अब महिलाहरु महिनावारीको भ्रममा अल्झिनु हुँदैन | Khabarhub Khabarhub

अब महिलाहरु महिनावारीको भ्रममा अल्झिनु हुँदैन

‘मसँग महिनावारीमा मन्दिरको दर्शन गरेको अनुभव छ’


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

महिनावारी बार्ने चलन नेपालमा मात्रै होइन, संसारभरि नै छ। संस्कृति र परम्परा अनुसार बार्ने कुरा फरक होलान्। तर बार्न चाहिँ सबैले बारेको पाइन्छ। एउटा अध्ययनले संसारमा एक सय ४५ प्रकारले महिनावारी बार्ने गरेको पुष्टि गरेको छ। महिनावारीको प्राकृतिक रुप, सामाजिक बुझाइ, धार्मिक प्रचलन र महिनावारीका नाममा महिला वा किशोरीले भोग्नु परेका पीडाको विषयमा सामाजिक अभियन्ता एव‌ं साहित्यकार राधा पौडेलसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंश :

महिनावारी क्षेत्रमा काम गर्ने प्रेरणा कसरी मिल्यो ?
यसको लामो इतिहास छ। म सात वर्षको हुँदा आमाको तिघ्राबाट रगत बगिरहेको देखेँ। आमा दिदी, छिमेकीले महिनवारी भएका बेलामा खाना नपकाउने, बालाई नछुने, घरभित्रै नबस्ने, घरभित्रै बसे पनि भाँडाकुँडा, विस्तारा सबै फरक हुने गरेको देखेँ। दिदीहरु महिनावारी हुँदा १४ देखि २१ दिनसम्म लुकाएको देखेँ। त्यो देखेर महिला भएपछि यसरी महिनावारी हुनुपर्ने रहेछ म पनि हुन्छु भन्ने भयो। आमाले महिनावारी भनेको भगवानको पापले गर्दा हो भन्नुभएको थियो। त्यसपछि महिला पापी भएर पुरुष हेप्ने रैछन् भन्ने भयो। त्यसपछि म ठूलो चिन्तामा परेँ। दाउरा, घाँस र मेलापात जाँदा सबैतिर पुरुषले महिलालाई हेपेको देखेकी थिएँ।

समय रोकिने कुरा भएन। म १४ वर्ष पुगेपछि महिनावारी भएँ। विद्यालयबाट फर्किँदै गर्दा महिनावारी भएपछि घर नगएर बाटैबाट भागेर दिदीकोमा गएँ। त्यहाँ पाँच दिन बसेर आएँ। घर आइसकेपछि सबै कुराहरु जानीजानी छोएँ। तर आमाले मलाई केही भन्नुभएन। यो देखेर खासमा आमालाई पनि यो कुरा मन नपरेको रहेछ तर उहाँले विरोध मात्रै गर्न नसकेको भन्ने लाग्यो। त्यसपछि आत्मविश्वास झन् बढेर आयो।

अर्कोवर्ष म नर्सिङ पढ्न पोखरा गएँ। त्यसपछि थाहा भयो, महिनावारीमा जाने भनेको त शुद्ध रगत रहेछ। आमाले भनेको जस्तो फोहोर र पाप होइन रहेछ। त्यही रगतले गर्दा संसार याहाँसम्म आइपुगेको रैछ। चन्द्रमामा पुग्ने, संसारको जति पनि विकास गर्ने, वैज्ञानिक जे जे भने पनि महिनाबारी नभई कोही पनि यो धर्तीमा आउनै सक्ने रहेनछन् भन्ने भयो। यसको विरुद्धमा बोल्न थालेँ। त्यसपछि यही क्षेत्रमा काम गर्छु भन्ने अठोट लिएँ। महिनावारीको क्षेत्रमा काम गर्ने सुरुवआत मैले घरबाटै गरेँ। दसैँका बेला महिनवारी हुँदा मैले टीका जमरा लगाएँ। यसमा मैले बा–आमाको सपोर्ट पाएँ।

नेपालमा महिनावारीको अवस्था के छ ?
महिनावारी बार्ने चलन नेपालमा मात्रै होइन संसारभर नै छ। परम्परा र संस्कृति अनुसार बार्ने कुरा फरक होलान्। तर बार्न चाहिँ सबैले बार्छन्। श्रीलंकामा हामीले केही समय अगाडि गरेको महिनावारी सम्बन्धी तालिममा विश्वभर महिनावारी बार्नेको सूची बनाएका थियौं। त्यसबाट विभिन्न देशमा एक सय ५४ प्रकारका बार्ने कुरा रहेका छन्। कसैले खाने कुरामा बार्छन् भने कसैले लगाउने, हिँडडुल गर्ने कुरामा बार्ने गरेका छन्।

सामान्य भाषामा भन्नुपर्दा चिम्पाञ्जीको पालादेखि महिनावारी संसारमा छ। वैदिककालदेखि लिएर आजसम्म आउँदा महिनावारीलाई मानवअधिकारका दृष्टिकोणले विश्लेषण गर्नुपर्छ। योसँग सम्बन्धी सोचलाई हामीले हाम्रो संविधानमा, मानव अधिकार, महिला अधिकार, बाल अधिकारको रुपको मान्यता महिनावारी अधिकारलाई दिनुपर्छ र हेर्नुपर्छ। नेपालमा त्यो हुन सकेको छैन। डिसेम्बर ८ मा नेपालमा मर्यादित महिनावारी दिवस मनाइरहँदा एउटा एनजीओका अभियन्ता कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। त्यहाँ सहभागी केही किशोरीले आफूले महिनावारी बारेको कुरा गर्दा ती अभियन्ताले म पनि मेरी छोरीलाई पुजा गर्न दिन्न भन्नुभयो। यसबाट के प्रष्ट हुन्छ भने यो प्रथा हाम्रो समाजबाट हट्न सकेको छैन।

महिनावारी बार्ने चलनले महिलाको स्वास्थ्यमा कत्तिको असर गर्छ ?
यसले दुई किसिमले महिलाको स्वास्थ्यमा असर गर्छ। पहिलो भनेको विभेदको कारणले गर्दा उसले खानै पाएन। जसका कारण पौष्टिक आहारको कमी भयो। जसले गर्दा विभिन्नखाले रोग लाग्न थाले। अर्को महिनावारी सुरु हुने समय र सुक्ने बेलामा कसैकसैलाई गम्भीर समस्या आउन सक्छन्। ती समस्या महिनावारीका कारण नभई पहिले नै केही अन्य रोग भएका कारण देखिएका हुन सक्छन्। ती समस्याको उपचार नगर्दा महिलाको स्वास्थ्य जोखिममा पर्ने हुनसक्छ।

पछिल्लो समय महिनावारीका समयमा प्रयोग गरिने सामग्री सबै सुरक्षित छन् भन्ने छैन। अहिले बजारमा पाइने प्याडमा रसायनिक पदार्थसँगै प्लाष्टिक पनि राखेको हुन्छ। त्यो कुहिँदैन र त्यसमा भएको रसायनिक पदार्थले हाम्रो शरीरलाई पनि हानी गर्छ। प्याड हामीले चार-चार घण्टाको फरकमा फेर्नुपर्छ। त्यो समयमा नफेरे हाम्रो स्वास्थ्यमा हानी गर्न सक्छ। सकेसम्म हामीले घरमै भएका सफा सुतीको कपडालाई नै प्रयोग गर्नु राम्रो मानिन्छ।

पहिलोपटक महिनावारी भएका किशोरीलाई हिन्दू धर्मअनुसार लुकाउने चलन छ। यसलाई विज्ञानले पनि जायज मानेको भनिन्छ। वास्तविकता के हो ?
मैले महिनावारीका विषयमा काम गर्न थालेको ४३ वर्ष भयो। बीएन पढ्दादेखि यसमा रिसर्च गर्न थालेकी छु। आजसम्म लुकाउने कुरा राम्रो हो भन्ने कतै देखे र सुनेको छैन। यो मान्छेहरुको तर्क गर्ने बहाना हो। पहिलो पटक महिनावारी हुँदा उमेर सानै हुन्छ। आफ्नो सरसफाइ राम्रोसँग गर्न सक्दैनन् भनेर लुकाएर राखेको हुन सक्छ। अहिले त्यसरी लुकाउनु पर्दैन।

महिनावारी बार्ने सम्बन्धमा महिलाले नै बढी भेदभाव गर्छन् भनिन्छ नि ?
त्यसमा मेरो फरक धारणा छ। देख्दाखेरि त्यस्तो देखिए पनि त्यस्को कारणचाहिँ यही महिनावारी विभेद हो। यसले असमान मानसिकता र पितृ सत्तालाई सबलीकरण गर्छ। जुन कुरा हामीले आजसम्म आत्मसाथ गरेकै छैनौं। सामान्यतया महिनावारी हुने १२–१३ वर्षमा हो। तर छोरी मान्छे ५–६ वर्षको हुँदादेखि नै महिनावारीबारे थाहा पाइन्। आमाले महिनावारी हुँदा भान्सामा गएनन्, पुजा गरेनन्, बालाई छोएनन् भने जस्ता बार्ने कुराहरु उसले आत्मसाथ गर्दै गयो। जसका कारण उसले आफूलाई छोरा मान्छे भन्दा कमजोर मान्दै जान्छ। आमा हजुरआमाले बारेकाले मैले बार्नैपर्छ भन्ने भयो। महिलाहरुले मेरो रगत शुद्ध हो, मैले संजोगले पाएँ र पुरुषले पनि म यो रगतबाट जन्मिएको हो भन्ने बुझ्न नै पाएनन्। आफू जन्मिएको रगतप्रति पुरुष पनि जिम्मेवार हुने हो भने महिलाप्रति सम्मान हुनुपर्छ। तर हाम्रोमा यो ढंगले बहस नै भएन। त्यसैले महिनावारी विभेदमा परिणत भयो।

पहिलेभन्दा नेपाली समाज केही परिवर्तन भएको पाउनुभयो ?
परिवर्तन त भएको छ, तर यत्तिले पुग्दैन। म एक्लैले गरेर परिवर्तन हुँदैन। मैले लामो समय महिनावारीका क्षेत्रमा काम गरेँ। म एक्लै बोलेँ । मेरै साथीहरुले पनि मलाई सहयोग गरेनन्। मलाई सुन्नलाई सरकारले लामो समय लियो। म काठमाडौंकै भएको भए, राजनीतिक परिवारबाट आएको भए, मेरो अभियानले फरक धार लिन्थ्यो होला तर म गाउँबाट गरिब परिवारबाट आएकाले मेरो कुरा पत्याएनन्। २०७४ सालमा सरकारले सुनेर राष्ट्रिय मर्यादित महिनावारी नीति बनायो। त्यसपछि सरकारले राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउन थालेको हो।

महिनावारीका बेला गरिने भेदभाव हटाउन सरकारले के गर्नुपर्ला ?
सरकारले नीति बनाएको छ। त्यो नीति मस्यौदामा मात्रै छ। त्यसलाई अन्तिम रुप दिनुपर्छ। महिनावारी सम्बन्धी कुनै पनि छोइछाई भेदभाव भयो भने तीन महिना जेल र तीन हजार रुपैयाँ जरिवाना अथवा दुवै हुनसक्छ भन्ने कानुन छ। तर खै सरकारले त्यसका बारेमा प्रचारप्रसार गरेको छैन। सरकारको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा यो कतै पनि सुनिएको छैन। विभिन्न संघ संस्था एनजिओ, आइएनजिओले यो अभियान मनाइरहँदा सरकारले किन यसको नेतृत्व गर्दैन ? प्रदेश सरकार र स्थानीय सरकारले मर्यादित महिनावारी नीति किन बनाउँदैन ? यो गम्भीर सवाल छ। यसमा एकदमै अनुभव भएका दक्ष व्यक्ति र संस्था, विश्व विद्यालयसँग साझेदारी गरेर धेरै किसिमका अनुसन्धान गर्नुपर्छ।

तपाईका भावी योजना के छन् ?
संयुक्त राष्ट्रसंघले जबसम्म डिसेम्बर ८ लाई मर्यादित महिनावारी मैत्री दिवस घोषणा गर्दैन, तबसम्म मेरो यात्रा हातखुट्टा चलुञ्जेलसम्म रोकिँदैन। व्यक्तिगत तहमा भन्नुपर्दा जबसम्म छोरीहरु मर्यादित भएर जिउन पाउने अवस्था सिर्जना हुँदैन, तबसम्म अनुसन्धान गर्ने, किताब लेख्ने, आर्टिकल, प्रोजेक्ट लेख्ने अभियान जारी रहन्छ। अहिले यसमा दुई किसिमले अभियान सुरु भइरहेको छ। एउटा नेपालमा राधा पौडेल फाउण्डेशनले गरेको मर्यादित महिनावारी अभियान नेपाल, जसले सात प्रदेशमा विभिन्न तालिम दिने काम गरिहरेको छ। अर्को, दक्षिण गोलार्धको मर्यादित महिनावारी सञ्जाल छ, जसमा झण्डै ७७ वटा संस्था सहभागी छन्।यसले संसारभर नै तालिम, अनुसन्धान, गोष्ठीहरु गर्ने कामहरु गरिरहेको छ।

केही अनुभव वा सुझाव छन् कि ?
मैले मेरो जीवनमा महिनावारी हुँदा पशुपति, उग्रतारा, जानकीलगायत सबै मन्दिरको दर्शन गरेकी छु। मेरो फेसबुकमा फोटो भिडियो पनि राखेकी छु। यो केही पनि हुँदैन। यस्ता कुरामा महिला भ्रममा नपर्नुहोला भन्छु। हामी विज्ञानको युगमा छौं। हाम्रा आमाहरुले, हजुरआमाहरुले दुःख पााउनुभयो। तर अहिले मैले सबै कुराहरु प्रमाणित गरेर देखाएकी छु। त्यसैले महिनावारी बार्ने काम नगर्नुहोला।

मैले महिनावारीकै समयमा आमाको किरियासमेत गरेकी छु। पुरुषहरुलाई पनि म अनुरोध गर्न चाहन्छु- तपाईंहरु यही रगतले जन्मिनुभएको हो। त्यसैले महिनावारी बार्ने विषयमा घरमा पनि छलफल गर्नुस् र अरुबेलामा जुन दैनिक क्रियाकलाप गरिरहनुभएको छ, महिनावारी भएका बेलामा सबै क्रियाकलाप गर्न प्रेरित गर्नुहोस् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : ०६ बजे

मोरङमा लहरी पल्टिँदा तीन जनाको मृत्यु

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा लहरी गाडी पल्टिँदा एकै

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं– कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केलाई

टक्सार– चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

ढोरपाटन – बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ ।