भक्तपुर जन्मघर, फर्पिङ कर्मघर । भूगोलले त यो दूरीको हिसाब अंकमा लगाउँला नै । तर ललिता लामिछानेले भोगेको हण्डर र ठक्करका चोट बेहिसाब छन् । फर्केर हेर्दा लाग्छ- यही मान, अपमान र भुक्तमान नै उनलाई सफल बनाउने उर्जा थिए । पालनपोषण गर्ने बुबा सानैमा बिते । जाउलो जुराउन हम्मे पर्ने परिवार त्यसमाथि घरकै मूल खाँबो समानका पिता ढलेपछि एकल आमाको थाप्लोमा सन्तान हुर्काउने जिम्मेवारी सर्यो । त्यसको असर बालसुलभ अवस्थामै ललिताले बेहोर्नुपर्यो । हरेक कक्षामा अब्बल ललितालाई १४ वर्षकै उमेरमा ठूलाबाले पराई घरका लागि अन्माइदिए ।
काँठबाट यात्रा काँठमै सर्यो । त्यो जन्मघर थियो, यो कर्मघर । पाँचजनाको परिवारमा सहज जीवन यापन गर्दै आएकी ललिता एकैचोटि २४ जनाको संयुक्त परिवारमा भित्रिइन् । यो दृश्य उनका लागि शीरमाथि आकास झरेको र टेकेको जमिन भास्सिए बराबर थियो । सोचेभन्दा ठीक विपरीत सुरुङमा फसेको अनुभव भयो । किताबबाट शुरु यात्रा घाँसपात, गोठाला खेताला, चुल्होचौको तर्फ बढ्यो । आफ्नो वयका साथीभाइ किताब, कापी चेपेर स्कुल धाएको देख्दा डाह हुन्थ्यो ।
अझ घरमा कसैकी भाउजू , कसैकी बुहारी, कसैकी काकी त कसैकी देउरानी हुनुपर्ने दैनिकी कहरलाग्दा बन्न थाले । नाताले आफूसँगै कर्तव्य पनि लिएर आउँथ्यो । समय प्रतिकूल हुँदाहुँदै पनि आफूभित्र रहेको ज्ञान र प्रज्ञाको भोक मार्न उनी श्रीमानले ल्याएका पत्रपत्रिका सार्ने, ठूलो स्वरमा पढ्ने गर्थिन् । दैनिक पढ्न नपाए पनि यसले केही हदसम्म तिर्खा मार्ने उनको बुझाइ थियो । हुन पनि कुन्ठाबाट यसले बचाउने काम गर्यो ।
एकदिन ललिताले आफूलाई पढ्न पठाउन श्रीमानसँग याचना गरिन् । जवाफ आयो–‘आमालाई सोध्नुपर्छ’ यसको कूटनीतिक अर्थ भनेको पढ्न नजाओस् भन्ने नै थियो । अब नजाने गाउँको बाटो नसोध्ने निर्णयमा पुगिन् उनी । तैपनि नन्द, देवरले स्कुलबाट पढेर आएपछि ती पुस्तकमा चासो बढाउन थालिन् । लेख्न, सार्न र पढ्ने अध्याय कहिल्यै टुटेन, बरु बढ्यो । कहिलेकाहीँ विद्रोह गरौं कि भनेर मनमा लाभा पनि नउम्लिने होइन । तर अर्को मनले भन्थ्यो– ‘अनि फेरि घरबाट निकालिदिए भने के गर्ने ?’ माइतीको अवस्था पनि भरलाग्दो थिएन ।
छोरी, बुहारी हुँदै समयले उनलाई दुई बच्चाकी आमा पनि बनायो । बच्चाको पालनपोषणले अब झन् पलाएका इच्छा परालजस्तै सुक्ने हुन् कि भन्ने त्रास छँदै थियो । यद्यपि आफ्नो स्वअध्ययनको भोकका कारण गाउँमा महिला समूह, लघुवित्तका कार्यक्रममा माइन्यूट लेख्नेदेखि कार्यक्रम चलाउने सम्मका काममा ललिताले आफ्नो ठाउँ बनाउँदै गइन् । जहाँ महिलाहरूको जमघट हुन्थ्यो, त्यहाँ ललिता खोजिन्थिन् । कसैले कति हो पढाइ भनेर सोध्दा तत्काल जवाफ दिन्थिन् – ‘एसएलसी पास ।’ यसकारण पनि पढाइ अघि बढाउनुपर्ने दबाब उनीमाथि थियो ।
चाडपर्वमा भक्तपुर माइत जाँदा आफूसँगैका साथीहरू कमलविनायकमा क्याम्पस पढेर फर्किएका हुन्थे । साथीहरू कलेजको ब्याग बोकेर बस चढ्थे, उनी बच्चा बोकेकी हुन्थिन् । यसबेला बच्चा नरोए हुन्थ्यो भन्ने लाग्थ्यो । बच्चा रोयो भने सबैले हेर्छन्, साथीहरूले चिन्छन् भन्ने भय हुन्थ्यो । केही गरी बच्चा रोयो भने आफ्नै बच्चासँग रिस उठ्थ्यो । लाजले साथीहरूको मुखमा नहेरेको उनी सुनाउँछिन् ।
ललिता पढाइ छोडेको एक दशकपछि श्रीमान, समाज र आफन्तका अर्ती र अवरोध तोडेर सीधै कक्षा कोठामा पसिन् । खुल्ला विद्यालयमा पढेर राम्रो नम्बर ल्याएर अहिले स्नातक बनेकी छन्
छोराछोरी हुर्किँदै थिए । दाजुभाइ भिन्न भिन्न भएर आ-आफ्नो गरेर खान थाले । अब आफ्ना लागि ज्ञानगंगाको बाटो खुलेको हो कि भन्ने ललितालाई लाग्न थाल्यो । सन्तान भएपछि आफ्नो घरमाथिको हक पनि प्रबल भएको निष्कर्षमा पुगिन् । घरको काम सकेर एकदिन उनी किनमेलका लागि फर्पिङ बजार आइन । एउटा घरको भित्तामा टक्क आँखा अड्यो । पोस्टरमा लेखिएको थियो– ‘खुला विद्यालयमा भर्ना खुल्यो ।’ यो पटक त ललिताले आफैं निर्णय गरिन, म जसरी पनि पढ्छु , पढ्छु , पढ्छु ।
पढाइ छोडेको एक दशकपछि श्रीमान, समाज र आफन्तका अर्ती र अवरोध तोडेर उनी सीधै कक्षा कोठामा पसिन् । खुल्ला विद्यालय खुलाउन शशी शर्मा अर्यालको सक्रियताको खुलेर प्रशंसा गर्ने उनी त्यही विद्यालयमा पढेर अहिले राम्रो नम्बर ल्याएर स्नातक बनेकी छन् ।
१४ वर्षमा पढाइ छोड्न बाध्य ललिता पढाइको अर्को अध्याय शुरु गर्दा २४ वर्ष पुगेकी थिइन् । कक्षा आफूभन्दा पाका उमेरका विद्यार्थीहरूको घुइँचो देखेपछि त उनलाई अतीतमा फर्कन बेर लागेन । अरुले कक्षा लिन थालेको तीन महिना भइसकेको थियो । तर घरको कडा मेहनतपछि कक्षा टपिन् ।
‘दुईटा बच्चा छोडेर पढ्न गएको देखेपछि घर गाउँलेलाई भाउन्न छुट्यो । श्रीमानलाई उचाल्नेहरु त्यतिक्कै थिए । कतिले त चरित्रमाथि प्रश्न पनि उठाए ।’ ललिता भन्छिन्– ‘म पनि यति जब्बर भइसकेकी थिएँ कि हरेक काम गर्न आट गरेर बाहिर निस्कन्थेँ । कति त पशुपति शर्माको….आँखा जुधाउने, चित्त बुझाउने…गीतको प्रसंग निकालेरै भए पनि दुरुत्साहन गर्न खोज्थे ।’
ललिताका दुई सन्तान छोरा १६ र छोरी २२ वर्षका भए । आमाले गरेको संघर्षको उनीहरु मुक्तकण्ठले प्रशंसा गर्छन् । अहिले समाजमा सबैकी आँखाकी नानी बनेकी छन् । स्कुल जाँदा उडाउनेहरु भक्त छन् । श्रीमान पनि मख्ख छन् । घरगाउँका सामाजिक, सांस्कृतिक र विकासका काममा दोस्रो हुन उनले जानेकै छैन ।
त्यसो भए ललिताको संघर्षले सिङ्गो नेपाली महिलालाई दिने सन्देश के हो ? महिलाले समाजलाई प्रमाणित गरेर देखाउनुपर्छ । पढ्न आएर फेल हुने र त्यत्तिकै घरमा बसेको भए सबैले कुरा काट्थे । बिहे गरेपछि पढेर काम छैन भन्ने सन्देश जान्थ्यो । घरका सबै कर्म धानेर पनि पढ्न सकिने रैछ भनेर प्रमाणित गर्न आफू सफल भएको बताउने उनी भन्छिन् – ‘इच्छाशक्ति भयो भने गरिबी पनि केही होइन, माहोल आफूले मिलाउने हो । सतप्रतिशत व्यवहार मिलाएपछि इच्छाएको काम सम्पन्न गर्छु भन्नु त्यो काम अन्तत : सफल नगर्नु नै हो ।’
टोल विकास, सहकारी, महिला समूह, शैक्षिक गतिविधि जताततै ललिता छाउँछिन् । उमेर घर्किएपछि पढ्न खोज्नेहरुका लागि त उनी आदर्श नै हुन् । निरन्तरताले चट्टानलाई पानीले खियाएको उदाहरण दिँदै आलोचनाबाट नडराई अघि बढ्न दिदीबहिनीलाई सल्लाह दिन्छिन् । पढेका आमाको सन्तान उच्चकोटीका हुने निष्कर्षमा अडिग ललितामा ज्ञान अचूक हतियार भएको बुझाइ छ ।
‘शिक्षाले ज्ञान बढाउँछ, ज्ञानले आत्मबल बढाउँछ । जसबाट नेतृत्व विकास हुन्छ, क्षमता विकास हुन्छ । शिक्षा हासिल गर्ने सवालमा उमेरलाई बाधक ठान्ने भूल गर्नुहुन्न । उमेर संख्या हो हामीले जुनसुकै उमेरमा पनि पढ्न सक्छौँ,’ केही गर्न खोज्नेलाई उर्जा भर्दै ललिता भन्छिन् ।
ललिता मध्यमवर्गीय परिवारकी आम पात्र हुन् । जसको अतीतले संघर्ष अरुसँग नभई आफूसँग गर्ने हो भन्ने शिक्षा दिन्छ । गीतामा उल्लेख भए झैं कर्म गर्ने फलको आश नगर्ने यस्तै ललिताहरुको समाजमा खाँचो छ ।
प्रतिक्रिया