२५ वर्षीया फिल्म निर्माता विसन ओडाले संयुक्त राष्ट्र सङ्घमा महिलाको मुद्दामा आवाज उठाउने गरेकी छिन्। फिल्म डकुमेन्ट्री बनाउने उनको धैर्यताको बाँध टुट्ने अवस्थामा आइसकेको छ।
आफ्नो जीवन समस्यामा परेपनि उनी पुरै साता सकारात्मक भिडियो पोस्ट गर्नमा नै आफूलाई केन्द्रित गर्न थालेकी छिन्।
हमासले नसोचेको ढङ्गले गरेको आक्रमणका कारण १४ सय जना इजरायलीको ज्यान गइसकेको छ। इजरायली सेनाले आफ्ना नागरिकलाई सचेत हुन तथा सेनामै आवद्ध हुनका लागि अनुरोध गरिसकेको छ।
गाजाको केन्द्रीय रिमाल सहरमा सबैलाई सो स्थान छाड्न आह्वान गरिएको छ। हिँड्ने समयमा पनि उनले सम्भव भएका सबै कुरा पोको पारेर चाँडो नै जाने तयारी गरेकी हुन्।
‘हामीलाई सुरक्षित क्षेत्रमा जानका लागि भनिएको छ,’ विसनले भनिन्। तर उनलाई यो पनि थाहा छ कि गाजामा कुनै सुरक्षित क्षेत्र नै छैन। त्यसपछि उनी गाजाको मेन सिफा अस्पतालमा पुगिन्। त्यहाँ उपचारका लागि आउनको भीड थियो। त्यसै अस्पतालको एउटा कुनामा सेल्टर बनाएर बस्नका लागि हजारौं जना यसअघि नै त्यहाँ पुगिसकेका थिए।
त्यसै रात रिमालमा इजरायलले बम प्रहार गरेको थियो। दुई सय जना हमास लडाकु त्यहाँ रहेको थाहा पाएपछि इजरायली सेनाले बम प्रहार गरेको हो। त्यसै दिन इजरायली रक्षा मन्त्री युभ गालान्टले गाजालाई घेराबन्दी गर्न निर्देशन दिए। त्यहाँ खाने कुरा र पानीको आपूर्ति रोक्नका लागि निर्देशन दिए।
उनले तीन दिनमा पहिलो पटक सफा पिउने पानी पाएको दृश्य पोस्ट गरेकी हुन्। पोस्ट गरिएको भिडियोमा उनले बोतल खोलिरहेको देखाइएको छ। एक साता पछि उनी सुतेकी हुन्।
उनी जहाँ रहँदा पनि भाग्नका लागि तयार छिन्। उनले लुगा, टुथ ब्रस र पेस्टसँगै राखेका थिए। त्यहाँ अहिले बत्ती काटिएको छ। विसनको परिवार भने भाग्यमानी छ।
उनीहरूको साथमा अहिले सानो एउटा जेनरेटर पनि छ। दिनको दुई घण्टा यसलाई चलाउने गरिन्छ। तर, जेनरेटरका लागि पनि इन्धनको समस्या त नभएको कहाँ हो र ?
शुक्रबार त्यहाँबाट पनि इजरायली सेनाले अन्यत्र कतै जान भनेको थियो। त्यस स्थानमा दक्षिणतर्फ जाँदै गरेका उत्तर तर्फका हजारौँ प्यालेस्टाइनी बसोबास गरेको जनाइएको छ।
सिफा अस्पतालको जमिनमा बसिरहेको समयमा आकाशबाट इजरायली सेनाले सेतो पर्चा छरेको हुन्छ। यी हरेक चर्चामा सावधानी र चेतावनीको कुरा उल्लेख गरिएको हुन्छ।
अहिले इजरायलले जमिनमै आक्रमण गर्ने योजना थाहा भएपछि हजारौँ जना प्यालेस्टाइनीहरु उत्तरबाट दक्षिणतर्फ गइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ। विसनको अनुमान यो हो कि त्यहाँबाट दक्षिण तर्फ गएपछि कहिले पनि उत्तर फर्कने सम्भावना नै छैन।
हमासले एक हजार तीन सय जनाको ज्यान लिए पछि सञ्चारकर्मीलाई गाजामा प्रवेश निषेध गरिएको छ। त्यहाँ भित्र वार्तालाप त कठिन छ। विसन मुस्किलले सञ्चार माध्यमको सम्पर्कमा आएकी हुन्। अन्यका लागि त यो पनि कठिन काम हो।
उनको भिडियो ब्लग नै एक साताको गाजाको जीवन बुझ्न पर्याप्त हुने छ। एक इन्सटाग्राममा विसनका १ लाख ८० हजार फलोअर छन्।
अहिले गाजामा हरेक दिन र हरेक समय सयौं कथा लेखिएका छन्। दुखका कथा छन्। रोदन र पीडाका कथा छन्। यसैबिच केही मानवताका कथा पनि त्यसै गाजामा लेखिएको छ।
त्यसो त उत्तरबाट दक्षिणको भागदौडमा दृश्य पनि अचम्मको छ। कारमा जानका लागि कसैसँग इन्धन छ, कसैसँग छैन। धेरैको घरमा गाडा छन् तर गाडामा पाङ्ग्रा नै छैनन्। जसोतसो मानिसहरू ज्यान जोगाउन हिँडिरहेका छन्। बाटो भरिएको छ। हमासकै अनुसार ११ लाख उत्तरी गाजाका मानिसहरू मध्य अहिले चार लाख दक्षिणी गाजा तर्फ गइसकेका छन्।
सिङ्गो संसारको ध्यान अहिले त्यहाँ आकृष्ट छ। गाजाको सुरक्षामा चासो छ। तथापि गाजामा सुरक्षित स्थानको अभाव छ। त्यसो त उत्तरमा आउनेहरूको कथा पनि बिजोग कै छ। बारम्बारको लडाइँ र झगडाका कारण भागदौडमा जिन्दगी बिताउने उनीहरू मध्येका धेरै जना सन् २०१४ मा पूर्वबाट उत्तरी क्षेत्रमा पुगेका थिए। त्यस समयमा पूर्वी क्षेत्र सबैभन्दा असुरक्षित थियो।
अहिले गाजाको अस्पतालमा अभाव मच्चिएको छ। उपचारको समस्या सुरु भइसकेको छ। त्यसो त अस्पताल शान्त हुनुपर्ने त्यो भएको छैन। गाजा क्षेत्रमा आक्रमण सुरु भएयता अन्तर्राष्ट्रिय कानुनको कारण पनि अस्पताल सुरक्षित ठानिएको छ। रोगको उपचार गरेर ज्यान बचाउन पुगिने अस्पतालमा मानिसहरू बमबाट बच्नका लागि पुग्न थालेका छन्।
चिकित्सकहरू यो सबै दृश्य देखेर आजित भएका छन्। उनीहरूको कथन पनि प्रस्ट छ बिमारीलाई आवश्यक कुरा उपलब्ध गराउन कठिन भएको अवस्थामा शरणार्थीलाई कसरी उपलब्ध गराउने ? अहिले अस्पताल पनि अभावका कारण छटपटाउन थालेपछि गाजा क्षेत्रमा कुनै सुरक्षित स्थान नै देखिएको छैन। स्रोतः बीबीसी
प्रतिक्रिया