विदेशबाट फर्केर व्यावसायिकरुपमा बाख्रा पालन « Khabarhub

विदेशबाट फर्केर व्यावसायिकरुपमा बाख्रा पालन


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

देउखुरी– घोराही-६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पालेका छन् । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाएका उनले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बनेका हुन् । पहिले दुबईमा पाँच वर्ष र त्यसपछि मलेसियामा पाँच वर्ष बसेका बुढामगरले कोरोनाका कारण मलेसियाको कम्पनीमा काम कम रोकिएपछि नेपाल आएको बताए।  

रोल्पा नगरपालिका-७ घापाबाट दाङको घोराही उपमहानगरपालिका-६ मा १६ वर्षअघि बसाइँ सरेर आएपछि  श्रीमती रामकुमारी थापाले घर खर्च चलाउन चारवटा बाख्रा पाल्दै आएकीमा दुई वर्षअघि ती बाख्रासहित अन्य बाख्रा थपेर व्यावसायिकरूपमा अगाडि  बढेको बुढामगरले जानकारी दिए । 

अहिले उनका खोरमा ४६ वटा  बाख्रामध्ये २४ माउ, १३ पाठापाठी, सात खसी र दुईवटा बोयर बोका छन् । बाख्रा पाल्नका लागि १० लाखको  लागतमा  तारजालीले बारेर  व्यवस्थित खोर बनाइएको छ । दिउँसो बाहिर घाममा र बिहान बेलुका भित्र दुई ठाउँमा बाख्रा राख्ने खोर छन् । दाना खानलाई डुँड पनि व्यवस्थित बनाइएको  छ । कतैबाट सहयोग भएमा एक सय वटासम्म बाख्रा पाल्ने उनको रहर छ । 

‘युट्युबमा बाख्रा पालेको देखेको थिए त्यहाँ फाइदा भएको मात्रै देखाउने रैछ’, बुढामगरले भने, ‘त्यही देखेर बाख्रा पालनमा जोडिएको हुँ काम गर्न अलि गाह्रो हुने रैछ । बाख्रालाई दाना, घाँस र पराल सबै किनेर खुवाउने गरेको छु, बजारको दाना खुवाउँदिन ।’ मकै र धान खरिद गरेर राखेको र  घरमै सानो मिनी मिल रहेकाले त्यसैमा पिसेर दाना बनाउने गरेको र यस काममा आफूलाई श्रीमतीले सघाउँदै आएकीले सजिलो भएको उनले उल्लेख गरे ।

 फार्ममा स्थानीय स्तरमा पाइने जातका  सहित जमुना पारि, खरी, बोएर सबैजातका बाख्रा छन् । सबै आफ्नै लगानीमा काम गर्दा बेलाबखत पैसाको समस्या पर्ने रैछ । सरकारी अनुदान पाउन त साह्रै गाह्रो हुने रैछ । किसानका लागि बोलिदिने कोही नहुँदो रैछजस्तो लागेको उनको गुनासो थियो  । 

एउटा खसी  तयार हुन एक वर्ष लाग्छ । तयार भएको खसी २५ हजार देखि ४० हजारसम्ममा बिक्री हुने गरेको छ । जिउँदो खसी किलोको रु छ सयका दरले बिक्री हुने गरेको बुढामगरले बताए ।  चैत÷वैशाखमा बिक्रीका लागि आठवटा खसी तयार हुँदैछन् । हतारमा प्रतिफल नपाइने रैछ, अझै प्रतिफल पाउने समय नआएको जस्तो लागेकाले धैर्य गरेर प्रतिफलको प्रतीक्षामा रहेको उनको भनाइ थियो ।  

‘तेह्र कट्ठा जमिनमा मकै चरी, जै बरसिम घाँस छरेको छु दाना, पानी र घाँसको आपूर्ति सजिलै भएको छ’, बुढामगरले भने , ‘गत वर्ष दुई लाख ४० हजार बराबरको बाख्रा बिक्री गरिए पनि अझैसम्म  नाफामा गइसकेको छैन लगानी उठाउने क्रममै रहेको छ ।’ 

यसैगरी घोराही-२ अघर्रेका गोविन्दहरि भण्डारीले पनि आफ्नै घर छेउमा राप्ती बोयर बाख्रा फार्म खोली  व्यावसायिकरुपले बाख्रापालन गर्दै आउनुभएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातकसम्म अध्ययन  गरेका उनले पाँच वर्ष जापानमा बसे पनि  चार वर्ष अघिदेखि आफ्नै घर छेउमा व्यावसायिकरूपले बाख्रा पाल्न सुरु गरेको जानकारी दिए । घरमा बाबाआमाले पालेका पाँचवटा बाख्राबाट सुरु गरिएको उनको फार्ममा अहिले ५० वटा  बाख्रा छन् ।  २५ लाख लगानी गरेर खोर बनाइएको र  १० कट्ठा जमिन वर्षको दुई हजार दिने सर्तमा भाडामा लिएर घाँस खेती पनि गरिएको भण्डारीले जानकारी दिए। 

व्यवसाय सानो ठूलो केही नभनी आफ्नै भूमिमा घर परिवारसँग बसेर काम गर्नुपर्नेमा जोड दिएका उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले किसानमुखी कार्यक्रम ल्याएर सहयोग गरेमा आफूजस्ता वास्तविक किसानलाई राहत हुने अपेक्षा गरे । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : ३९ बजे

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती

विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको तयारी

काठमाडौं- आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान

मस्को क्षेत्रमा ड्रोन आक्रमण : ३ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी– रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार बिहान भएको ठूलो

बजेट खर्चमा लुम्बिनी सरकार कमजोर, खर्च प्रगति ४० प्रतिशतभन्दा कम

सिद्धार्थनगर– चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश