बेवारिसे बन्यो गठबन्धन सरकार | Khabarhub Khabarhub

बेवारिसे बन्यो गठबन्धन सरकार

सत्ता गठबन्धनकै नेता तयार छैनन् सरकारको स्वामित्व लिन



काठमाडौं – पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षसम्म किन प्रभावकारी काम गर्न सकेन ? यो प्रश्न सोध्यो भने प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ हुन्छ- मेरो एकल बहुमत छैन, म त ३२ सिटे हुँ । तपाईहरुलाई थाहै छ, सबैलाई मिलाएर लानुपरेको छ । अर्थमन्त्रालय पनि कांग्रेसकै हातमा छ…. ।

यही प्रश्न कांग्रेसका नेतालाई सोध्यो भने उनीहरु जवाफ दिन्छन्- सरकारको नेतृत्व हाम्रो हातमा छैन । प्रधानमन्त्री माओवादीसँग छ, गृहमन्त्रालय पनि माओवादीकै हातमा छ…. ।

सत्तापक्षकै अर्को घटक जसपाका अध्यक्ष उपेन्द्र यादवको तर्क छ- यो सरकारले राम्रो काम गर्न सकेन, हामीले त सहयोग मात्र गरेको हो, हाम्रो हातमा सरकारको नेतृत्व छैन । यस्तै पारा हो भने यो सरकारको काम छैन ।

सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी पनि सरकारसँग असन्तुष्ट छ । माधवकुमार नेपालले सरकारलाई ज्ञापनपत्र नै बुझाइसकेका छन् ।
आखिर कसैले जिम्मा नलिने यो सरकार होचाहिँ कसको ? के यो सरकार बेबारिसे हो ?

सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै सत्तापक्षबाटै आलोचना भइरहेको छ । सरकारको कामप्रति गठबन्धनका नेताहरू नै खुसी छैनन् । प्रतिपक्षमा रहेको नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको त सरकारको कडा आलोचना गर्नु धर्म नै हो ।

कांग्रेसको असन्तुष्टि

सरकारमा भएको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नै सरकारको कामप्रति सन्तुष्ट छैन । पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले यो सरकारले सुशासन कायम राख्न नसकेको भन्दै कडा आलोचना गरिरहेका छन् । थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौँ भनेर कांग्रेसले भन्नुपर्ने बताएका छन् ।

शनिबार पाल्पामा आयोजित कार्यक्रममा थापाले भने, ‘यो एक वर्षभित्र धेरै काम हुन सकेन, तपाईँसँग मौका छ, ‘यत्तिको स्थिरता हुँदै गर्दा, यत्तिको अनुकूलता हुँदै गर्दा गर्नुपर्ने काम तपाईँ गर्नुहुन्छ भने तपाईँलाई प्रधानमन्त्रीका रूपमा राखिराख्छौँ, तपाईँलाई मद्दत गरिराख्छौँ, तपाईँ काम गर्न सक्नुहुन्न भने सिंहदरबारबाट खुमलटार पु¥याउँछौँ भनेर भन्न सक्नुपर्छ ।’

यस्तै अर्का महामन्त्री शर्माले पुस १ गते बागलुङमा भनेका थिए, ‘अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ, शर्माले भने, ‘सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको कामको समीक्षा गर्नेछौँ, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।’

प्रतिनिधि सभामा कांग्रेसको ८९ सिट छ । तर ३२ सिटको माओवादीले चलाएको सरकारमा बस्नुपर्ने भएकाले कांग्रेसको नयाँ पुस्ता गठबन्धन सरकारप्रति खुसी नै छैन ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल गगन थापालाई सरकार असफल भएको लागे सभापति देउवालाई आफ्ना पक्षका नेता फिर्ता बोलाउनु भन्न सक्नुपर्ने र दबाब दिनुपर्ने बत्ताउछन् । ढकाल खबरहबसँग भन्छन्, ‘गगनजीले बाहिर माहोल बनाएर मात्र हुँदैन । महामन्त्रीजस्तो मान्छेले सिधै गएर आफ्नो सभापतिलाई सरकारबाट हामी बाहिर निस्किऔं भन्न सक्नुपर्छ । गगनले जनतालाई उल्ल्याउने मात्र काम गरेको देख्दैछु ।’

कांग्रेस सभापति शेरबहादुर देउवा भने चुपचाप छन् । खासमा कांगे्रसमा देखिएको गुट र उपगुटका कारण एक पक्ष बोल्ने र अर्को पक्ष चुप लाग्ने प्रवृत्ति देखिएको छ ।

हाल सरकारको महत्पूर्ण मन्त्रालयमा कांग्रेस संस्थापन पक्षका नेता हाबी छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत र रक्षामन्त्रीमा पूर्णबहादुर खड्का छन् । उनीहरू दुवै संस्थापन पक्षका हुन् । हुन त कांग्रेसबाट अन्य मन्त्रीहरू पनि छन् तर उनीहरु देउवाकै विश्वासिला पात्र मानिन्छन् । उनीहरुले सरकार छोडौं भन्ने कुरै भएन ।

माओवादीमा खटपट

माओवादी केन्द्रका महासचिव देव गुरुङ सरकारले गरेको काम कारबाही सही र व्यावहारिक भएको दाबी गर्छन् । गुरुङ भन्छन्, ‘अहिलेको परिस्थितिको सापेक्ष सरकार सफल छ । वर्गीय समाजमा विविधता हुन्छ । कसैले राम्रो भन्ने कसैले नराम्रो भन्नु स्वाभाविक हो । अहिलेको संविधान कानुन प्रचलित संयन्त्र हेर्दा र सरकार संसद् परिभेषमा हेर्दा सापेक्षिक रूपले सरकार हो ।’

तर, गठबन्धन भत्कने गाइँगुइँ हल्ला छ नि भन्ने प्रश्नमा गुरुङले भने भने, ‘भन्न त जे पनि भन्छन् तर त्यस्तो अवस्था छैन । गठबन्धन सुरक्षित छ । टुट्ने फुट्ने कुनै सम्भावना छैन ।’

देव गुरुङले सबै ठिकठाक रहेको दाबी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मंसिर २० गते पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीको सल्लाहकारमा करिब १० महिना काम गरेका थिए । गजुरेलले प्रचण्डसँग असन्तुष्ट भएर राजीनामा दिएका हुन् ।

के कारण राजीनामा दिनुभयो भन्ने प्रश्नमा गजुरेलले खबरहबसँग भने, ‘प्रष्ट छ त । नीतिगत कुरामा मेरो असमति हो । यसबारेमा के बोलिराख्नु छ र ? सरकारलाई काम गर्ने दिशामा लैजान वातावरण अहिले छैन । सबै कुरा पार्टीको मिटिङमा छलफल हुन्छ ।’

दुबै समाजवादी दल रुष्ट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सरकाको कामप्रति कडा आलोचना गरिरहेका छन् । उनले केहीदिन अघि खबरहबसँगको अन्तरवार्तामा भनेका थिए, ‘सरकारले आफ्नो काम कारबाहीमा सुधार गर्नुपर्छ । दुईवटा कुरामा ध्यान दिनुपर्छ । एक– यो मुलुक बनाउने सोचको विकास गर्नुपर्छ र योजना बनाउँदाखेर सबै पक्षलाई ध्यान दिनुपर्छ । एकलकाँटे भएर काम छैन ।’

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले त खबरहबसँगको अन्तरवार्तामा यस्तै पारा हो भने यो सरकारको औचित्य नभएको बताएका छन् ।

प्रतिपक्षी के भन्छ ?

प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार कुनै पनि कोणबाट सफल नभएको बताएको छ । एमाले महासचिव शंखर पोख्रेल यो सरकार पूर्णरूपमा असफल भएको बताउँछन् ।

एमाले महाकाली मेची अभियानमा रहेका पोख्रेलले भने, ‘सरकार राष्ट्रिय हितका प्रश्नमा विकाश र समृद्धिमा प्रश्नमा, आर्थिक अनुशासनका प्रश्नमा, जनतालाई सेवा प्रवाह गर्ने प्रश्नमा सबैतिर पूर्णतः असफल छ । असक्षम देखिएको छ ।’

सरकारको विकल्पको विषयमा पनि केही होमवर्क गरेको हा भन्ने प्रश्नमा एमाले महासचिव पोखरेल भन्छन्, ‘छैन । हाम्रो चासो अहिले यसमा छैन । हामी मिसन ८४ भनेर लागिरहेका छौँ । अहिलेको सरकारमा रहेर जनताको अपेक्षा पूरा गर्न सकिन्न भनेर हामीले बुझिसकेका छौँ ।’
पोखरेलले सरकार सफल भयो भनेर सरकार पक्षकै पार्टीहरूले भन्न नसकेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी अहिले प्रतिपक्षीको बेन्चमा छ । उसले पनि गठबन्धनको सरकार असफल भनिरहेको छ । रास्वपा महामन्त्री मुकुल ढकाल भन्छन्, ‘सरकार सरासर असफल भयो । यो कुरा जनताले पनि भनेका छन् । हामीले बोल्नुपर्दैन ।’

विश्लेषक के भन्छन् ?

श्रेष्ठले खबरहबसँग भने, ‘जाजरकोटमा गएको भूकम्पमा सरकारले जे काम गरेको छ, त्यो राम्रो छ । अघिल्लो सरकारसँग दाँज्दा यो सरकारले छिटो काम गरेको छ । राम्रो कामलाई राम्रो भन्ने र खराबलाई खराब भन्नुपर्छ । हामीले समालोचनात्मक आँखाले हेर्नुपर्छ । सरकारले दुवै पक्षमा रहेर काम गरेको छ । हामी नेपाली चाहान्छौं, सरकारले सबै राम्रा मात्र काम गरोस् । यसका लागि सच्चिनुपर्छ ।’

गठबन्धनको सरकार भएकाले काम गर्न असहज भएको प्रधानमन्त्री दाहालको तर्कसँग राजनीतिक विश्लेषक श्याम श्रेष्ठ सहमत छैनन् । भारतमा मनमोहन सिंहले १० वर्ष गठबन्धन सरकार चलाएका बेला निकै प्रगति र सुशासन कायम भएको श्रेष्ठ सम्झना गर्छन् ।

सत्ता पक्षकै नेताहरू सरकारको आलोचना गर्दै फेरि सरकारमै बसिरहनु गैरजिम्मेवार भएको श्रेष्ठको तर्क छ । गठबन्धनमा रहेका दलले सरकारमा बसेपछि कि कामको बारेका जिम्मेवारी लिनुपर्ने, कि त बाहिरिनुपर्ने उनी बताउँछन् । श्रेष्ठ भन्छन्, ‘सत्तामा रहेका दलले नै सरकारको काममा विमति जनाउनु जनताका अगाडि साखिल्लो हुने प्रवृत्ति हो ।’

प्रधानमन्त्रीले मात्र चाहेर पनि सरकार सफल नहुने प्रधानमन्त्रीको सचिवालयको गुनासो छ । प्रधानमन्त्रीलाई जति साथ दिनुपर्ने थियो, गठबन्धन दल र कर्मचारी प्रशासनबाट पनि पाउन नसकेको सचिवालयका कर्मचारीहरु बताउँछन् ।

तर, राजनीतिक विश्लेषक इन्द्रा अधिकारीको विचारमा सरकार कसरी चलाउने भन्ने जिम्मेवारी प्रधानमन्त्रीकै हो । उनी भन्छिन्, ‘सरकार कसरी चलाउने भन्ने कुरा नेतृत्व लिइरहेको मान्छेको हातमा हुन्छ । कसरी अगाडि बढाउने र कस्ता कामहरू गर्न मन्त्रीहरूलाई अह्राइ खटाइ गर्ने भन्ने कुरा प्रधानमन्त्रीको भएकालेसरकार सफल बनाउन प्रधानमन्त्रीकै बढी जोड हुनुपर्छ । यसको सम्पूर्ण जबाफदेहिता पनि प्रधानमन्त्रीकै हुन्छ ।’

प्रधानमन्त्री दाहालले गत साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएको दिन आफूले पाएको जिम्मेवारी अन्तिम अवसर भएको बताएका थिए । तर, उनको कार्यशैली जनताको पक्षमा नरहेको विश्लेषक अधिकारीको तर्क छ ।

गठबन्धनमा भएपछि निर्णय गर्दा प्रधानमन्त्रीले छलफल गर्नुपर्ने र लाभका पदहरु पार्टीको दर्जा अनुसार वितरण हुनुपर्नेमा जोड दिँदै अधिकारी भन्छिन्, ‘गठबन्धनमा भएपछि प्रधानमन्त्रीले पनि छलफल गर्ने र जिम्मेवारी पनि मन्त्रालय अनुसार मिलाएर दिनुपर्ने कुरामा ध्यान दिनुपर्छ । पारदर्शी हिसाबले गठबन्धनमा छलफल हुनुपर्छ ।’

विश्लेषक श्रेष्ठ भन्छन्, ‘सरकारले गरेको काम कारबाहीप्रति मेरो छुट्टै कुरा छ । यसमा मेरो दुवै तर्क छ । केही यस्ता कुरा छन्, जसबाट खुसी हुने ठाउँ छैन । जस्तो- भारतीय दूतावासलाई ३० करोड रुपियाँ निर्वाचन क्षेत्रमा खर्च गर्न दिइयो । एमसीसी पारित गरेको छ । यसले नेपालीको गोडामा बञ्चरो हानेको छ । यसबाट कुनै नेपाली खुसी हुने कुरा छैन । यस्ता कुरा बेखुस हुने कुरा हुन् ।’

श्रेष्ठले खबरहबसँग भने, ‘जाजरकोटमा गएको भूकम्पमा सरकारले जे काम गरेको छ, त्यो राम्रो छ । अघिल्लो सरकारसँग दाँज्दा यो सरकारले छिटो काम गरेको छ । राम्रो कामलाई राम्रो भन्ने र खराबलाई खराब भन्नुपर्छ । हामीले समालोचनात्मक आँखाले हेर्नुपर्छ । सरकारले दुवै पक्षमा रहेर काम गरेको छ । हामी नेपाली चाहान्छौं, सरकारले सबै राम्रा मात्र काम गरोस् । यसका लागि सच्चिनुपर्छ ।’

विश्लेषक श्रेष्ठ नेपालको निर्वाचन प्रणाली नै गठबन्धन सरकार बनाउने खालको भएको बताउँछन् । अब ०८४ मा पनि बहुमतको सरकार आउने कम सम्भावना भएकाले प्रतिपक्षीले हुनेले प्रतिपक्षीको भूमिका छाड्न नहुने उनको सुझाव छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ५९ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका