बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर | Khabarhub Khabarhub

बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बागलुङ– वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् । 

सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन् । गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छोडे । गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्याइदिएपछि घोडा खच्चडको आवश्यकता पनि किन होस् र ? तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधान नै घोडा खच्चड बनेका छन् ।

डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्धरूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो । टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएका खच्चड हिउँदको समय कामविहीन हुन्छन् । स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । तर यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोरलगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छन् । हिउँदको समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन् ।

केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत सामान ओसारपसार गरिरहेका छन् । हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुसी भएका छन् ।

चौतीस वर्ष खच्चड व्यवसाय गरेका स्थानीय तुलबहादुर विकले १२ वर्ष अगाडिसम्म सामान ढुवानी गर्ने गर्थे । सत्रवटा खच्चडमार्फत सामान ढुवानी गर्दा वर्षमा पाँच लाख बढी आम्दानी गर्ने उनले अहिले २० हजार कमाउन मुस्किल पर्ने बताए ।

गाउँको टोलटोलमै सडक पुगेपछि घोडा खच्चड कामविहीन बनेको विकले बताए । हिउँदभर दान, घाँस पानी खुवाएर पाल्न गाह्रो भएको भन्दै आठवटा खच्चड सित्तैमा बेचेको सुनाए। पहिले एउटा खच्चडको ५० हजारभन्दा बढी पर्ने गरेको स्मरणसमेत विकले गरे । अहिले मलबाहेक घोडा खच्चडबाट फाइदा नभएको उनको भनाइ छ ।

गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा, खच्चडको प्रयोग गर्ने गरेको खच्चड व्यवसायी मङ्गले परियारले बताउँछन् । उनले अहिले खच्चडको काम नहुँदा पाल्नसमेत गाह्रो हुन थालेको गुनासो गरे । पहिले घोडा खच्चड हुने मान्छे निकै धनी मानिने गरेको जनाउँदै अहिले गरिबले मात्रै खच्चड पाल्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘पहिले यसको तीन–चार ठाउँ पसल हुन्थ्यो, उसैको घोडा खच्चड हुन्थे, गरिबले मात्रै खच्चड पाल्छ, उतिबेला गरिबले घोडा खच्चड किन्न सक्दैनथे, साहु महाजनले मात्रैको हुन्थ्यो, अहिले त फ्रिमा कसैलाई लैजाभन्दा पनि कसैले लग्दैनन्, न काटेर मासु खान मिल्ने, न पालेर फाइदा, मार्न भएन, जसोतसो पाल्नुको विकल्प छैन, बर्खामा दुई दिन भारी बोकेर के आम्दानी हुन्छ ?, वर्षभरि नभए पनि छ महिना काम गर्न पाउने भए पनि धेरै सजिलो हुने थियो, काम सबै गाडीले गर्छन्, के को खच्चडलाई काम दिउन् ।’

बर्खा लागेपछि तमानखोलानिसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएका ठाउँमा व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्ने गर्छन् । बर्खामा ग्रामीण सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए ।

शाखा सडकका कारण लोकमार्गसमेत बेलाबेलामा अवरुद्ध हुने गरेको उनले बताए । मुख्य सडकलाई जसोतसो अवरुद्ध हुँदा बित्तिकै खुलाए पनि शाखा सडक असोजपछि मात्रै खुलाउने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ०५ बजे

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

महेन्द्रनगर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

धनुषा– वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न

कालोपत्रे भन्दा बाहिर राइट शेयरिङ गर्नुहुन्न : अध्यक्ष खनाल

काठमाडौं– सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनालले कालोपत्रे

ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा