रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको अपेक्षा « Khabarhub

रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको अपेक्षा


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

गण्डकी- तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा सहर पस्न थालेपछि गाउँ पूरै खाली हुन थालेका यहाँका स्थानीय बताउँछन् । बस्ती खाली बन्दै जाँदा यहाँको संस्कार तथा संस्कृति पनि हराउने चिन्ता थपिएको बुढापाका बताउँछन् ।

सुनसान बस्तीकै कारण विगतमा जङ्गलतिरै रमाउने बाँदर अहिले घरदैलोमा आएर सताउने गरेका स्थानीयको दुःखेसो छ । गाउँ सुन्दर भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सके सहर पसेका युवा फेरी गाउँ फर्किने स्थानीयको आशा छ । यस गाउँमा विसं २०५० सालअघिसम्म झण्डै ५०/६० घरपरिवार बस्थे । स्वच्छ हावापानीसहित हिमाल, पहाड देखिने यस सुन्दर गाउँमा अहिले मुस्किलले १५/१६ घर छन् । “सुविधाका नाममा गाउँ छाडेर सहर पस्ने रोगले यस गाउँलाई पनि छोएको छ । अहिले गाउँ पूरै सुनसान छ”, स्थानीय ७६ वर्षीय गजबहादुर गुरुङले भने ।

“पचपन्न, छपन्न सालसम्म पनि गाउँमा २५/३० घर थिए र मानिसहरु पनि बस्थे”, उनले भने, “अहिले १५/१६ घर मात्र छन् । तिनमा पनि धेरैजसो वृद्धवृद्धा बस्छन्, युवा छैनन् ।”

लाँकुरीबोट तीन सय वर्ष पुरानो गुरुङ बस्ती रहेको बताउँदै यहाँका पुर्खा क्होलासोँथरबाट आएका उनले जानकारी दिए । उनका अनुसार क्होलासोँथरबाट खिलाङ, पर्वत भोक्सिङ देउराली, स्याङ्जा लामादी हुँदै पुर्खा यस ठाउँमा आएर बसोबास गरेको इतिहास छ । लाँकुरीबोट गाउँको सिरानमा रमाइलो थुम्को छ । स्थानीयले यसलाई थुम्कोडाँडा भन्दै आएका छन् ।

समुद्री सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस डाँडाबाट अन्नपूर्ण, धवलागिरिलगायत शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । हिमाली दृश्यका साथै बरसाम्मी, बर डाँडागाउँ, बरमाझथरलगायत पहाडी भूभाग पनि यहाँबाट देखिन्छ । थुम्कोडाँडालाई यहाँका स्थानीयले धार्मिकरुपमा पनि उत्तिकै महत्वपूर्ण मान्दछन् ।

यहाँ रहेको ज्वालादेवीको मन्दिरमा साक्षात् शक्ति रहेको विश्वास गरिन्छ । स्थानीयले ज्वालादेवीको संरक्षणलाई जोड दिँदै आए पनि अहिले लेफ्टिनेन्ट ओमप्रकाश गुरुङ (एमविइ) को सहयोगमा व्यवस्थित मन्दिर निर्माण गर्न थालिएको छ । कूल रू ११ लाख ५६ हजार दुई सय लागतमा मन्दिर निर्माण हुन लागेको हो । मन्दिर निर्माणको क्रममा केही दिनअघि सिन्धुलीका कमरलाल धामीले यहाँस्थित शिलामा चरचर आवाजसँगै बिजुली चम्किएको प्रत्यक्ष देखेको अनुभव सुनाए ।

“शिलामा आएको आवाजसँगै बिजुली चम्किएको देख्दा सुरुमा त डर लागेको थियो”, उनले भने । थुम्कोडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न पूर्वाधारका काम भइरहेको तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङले जानकारी दिए । “हामी यस क्षेत्रको पर्यटकीय विकासका माध्यमबाट गाउँ छोड्नेलाई पनि फर्काउने अभियानमा लागेका छौँ”, उनले भने । स्थानीयको सक्रियतामा थुम्कोडाँडामा तमु हिलपार्क निर्माण थालिएको उनले बताए ।

हिलपार्कका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको गुरुङले जानकारी दिए । उनका अनुसार डिपिआरमा गुरुङ संस्कृति सङ्ग्रहालय, बुद्ध प्रतिमा निर्माण, गोर्खा राइफल स्मृति पार्कलगायतका विविध संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । “हाल शुक्लागण्डकी नगरपालिकाको सहयोगमा रू २० लाखको लागतमा क्वोँइबो निर्माण भइरहेको छ । थुम्कोडाँडामा जानका लागि प्रदेश सरकारको सहयोगमा रू १० लाखको लागतमा प्रवेशद्वार निर्माण भइरहेको छ”, गुरुङले भने ।

तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) यहीँ भएर जाने भएकाले यसलाई पदयात्रा पर्यटनसँग पनि जोड्ने लक्ष्य राखिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महसचिव हर्क गुरुङले बताए । “पदमार्गमा पर्ने ऐतिहासिक महत्वका गाउँलाई हामीले मिलेनियम ट्रेकको नक्सामा समावेश गरेका छौँ”, उनले भने, “निर्माणाधीन तमु हिल पार्कलगायत पूर्वाधारले यहाँ पर्यटको आकर्षण बढाउन सक्ने देखिन्छ ।”

राम्रो पर्यटकीय विकास भएमा गाउँ छोडेर सहर पसेका पुनःगाउँमा नै फर्कने वातावरण तयार हुने विश्वास लिइएको उनले बताए । पछिल्ला समयमा रमणीय बस्ती सुविधाको खोजीमा उजाडिँदै जानु चुनौतीका रुपमा देखिएको सह प्रा डा रामजीप्रसाद पोखरेलले बताए । गाउँ छोडेर गएकालाई फर्काउनुका साथै अन्य स्थानका मानिसलाई बस्तीमा आउने गरी आकर्षित गर्ने वातावरण तयार गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ३८ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु