लमजुङमा सुन्तला उत्पादन घटेपछि किसान निराश  « Khabarhub

लमजुङमा सुन्तला उत्पादन घटेपछि किसान निराश 


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ– अन्य वर्षको तुलनामा केही वर्षयता लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरू निराश भएका छन् । सुन्तलाको उत्पादन मात्रै नभएर सुन्तला बगैँचामा पनि कमी आएको छ । सुन्तला किसानहरूले व्यापारीसँग राम्रो मूल्यमा सुन्तला बिक्री गर्दै आएकामा केही वर्षयतादेखि सुन्तला उत्पादनमा कमी आएपछि किसानहरू निराश भएका हुन् ।

साबिकको कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत गरिएको बेँसीसहर नगरपालिका-११ चिती स्याउत गाउँमा अहिले सुन्तला बगैँचा मात्र देख्न सकिन्छ । कुनै समय सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी स्थानीय किसान भगवतीले पहिला-पहिला सुन्तला बिक्रीबाट वार्षिक छ लाखदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्थे। तर केही वर्षदेखि उनको भने बगैँचामा कीरा लाग्ने र बोट सुक्दै जाने गरेकाले यस वर्ष ४०-५० हजार रुपैयाँ मात्रै आम्दानी भएको बताउँछन् ।

त्यस्तै, स्याउत गाउँकै रमेशराज पन्तको व्यथा पनि उस्तै छ । विसं। २०३५ बाट सुन्तला खेती सुरु गरेका उनले विगतमा २७ रोपनीमा सुन्तला खेती गरेका छन् । उनले वार्षिक तीन-पाँच लाख रुपैयाँ सजिलै आम्दानी गर्दै आएका थिए । तर २०६२ वैशाख ८ गते ठूलो असिनापानीले नौ सय बोट मर्नका साथै अन्य बोटहरूमा पनि रोग लाग्न थालेपछि उत्पादन घटेको बताउँछन्  ।

उनका अनुसार पहिला उत्पादन बढी भए पनि कम रकममा बिक्री हुन्थ्यो । अहिले धेरै बोट मरिसके, पहिले जसरी उत्पादन हुने भए अहिले वार्षिक ४०-५० लाख आम्दानी हुने पन्तको भनाइ छ । उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या यस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका  कारण आम्दानी घटेपछि चिन्तित भएका छन् । १२ देखि १४ वर्षमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगाहरू सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने समस्या आउने गर्दछ । तर समस्याको समाधान गर्न नसक्दा गाउँभरिका सुन्तला बारी सखाप हुन थालेको स्याउत गाउँका किसानहरू बताउँछन् ।

कत्लेकिरा, पतेरो लगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन, ग्रिनिङ भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोट जस्ता काममा सुन्तला किसानहरूले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ मदन रेग्मीले बताए ।

साबिकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत गरेको साबिक चितिको स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारको लामासोती, भोटेओडार, उदिपुरको घिमिरे, गाउँसहर, लगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैँचा मासिँदै गएको किसानहरू बताउँछन् । लमजुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन लगायतका सहर बजारमा राम्रो खपत हुने गरेको छ । तर अहिले उत्पादनमा कमी आएपछि जिल्लाकै लागि पनि उत्पादन अपुग भएको किसानहरूको भनाइ छ ।

यतिबेला प्रतिकिलो एक सय २० देखि एक सय ५० मा सुन्तला बिक्री वितरण हुँदै आएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार यस चालू आर्थिक वर्ष जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतीबाट पाँच सय २५ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७८-७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुई सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । 

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ५९ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह