‘टिकटकमा भिडियो हालेपछि घरमै ग्राहक आउँथे’ | Khabarhub Khabarhub

‘टिकटकमा भिडियो हालेपछि घरमै ग्राहक आउँथे’


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढीकी रोशनी ऐर (२८) ले काठमाडौंमा दुई वर्षदेखि बुटिक सञ्चालन गर्दै आएकी छन् । उनको बुद्धनगरमा ‘क्वीन अफ फेसन बुटिक’ सञ्चालनमा छ । ९ वर्ष निजी कम्पनीमा काम गरेर कुनै उपलब्धि नदेखेपछि उनले आफू बस्ने फ्ल्याटलाई नै व्यवसाय गर्ने थलो बनाइन् ।

सामान अनलाइनमार्फत बेच्ने भएकाले उनी व्यापारका लागि अन्य कुनै सटर भाडामा नलिएको सुनाउँछिन् । उनी खबरहबसँग भन्छिन्, ‘मेरो पसलमा यस्ता यस्ता सामान छन् भनेर टिकटकमा भिडियो बनाएर हाल्ने गरेकी थिएँ । सामान बेच्न भनेर पसल नै खोल्नु नपर्दा राम्रो आम्दानी भएको थियो ।’

एक लाख रुपैयाँको लगानीमा बुटिक सुरु गरेकी रोशनी व्यवसाय गर्न लागि टिकटक निकै उपयोगी भएको बताउँछिन् । उनी भन्छिन्, ‘हामीजस्ता थोरै पैसा भएकाहरुले व्यवसायका लागि पायक पर्ने ठाउँ भाडा लिन सकिँदैन । तर, टिकटकमा भिडियो हालेपछि घरमै ग्राहक आउँछन् । हामी व्यवसायीले भाडा तिर्नु नपर्दा ग्राहकले सामान पनि केही सस्तोमै पाउँछन् ।’

त्यसैगरी, घरजग्गा कारोबार गर्ने दीपक थापाले पनि सरकारले टिकटक बन्द गरेर राम्रो कन्टेन्ट उत्पादन गर्ने प्रयोगकर्तालाई अन्याय गरेको अनुभव सुनाए । टिकटक बन्द भएपछि उनले फेसबुकमार्फत आफ्नो कारोबारको विज्ञापन गर्ने गरेको बताए । तर उनलाई कुन दिन फेसबुक पनि बन्द हुने भयले सताएको छ ।

थापा भन्छन्, ‘केही प्रयोगकर्ताले दुरुपयोग गरेकै भरमा सञ्जाल बन्द गर्दै जाने हो भने केही समयपछि सबै बन्द हुन्छ । हरेक क्षेत्रमा राम्रा पक्ष र नराम्रा पक्ष छन् । नराम्रा पक्षको ससरकारले अनुगमन गर्नुपर्छ ।’

टिकटकबाट सानातिना ‘स्टार्टअप’ बिजनेसमात्रै होइन, कला क्षेत्र पनि राम्रैसँग फस्टाएको थियो । मिडियामा पहुँच नभएका मानिसहरुले टिकटमार्फत आफ्नो प्रतिभा देखाउन र विचार राख्न पाएका थिए । सूचनासँगै मनोरञ्जनका लागि पनि टिकटक प्रभावकारी बनेको थियो । तर, अचानक सामाजिक सद्भावमाथि खलल पुगेको भन्दै बन्द गर्दा सरकारले टिकटकको राम्रा पक्ष नदेखेको प्रयोगकर्ताहरुको गुनासो छ ।

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अहिले सरकारको चर्को आलोचना भइरहेको छ । सरकार नै ‘अभिव्यक्ति स्वतन्त्रताविरोधी’ भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन पनि सुरु भएको छ । अर्कोतर्फ अदालतमा पनि १० वटा रिट परेका छन्, जसको पहिलो सुनुवाइ सोमबार हुँदैछ ।

केही साताअघि सरकारले ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ पारित गरेको छ । त्यसलगत्तै सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै सरकारले टिकटकलाई प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध लगाउनुका पछाडि अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दो, उत्तेजक एवं व्यक्तिको मानमर्दन गर्ने जस्ता गतिविधि अत्यधिक बढेको सरकारले कारण देखाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो बहस र दलहरूबीच सहमतिपछि टिकटकमाथि प्रतिबन्ध लगाइएको दाबी गरिरहेका छन् ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल आफूहरु संसदको चौथो ठूलो शक्ति भए पनि सरकारले टिकटकमा प्रतिबन्ध लगाउँदा कुनै जानकारी र परामर्थ नलिएको गुनासो गर्छन् ।

उनी भन्छन्, ‘हामीसँग कुनै पनि सल्लाह भएन, सल्लाह गरेको भए सरकारलाई प्रतिबन्ध नगर्न अनुरोध गर्ने थियौं ।’

सरकारले टिकटक बन्द गरेर उल्टो बाटो हिँडेको अर्यालको आरोप छ । उनले गृह प्रशासनले विकृत सामाग्रीहरुमा नियमन गर्नुपर्नेमा बन्द नै गरेर कानमा तेल हालेर बस्न लागेको आरोप लगाए ।

‘गृह प्रशासनको काम टिकटकमा भएका विकृतिको नियमन गर्ने हो’ उनी भन्छन्, ‘केही सामाग्री नराम्रो आयो भन्दैमा, राम्रा पक्षलाई नजरअन्दाज गर्न मिल्छ ? अराजकतालाई नियमन, नियन्त्रण गर्नको लागि हो गृह मन्त्रालय ।’

सामाजिक सञ्जालको सहयोगले नै निर्वाचनमा आफ्ना एजेण्डाहरुलाई जनता माझ पुर्याएकाले रास्वपाले छोटो समयमा जनताको मन जित्न सफल भएको उनको दाबी छ । पार्टीले निर्वाचनको समयमा धेरै भन्दा समर्थन जुटाउन सकेको उनले बताए ।

यो प्रतिबन्धमा कुनै वैज्ञानिक कारण नभएको उनको भनाइ छ । साथै, सामाजिक सञ्जालको दुरुपयोग गर्नेले अन्य माध्यमबाट पनि गर्न सक्ने भन्दै प्रतिबन्ध होइन, नियमन गर्नतिर सरकार लागोस् भन्ने उनको सुझाव छ ।

टिकटक बन्द भएसँगै आम मानिसमा फेसबुक रिल, इन्स्टाग्राम र ट्वीटर लगायतका अन्य सामाजिक सञ्जाल पनि विस्तारै बन्द हुन्छ कि भन्ने चासो र चिन्ता बढेको छ ।

नेपालमा झण्डै २२ लाख टिकटक प्रयोगकर्ताहरु छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ५५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले