दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दिनभर आज प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन सभामुखको ध्यानाकर्षण, वैशाख ६ र ७ गते भिटामिन-ए तथा जुकाको औषधि खुवाइने, महासङ्घका अध्यक्ष ढकालद्वारा पदभार ग्रहणगायत समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आइतबार परराष्ट्रमन्त्रीमा नायणप्रकाश साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई नियुक्त गरिएको हो । उनीहरुले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले वैशाखको तेस्रो साता भारत भ्रमण गर्ने कार्यक्रम छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : अख्तियारद्वारा ९ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले आरोपपत्रमा पौडेलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी गरेको छ ।

पौडेलले पावर सिस्टम खरिद गर्दा बोलपत्रमा मिलेमतो गरेको, अस्वाभाविक लागत अनुमान सकार, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मरलाई भुक्तानी र औचित्य नै पुष्टि नहुने बल्क फ्युल ट्यांक सिस्टम किनेर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारले केन्द्रका कार्यकारी निर्देशक पौडेललाई ६९ करोड, सीडइ नविन कुमार पोखरेल (मेकानिकल) लाई ४९ करोड ४६ लाख, सहायक निर्देशक रमेशप्रसाद पोखरेललाई २० करोड ३८ लाख, शाखा अधिकृत मनिकमान महर्जनलाई ३ करोड ४४ लाख रुपैयाँ बिगो तोकेको छ ।

त्यस्तै, अख्तियारले लेखा अधिकृतबाट सेवानिवृत्त रामबहादुर बुढालाई १९ करोड ८८ लाख, शाखा अधिकृत शिरिष उपाध्यायलाई ४० करोड, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधानलाई २३ करोड ४४ लाख रुपैयाँ बिगो तोकेको छ ।

यसैगरी, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनलाई ४३ करोड ५७ लाख, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौलाई ८ लाख ६९ हजार रुपैयाँ बिगोसहित अख्तियारले विशेष अदातलमा मुद्दा दर्ता गरेको छ ।

सुशासन र समृद्धिकाे मूल लक्ष्यसहित पार्टी स्थापना भएको हो : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धिकाे मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन् । तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।

‘देश बनाउने संकल्प बोकेर अगाडि बढेका छौँ, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,’ उनले भने । सभापति लामिछानेले योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्ने दाबी गरे ।

देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको उल्लेख गर्दै उनले भने, ‘मुलुकमा भ्रष्टाचारको सफाइ आवश्यक छ । भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धराशायी बनाउँछ । यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका छौँ ।’

सभापति लामिछानेले आफूहरू गालीगलौजको राजनीति नगर्ने बताउँदै निर्वाचनका बेला रास्वपामाथि अनेक किसिमका आरोप लगाइएको बताए । पैसाको बार्गेनिङ गरेको आरोपमा प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेर इमान हुनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ थियो । मन्त्री बन्न पैसाको बार्गेनिङ गरेको सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छु भनेर बोलेका कुरा पूरा गरेको लामिछानेले बताए ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने मूल कार्यसूची लिएर चुनावी मैदानमा उत्रिएको बताए। डा वाग्लेले जिल्लामा विकासका आयोजनाको काम सुरु भए पनि अलपत्र अवस्थामा रहेकाले त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले देशलाई समृद्धि बनाउने अभियानसहित रास्वपाको उदय भएको बताए। काठमाडौँ–८ का प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले निर्वाचनका बेला जनता लोभमा प्रभावित हुन नहुने बताए ।

काठमाडौँ–६ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिशिर खनालले विदेशमा पढेर आएकाहरू राजनीतिमा आउनहुन्न भन्ने गलत भ्रम फैलाइएको बताए। काठमाडौँ–२ का प्रतिनिधिसभा सदस्य सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसाको पार्टीका रुपमा विकास भएको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले विश्वले चिनेको स्वर्णिम वाग्लेलाई आज संसद्ले खोजेको बताए ।

सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन सभामुखको ध्यानाकर्षण

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेसँग भेट गरी अनमिनद्वारा अयोग्य घोषित ४ हजार ८ जना माओवादी लडाकुलाई जनही २ लाख दिने सरकारी निर्णय तत्काल खारेज गर्न ध्यानाकर्षण गराएको छ ।

सभामुखको कार्यालय सिंहदरबारमा भएको छलफलमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी सहभागी थिए ।

शान्ति समाजका तर्फबाट सभामुखलाई बुझाइएको ज्ञापनपत्रमा संसद्‌मा प्रस्तुत सङ्क्रमणकालीन न्याय सम्बन्धी संसोधन विधेयक पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानवीय कानून र सर्वोच्च अदालतको फैसलाअनुरूप मानव अधिकार मैत्री बनाएपछि मात्र पारित गर्नुपर्ने भनिएको छ ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको हो ।

यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको छ । २० चैतमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ लाखमा झारेको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।

वैशाख ६ र ७ गते भिटामिन-ए तथा जुकाको औषधि खुवाइने

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दूरी काम गरी , अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो ।

त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपमा १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

क्यानले घोषणा गरेको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी छन् ।

त्यसैगरी, वैकल्पिक खेलाडीमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो छन् ।

मेलम्चीबाट दैनिक १२ करोड लिटर पानी वितरण

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी दैनिक १२ करोड लिटर उपभोक्तालाई वितरण गर्न थालेको छ । मेलम्ची नदीबाट दैनिक १७ करोड पानी ल्याइएकामा दैनिक पाँच करोड लिटर पानी पाइप परीक्षणका लागि र बाँकी उपभोक्ताको घरघरमा वितरण भइरहेको जनाइएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक १२ करोड लिटर पानी उपभोक्ताले प्रयोग गरीरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । बाँकी पानी कति क्षेत्रफलमा परीक्षण गर्ने सोही आधारमा खपत हुने उनले बताए। प्रमुख शाक्यले भने, ‘परीक्षणका लागि प्रयोग भएको बाहेक पानी उपभोक्ताको धारामा पठाइएका छौँ ।’ उपभोक्ताको घरमा दुई दिनको फरकमा पानी वितरण गरिरहेको लिमिटेडले जनाएको छ ।

‘कुनै क्षेत्रमा पानी राम्रो आइरहेको छ भने कतै राम्रो नआएको गुनासो आइरहेको छ । पानी नपुगेका र धाराबाट कम झर्ने ठाउँमा पुगेर समस्या समाधान गर्दै पानी पठाइरहेका छौँ’, उनले भने । पहिले भित्री बस्तीमा पानी नआउने भनी गुनासो आएकामा अहिले त्यो समस्या समाधान गरी नियमित पानी वितरण गरिएको प्रमुख शाक्यको भनाइ थियो ।

मुख्य लाइनबाट भित्र भने पानीको पाइप उपभोक्ताको घरसम्म नपुगेकाले पानी वितरण हुन नसकेको उनले बताए। केही ठाउँमा धारा बिग्रिएको, जाम भएको वा बीचमा छुटिएको गुनासो आएकाले मर्मत गरी नयाँ पाइप जडान पश्चात् पानी वितरणको तयारी भइरहेको प्रमुख शाक्यले जानकारी दिए। उनले भने, ‘क्षेत्रगत समस्या अहिले छैन कुनैकुनै घरमा भने अझै समस्या हुनसक्छ । समाधान गरेर पानी नियमित वितरणका लागि काम गर्नेछौँ ।’ उनका अनुसार भक्तपुर नगरपालिकाका विभिन्न स्थानबाट गुनासो आइरहेको छ ।

लिमिटेड र नगरपालिकाबीच समाधानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नगरपालिकाले पाइपका लागि खन्ने र पुर्ने कामका लागि खर्च बेहोर्ने र लिमिटेडले पाइप तथा आवश्यक अन्य सामग्रीको खर्च बेहोर्ने गरी सहकार्य भएको प्रमुख शाक्यले बताए।

यस आर्थिक वर्षमा गत पुसदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको हो । हिउँदको समयमा उपत्यकामा खानेपानीको समस्या हुने गरेकामा मेलम्चीको पानी आउन थालेपछि उपत्यकावासीलाई सहज भएको छ ।

प्रहरीको रिपोर्ट लिने प्रणालीमा समस्या अझै समाधान भएन

शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’ मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’ मा समस्या आएको बताए । उनले भने, “सिस्टम अपग्रेड गर्ने क्रममा नेटवर्किङका कारण समस्या आएको छ, प्राविधि टोलीले काम गरिरहेका छन्, प्राविधिक कुरा कतिबेला बन्द भन्न सकिन्न, सम्भवतः आज समस्या समाधान हुन्छ होला ।”

उक्त नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घनको जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको बताइएको छ ।

महासङ्घका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका छन् । पदभार ग्रहण गर्दै ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएकाले अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए ।

निर्वाचनबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

निर्वाचित अन्य पदाधिकारी तथा सदस्यले आजै पदबहाली गर्ने कार्यक्रम छ ।

वायु प्रदूषणमा काठमाडौँ विश्वकै नम्बर १

विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको छ । आइतबार वायु प्रदूषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो ।

विश्वभरका शहरको वायु प्रदूषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको पहिलो नम्बरमा परेको हो ।

आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ । एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङ माइ शहर विश्वको सबैभन्दा प्रदूषण भएको दोस्रो शहरमा परेको छ ।

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३७७ रहेको छ ।

आइतबार दिउँसो २ बजेको विवरणअनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ३७ जना, आईसीयूमा ११ जना र चारजना सङ्क्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

छुट्टाछुट्टै स्थानबाट बलात्कार आरोपमा तीनजना पक्राउ

काठमाडौं, झापा र कञ्चनपुरबाट बलात्कार आरोपमा तीनजना पक्राउ परेका छन् ।

५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिका-९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई प्रहरीले पक्राउ गरेको छ । महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरमा ८० वर्षीया वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ०४ बजे

‘छुवाछूतबारे बनेका कानून कडाइका साथ लागू गर्नुपर्छ’

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित

मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा

पाँच वर्षदेखि थन्किएका बस सञ्चालन

लुम्बिनी – लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध

प्रथम अदानचुली सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

सिमकोट– जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली सांस्कृतिक