्रेटी पनि हुन पाएकी छु, साधारण मानिस पनि हुन पाएकी छु’ केकीले नेपाली फिल्ममा काम गर्न पाउँदाको सुनाएको यो रमाइलो अनुभव हो ।

साथै, नायिकाले बिहे गर्दा काममा कुनै किसिमको प्रभाव नपर्ने अर्को सुन्दर पक्ष भएको उनी अनुभव सुनाउँछिन् । भन्छिन्, ‘म त बिहे भएको कुरा नै बिर्सन्छु । प्रसंग उठ्दा मात्रै बिहे गरेकी छु भन्ने याद आउँछ ।’

यस कुरालाई अग्रज नायिकाहरुले फिल्म क्षेत्रमा सेट गरेको राम्रो ट्रेन्डको रुपमा केकी बताउँछिन् । उनी थप्छिन्, ‘करिस्मा दिदीका पालादेखि अहिलेसम्म राम्रो कलाकार भए हुन्छ, विवाहले फरक पर्दैन है भन्ने कुरा स्थापित भएको छ । नायिकाको बिहे र बच्चा भएको कुरालाई खुलेर स्वीकार गरिएको अवस्था बनेको छ ।’

कोहलपुर एक्सप्रेसबारे स्पष्टीकरण

केकीले निर्माण गरेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’ सन् २०१८ मा प्रदर्शनमा आएको थियो । तर, यो फिल्म विवादमा प¥यो । कारण थियो– स्टोरी कपी ।

यसबारे केकी भन्छिन्, ‘फिल्मको स्क्रिप्टमा एकजनाको नाम छ, तर उहाँको पनि त्यो कथा भने होइन, उहाँले स्क्रिन प्लेमा ढाल्नुभएको मात्रै हो । यसको जिम्मेवारी हामी टीमले नै लिनुपर्छ । निर्माता भएकाले नैतिक जिम्मेवारी मेरो पनि हो ।’

स्टोरीका कारण विवाद आए पनि यस फिल्मले लगानी भने सुरक्षित गरेको केकी बताउँछिन् । ‘एक करोडमा बनेको फिल्मले नेपालमा ६० लाखको व्यापार गर्‍यो । एक वर्ष कुनै काम नगरी म त्यो फिल्म विदेशमा चलाउँदै हिडेँ, जसले गर्दा केही नाफा पनि भयो ।’

यो पनि पढ्नुहोस्…

चलचित्रका ‘बा’ बुढेसकालमा एक्लै

गजुरेलको ‘जोक’ जस्तो जिन्दगी !

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ०६ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी