विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज भदौ २, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने

भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीहरुले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय भारतले सेनालाई थप सक्षम र सुदृढ बनाउने प्रयास गरिरहेको छ । चीनसँगको सम्बन्धमा सुधार आउन नसकेको अवस्थामा भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

सैन्य ड्रोनको सञ्चार कार्य, क्यामेरा, रेडियो प्रसारण र अपरेटिङ सफ्टवेयरमा चीनमा निर्मित पार्टपुर्जा राख्नाले सुरक्षा संवेदनशीलता जोखिममा पर्नसक्ने भारतीय सुरक्षा अधिकारीको चिन्ता छ ।

भारतीय अखबार अमर उजालाका अनुसार भारतीय सुरक्षा अधिकारीहरु यस्ता ड्रोनमा स्वदेशी पार्टपुर्जाको प्रयोग गर्दा लागत बढ्नसक्ने भएपनि त्यसलाई स्वीकार गर्ने पक्षमा छन् ।

यसअघि अमेरिकी रक्षा प्रशासन पेन्टागनले पनि चीनमा बनेका ड्रोन र ड्रोनका कम्पोनेन्टको खरिदमा प्रतिबन्ध लगाएको थियो ।

आसाम प्रहरीद्वारा चार करोडको प्रतिबन्धित औषधि बरामद
आसाम प्रहरीले रु चार करोडभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद गरेको छ ।

आसाम–त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । “लागूऔषध विरुद्धको हाम्रो अभियान जारी छ । हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ त्यहाँबाट हामीले प्रतिबन्धित ‘कफ सिरप’का ६१ हजार बोतल बरामद गरेका छौँ,” अभियुक्तविरुद्ध प्रारम्भिक कानुनी कारवाही थालिएको जानकारी दिँदै करिमगञ्ज जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक प्रताप दासले भनेका छन् ।

यसअघि पनि करिमगञ्ज जिल्लामा खोकीको प्रतिबन्धित सिरफका ३१ हजार बोतल जफत गरिएको थियो ।

भारतको मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने

भारतको पूर्वोत्तर राज्य मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने भएको छ । मिजोरममा उत्पादन हुने इसाबेल्ला वाइनलाई राज्यबाहिर पनि बिक्री गर्ने विषयमा स्थानीय वाइन उत्पादक र दिल्लीमा आधारित वितरक कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ह्नाह्लान अङ्गुर खेती एवम् प्रशोधन सहकारी संस्था र आरआर सेल्सबीच इसाबेल्ला वाइनको बिक्री एवम् वितरणका गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई लाख लिटर वाइन बिक्री गर्ने ह्नाह्लान सहकारीको लक्ष्य छ । सोही लक्ष्यअनुरुप राज्यबाहिर बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको इस्ट मोजोले उल्लेख गरेको छ ।

हालै मिजोरमको सरकारले राज्यका अङ्गुर किसानलाई सहायता प्रदान गर्न स्टेट इकोनोमिक डेभलपमेन्ट प्रोग्राम र फोस्टरिङ क्लाइमेछ रेजिलियन्ट अपल्याण्ड फार्मिङ सिस्टम ९फोकस० कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

युक्रेन मुद्दामा वार्ता गर्न पश्चिमी राष्ट्रहरू अनिच्छुक : लाभरोभ
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताएका छन् ।

रुसलाई निमन्त्रणा नगरी जेद्दा र कोपेनहेगनमा युक्रेनको विषयमा पश्चिमी राष्ट्रहरूले बहुपक्षीय बैठकहरू गरेका छन् । विदेशमन्त्री लाभरोभले इन्टरनेशनल अफेयर्स पत्रिकासँगको अन्तर्वार्तामा भनेका छन्– ‘सो छलफल युक्रेनी राष्ट्रपतिको शान्ति योजनालाई समर्थन गर्ने वातावरण निर्माण गर्न आयोजना गरिएको भनिएको छ तर रुसको बुझाइ र चाहानालाई भने पूर्ण रूपमा इन्कार गरिएको छ ।’

रुस सधैं फलदायी वार्ताको लागि तयार रहेको बताउँदै पूर्वी युक्रेनमा द्वन्द्व समाधान गर्ने उद्देश्यले कीभलाई मिन्स्क सम्झौताहरू कार्यान्वयन गराउन वर्षौंदेखि प्रयास गरेको विदेशमन्त्रीको दाबी छ ।

विशेष सैन्य कारबाहीको पहिलो दिनदेखि नै वार्ता शुरु गर्ने युक्रेनको प्रस्तावमा रुसले प्रतिक्रिया दिएको थियो तर सन् २०२२ मा पश्चिमी दबाबमा युक्रेनले वार्ता रोकेको उनको टिप्पणी छ ।

त्यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी नेतृत्वसँग कुनै पनि प्रकारको वार्ता गर्न निषेध गरेको लाभरोभको आरोप छ । पश्चिमी प्रायोजकहरूले लगातार युक्रेनलाई बिग्रदो स्थिति थप भयाबह बनाउँन दबाब दिएका छन् । अहिले युक्रेनमा रूस र पश्चिमबीच वार्ताको कुनै सम्भावना नदेखिएको पनि विदेशमन्त्रीको बुझाइ छ ।

पश्चिमी राष्ट्रहरूको वार्ताको आह्वान थकित युक्रेनी सेनालाई विश्राम दिलाउन र समय घर्काउन खेलिएको रणनीतिक चालको रूपमा मात्र रुसले बुझेको पनि मन्त्री लाभरोभले उल्लेख गरेका छन् ।

स्पेनकी राजकुमारी सेनामा भर्ना, राजा रानी भावुक
कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर देशकी राजकुमारी सेनामा भर्ना हुन आश्चर्यको विषय हो । स्पेनमा यस्तै भएको छ ।

स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएकी छिन् । जसका कारण विश्वभर यस विषयको चर्चा भइरहेको छ ।

दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्ध तालिममा सहभागी हुनेछिन् । राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।

लियोनरले तीन वर्ष सैन्य तालिम लिने निर्णय गरेकी छिन् । राजकुमारी लियोनर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्ध तालिमका लागि शाही बिदाइ गरिएको छ। राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । राजकुमारी लियोनरले आगामी तीन वर्षसम्म कडा सैन्य तालिम लिने बताइएको छ ।

रूसद्वारा युक्रेनको चेर्निहिभमाथि आक्रमण, पाँचको मृत्यु 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी शहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।

कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो । 

फेब्रुअरी २०२२ मा बेलारूस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले शहरभरि मार्च गरेको थियो । पुटिनले दक्षिणी रूसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रूसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो । 

यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीडेनको भ्रमणका लागि त्यसतर्फ लागिसक्नुभएको छ । चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा भन्नुभएको छ, ‘पाँच जनाको मृत्यु भएको छ । कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन् ।’

जेलेन्स्कीका अनुसार यो आक्रमण ‘शहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ ‘पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला’ छ ।

‘एउटा सामान्य शनिबारलाई रूसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,’ युक्रेनी नेताले स्वीडेन पुगेपछि भने।

उहाँले घटनास्थलबाट एउटा भिडियो पोस्ट गर्नुभएको थियो । यसमा सोभियत कालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ, त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ ।

एएफपीका सञ्चारकर्मीहरूले तारास शेभचेन्को नाट्यशाला सङ्गीत एकेडेमी बाहिर दमकल देखेको बताएका छन् । आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ ।

ट्रम्पलाई विषाक्त पत्र पठाउने महिलालाई २२ वर्षको जेल सजाय

अमेरिकाको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ।

सो घटनामा पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छिन् । ट्रम्पलाई मार्ने उद्देश्यले पत्र तयार पारेको र आफैँले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् ।

बीबीसीका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश निकाला गरिने छ । यदि उनी पुनः फर्किएमा आजीवन निगरानीको सामना गर्नुपर्नेछ।

अदालतका न्यायाधीश फ्रेडरिकले फेरीयरलाई सजाय सुनाउँदै भने, ‘तपाइँको कार्य तपाइँ र समाजका लागि हानिकारक छ।’ दोषी पास्केल फेरीरसँग फ्रान्स र क्यानडाको दोहोरो नागरिकता रहेको समेत खुलेको छ।

एफबीआईले ट्रम्पलाई राष्ट्रपतिको दौडबाट बाहिरिन आग्रह गरेको पत्रमा उनको औंठाछाप फेला पारेको थियो, जुन विषालु थियो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : ५९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः