काठमाडौँ– इटालीले यूईएफए नेसन्स लिग फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो ।
नेदरल्याण्ड्समा गए राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो ।
खेलको छैटौँ मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि २०औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।
खेलको ६८औँ मिनेटमा न्युजिल्याण्डका स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए । तर ७२औँ मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–१ को सहज अग्रता लियो ।
८२औं मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले खेल सकिनु अघि ८९औँ मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा पुग्यो । त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा इटाली ३–२ गोलले विजयी भयो ।