छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने | Khabarhub Khabarhub

छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- छठ पर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने छ । वीरगञ्जसहित तराई–मधेशमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थानलाई दुलहीझैँ सिँगारिएको छ ।

वीरगञ्ज महानगरपालिकाका पोखरीका घाटलाई दुलहीझैँ सिगारिएर पूजाको तयारी पूरा गरिएको हो । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितको पोखरीलाई छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबहरुले त्रिपाल र पण्डाल लगाएका छन् ।

यस्तै ग्रामीण क्षेत्रका जलाशयमासमेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलको रुपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन् ।

बजारमा छठी मैयाको महिमा भएका भोजपुरी र हिन्दी भाषाका गीत र घरघरमा छठी मैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् । छठ पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पर्व पनि एक मानिन्छ । जसरी दिपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठपर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताए ।

यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् । सूर्य देवतालाई पहिलो दिनको अर्घ्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ्य दिइने गरिन्छ जुन दिन उदयकालमा केही बेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठिक त्यसै अनुरुप उदयकालमा दिइने अर्घ्यका लागिसमेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ्य’ दिइन्छ ।

छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ््य’ मा दिइने परम्परा रहेको छ । हुनत सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठ पर्व मनाइन्छ । छठ व्रत गर्ने सबैजना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् ।

यही तिथिका दिनदेखि छठपर्व औपचारिक रुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरी पर्व गर्ने व्रतालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाडाँमा अरबा चामलको खिर बनाउने गरिन्छ ।

सख्खर हालेर बनाइएको खिरदेवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खिर व्रतीका साथै घरका अन्य सदस्यले ग्रहण गर्ने गरेको पण्डित शास्त्रीको भनाइ छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अर्घ्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिई उभिरहेका हुन्छन् । साँझको समयमा घण्टौँसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिङ्गारा, फलफूल, पान, सुपारी, धूप, दीप लगायतले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन रहेको छ ।

उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातिभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता श्रृष्टी सम्पूर्ण जीवको रक्षिकादेवी हुन् । प्रकृतिको छैठौँ अंश भएका कारण उहाँको नामसमेत षष्ठी रहेको छ । षष्ठीदेवीको पूजनको प्रचारप्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतक कालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठी माता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ ।

हुनत केहीले सूर्यको माता भनेर समेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरेकोले छठ पर्वको आरम्भ यसै दिनदेखि भएको मानिन्छ ।

ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । अर्को मान्यताका अनुसार छठ पर्व महाभारत कालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए ।

उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ्यय दिने गर्दथे । सूर्यको कृपाले उन महायोद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनको उत्तम स्वास्थ्यको कामना र दिर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ ।

यसैबीच तराईमा धुमधामका साथ मनाइने महान पर्व छठमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडा कुडा लगायतको समानको मूल्य दोब्बर भन्दा बढी बढेको वीरगञ्जका स्थानीयवासी मनोज साह कानुले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : १९ बजे

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०