पैसा तिरेर नदी तर्ने लालझाडीवासीको एउटै प्रश्न- पक्की पुल कहिले ? « Khabarhub

पैसा तिरेर नदी तर्ने लालझाडीवासीको एउटै प्रश्न- पक्की पुल कहिले ?


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बेदकोट- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा शिक्षक हुन् ।

प्रेमाले विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिँदै आएकी छिन् । साइकलमा ओहोरदोहोर गर्ने उनले दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ । “वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ”, उनले भनिन्, “प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महिनाभरको शुल्क एकमुष्ट तिरेकी छु ।”

लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ । उनी पनि दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्ने शुल्क तिर्ने गर्छिन् । दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठे पुल भएर यात्रा गर्ने गरेको उनले बताइन् । “पक्की पुल निर्माण सुरु भएको वर्षौँ भइसक्यो, काम सकिएको छैन”, उनले भनिन्, “पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।”

स्थानीय काठे पुल प्रयोग गरेवापत साइकलको रु १० र मोटरसाइकलको रु ३० शुल्क तिर्ने गरेका छन् । लालझाडी गाउँपालिका–४ की वृद्धा सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा काठे पुल बनाएको थियो ।

दिनभर काठे पुल कुर्ने उनी नदी ओहोरदोहोर गर्नेबाट शुल्क सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएकी छिन् । “दिनमा दुई सय भन्दा बढी मानिस काठे पुल भएर नदी वारपार गर्छन्”, उनले भनिन्, “यहीँबाट आएको पैसाले घरखर्च चलेको छ ।”

सालको काठबाट फलेक जोडेरले अस्थायी पुल बनाइएको छ । उक्त पुलको टेको मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय । “वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठे पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ”, स्थानीय सेमलाल रानाले भने, “काठे पुल विस्थापित भएर पक्की पुलमा आउजाउ गर्ने हाम्रो सपना कहिले पूरा होला ?”

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुन्छ । मङ्सिरदेखि जेठसम्म मात्रै काठे पुलको सहायताले नदी वारपार गर्न सकिन्छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । “बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिँदैन”, उनले भनेयो, “सात महिनामात्रै काठे पुल भएर नदी वारपार गर्ने गरिन्छ ।”

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ११ : ०९ बजे

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका