विद्युतगृह बाढीले बगाएपछि अन्धकारमा बस्न बाध्य याम्फुदिनका स्थानीय | Khabarhub Khabarhub

विद्युतगृह बाढीले बगाएपछि अन्धकारमा बस्न बाध्य याम्फुदिनका स्थानीय


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युतगृह बगाएपछि याम्फुदीन पूरै अन्धकार भएको हो ।

तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) बाढीले पूरै बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए । गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युतगृहमा समेत क्षति पुगेकाले अहिलेमा विजुली छैन ।

सिरिजङ्गा गाउँपालिका–८ गाउँलाई याम्फुदीन भनेर चिनिन्छ । यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् । दुई विद्युत्गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो । गत शुक्रबार दुईवटा विद्युतगृह बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार विनोद उरावले बताए । 

विद्युतगृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ । विद्युतगृह बाढीले बगाएपछि पावर आपूर्ति नहुँदा याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुगेको वडाध्यक्ष गुरुङले बताए । मोबाइल सेवासमेत अवरुद्ध हुँदै आएको गुरुङले बताए। 

याम्फुदीनमा रहेको पाँच कार्यालय र पाँच घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएका छन् । काबेली खोलामा वर्षासँगै आएको बाढीले उच्च जोखिम रहेको कार्यालय र घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । 

सिरिजङ्गा गाउँपालिका–८ का वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्यचौकी, विद्यालय र कञ्चनजङ्गा संरक्षण क्षेत्रको कार्यालयलाई सुरक्षित स्थान स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए। त्यस्तै उच्च जोखिम पाँच घरपारिवारलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चोम्जोङले बताए।

सिदिङवा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्षा भएकाले खोला तर्न नसकिने अवस्था भएको छ । बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सुदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताए। उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावाखोलामा निर्माण गरेको मोटरेबल पुलको एक साइडको पिलर बगाएसँगै यातायाताका साधन आवतजावत ठप्प भएको उपाध्यक्ष कडरियाले बताए । धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ ।

बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङ्वा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालय प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो । 

‘विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्’, प्रधानाध्यापक यज्ञमणि पौडेलले भने, ‘सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबारदेखि अहिलेसम्म एक क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ ।

सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले सडक अवरुद्ध र खोला बढेपछि झापाको बिर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँबाट निकाल्ने उपाय नभएको राईले बताए। सिदिङ्वा र सिरिजङ्गामा गत वर्षको बाढी पहिराले मानवीय तथा भौतिक क्षति गराएको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : २३ बजे

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

 काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले

आजका समाचार : सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली स्पेनतिर र ट्रम्पलाई अमेरिकी सर्वोच्चको साथ

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा पूर्वराष्ट्रपति विद्यादेवी

पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न

दोलखा– चालु आर्थिक वर्ष सकिन लाग्दा पूर्वाधार विकास कार्यालय दोलखा