छोरी हुँदा पढ्ने सपना आमा भएपछि पूरा | Khabarhub Khabarhub

छोरी हुँदा पढ्ने सपना आमा भएपछि पूरा



भक्तपुर जन्मघर, फर्पिङ कर्मघर । भूगोलले त यो दूरीको हिसाब अंकमा लगाउँला नै । तर ललिता लामिछानेले भोगेको हण्डर र ठक्करका चोट बेहिसाब छन् । फर्केर हेर्दा लाग्छ- यही मान, अपमान र भुक्तमान नै उनलाई सफल बनाउने उर्जा थिए । पालनपोषण गर्ने बुबा सानैमा बिते । जाउलो जुराउन हम्मे पर्ने परिवार त्यसमाथि घरकै मूल खाँबो समानका पिता ढलेपछि एकल आमाको थाप्लोमा सन्तान हुर्काउने जिम्मेवारी सर्यो । त्यसको असर बालसुलभ अवस्थामै ललिताले बेहोर्नुपर्यो । हरेक कक्षामा अब्बल ललितालाई १४ वर्षकै उमेरमा ठूलाबाले पराई घरका लागि अन्माइदिए

काँठबाट यात्रा काँठमै सर्यो । त्यो जन्मघर थियो, यो कर्मघर । पाँचजनाको परिवारमा सहज जीवन यापन गर्दै आएकी ललिता एकैचोटि २४ जनाको संयुक्त परिवारमा भित्रिइन् । यो दृश्य उनका लागि शीरमाथि आकास झरेको र टेकेको जमिन भास्सिए बराबर थियो । सोचेभन्दा ठीक विपरीत सुरुङमा फसेको अनुभव भयो । किताबबाट शुरु यात्रा घाँसपात, गोठाला खेताला, चुल्होचौको तर्फ बढ्यो । आफ्नो वयका साथीभाइ किताब, कापी चेपेर स्कुल धाएको देख्दा डाह हुन्थ्यो ।

अझ घरमा कसैकी भाउजू , कसैकी बुहारी, कसैकी काकी त कसैकी देउरानी हुनुपर्ने दैनिकी कहरलाग्दा बन्न थाले । नाताले आफूसँगै कर्तव्य पनि लिएर आउँथ्यो । समय प्रतिकूल हुँदाहुँदै पनि आफूभित्र रहेको ज्ञान र प्रज्ञाको भोक मार्न उनी श्रीमानले ल्याएका पत्रपत्रिका सार्ने, ठूलो स्वरमा पढ्ने गर्थिन् । दैनिक पढ्न नपाए पनि यसले केही हदसम्म तिर्खा मार्ने उनको बुझाइ थियो । हुन पनि कुन्ठाबाट यसले बचाउने काम गर्यो ।

एकदिन ललिताले आफूलाई पढ्न पठाउन श्रीमानसँग याचना गरिन् । जवाफ आयो–‘आमालाई सोध्नुपर्छ’ यसको कूटनीतिक अर्थ भनेको पढ्न नजाओस् भन्ने नै थियो । अब नजाने गाउँको बाटो नसोध्ने निर्णयमा पुगिन् उनी । तैपनि नन्द, देवरले स्कुलबाट पढेर आएपछि ती पुस्तकमा चासो बढाउन थालिन् । लेख्न, सार्न र पढ्ने अध्याय कहिल्यै टुटेन, बरु बढ्यो । कहिलेकाहीँ विद्रोह गरौं कि भनेर मनमा लाभा पनि नउम्लिने होइन । तर अर्को मनले भन्थ्यो– ‘अनि फेरि घरबाट निकालिदिए भने के गर्ने ?’ माइतीको अवस्था पनि भरलाग्दो थिएन ।

छोरी, बुहारी हुँदै समयले उनलाई दुई बच्चाकी आमा पनि बनायो । बच्चाको पालनपोषणले अब झन् पलाएका इच्छा परालजस्तै सुक्ने हुन् कि भन्ने त्रास छँदै थियो । यद्यपि आफ्नो स्वअध्ययनको भोकका कारण गाउँमा महिला समूह, लघुवित्तका कार्यक्रममा माइन्यूट लेख्नेदेखि कार्यक्रम चलाउने सम्मका काममा ललिताले आफ्नो ठाउँ बनाउँदै गइन् । जहाँ महिलाहरूको जमघट हुन्थ्यो, त्यहाँ ललिता खोजिन्थिन् । कसैले कति हो पढाइ भनेर सोध्दा तत्काल जवाफ दिन्थिन् – ‘एसएलसी पास ।’ यसकारण पनि पढाइ अघि बढाउनुपर्ने दबाब उनीमाथि थियो ।

चाडपर्वमा भक्तपुर माइत जाँदा आफूसँगैका साथीहरू कमलविनायकमा क्याम्पस पढेर फर्किएका हुन्थे । साथीहरू कलेजको ब्याग बोकेर बस चढ्थे, उनी बच्चा बोकेकी हुन्थिन् । यसबेला बच्चा नरोए हुन्थ्यो भन्ने लाग्थ्यो । बच्चा रोयो भने सबैले हेर्छन्, साथीहरूले चिन्छन् भन्ने भय हुन्थ्यो । केही गरी बच्चा रोयो भने आफ्नै बच्चासँग रिस उठ्थ्यो । लाजले साथीहरूको मुखमा नहेरेको उनी सुनाउँछिन् ।

     ललिता पढाइ छोडेको एक दशकपछि श्रीमान, समाज र आफन्तका अर्ती र अवरोध तोडेर सीधै कक्षा कोठामा पसिन् । खुल्ला विद्यालयमा पढेर राम्रो नम्बर ल्याएर अहिले स्नातक बनेकी छन्

छोराछोरी हुर्किँदै थिए । दाजुभाइ भिन्न भिन्न भएर आ-आफ्नो गरेर खान थाले । अब आफ्ना लागि ज्ञानगंगाको बाटो खुलेको हो कि भन्ने ललितालाई लाग्न थाल्यो । सन्तान भएपछि आफ्नो घरमाथिको हक पनि प्रबल भएको निष्कर्षमा पुगिन् । घरको काम सकेर एकदिन उनी किनमेलका लागि फर्पिङ बजार आइन । एउटा घरको भित्तामा टक्क आँखा अड्यो । पोस्टरमा लेखिएको थियो– ‘खुला विद्यालयमा भर्ना खुल्यो ।’ यो पटक त ललिताले आफैं निर्णय गरिन, म जसरी पनि पढ्छु , पढ्छु , पढ्छु ।

पढाइ छोडेको एक दशकपछि श्रीमान, समाज र आफन्तका अर्ती र अवरोध तोडेर उनी सीधै कक्षा कोठामा पसिन् । खुल्ला विद्यालय खुलाउन शशी शर्मा अर्यालको सक्रियताको खुलेर प्रशंसा गर्ने उनी त्यही विद्यालयमा पढेर अहिले राम्रो नम्बर ल्याएर स्नातक बनेकी छन् ।

१४ वर्षमा पढाइ छोड्न बाध्य ललिता पढाइको अर्को अध्याय शुरु गर्दा २४ वर्ष पुगेकी थिइन् । कक्षा आफूभन्दा पाका उमेरका विद्यार्थीहरूको घुइँचो देखेपछि त उनलाई अतीतमा फर्कन बेर लागेन । अरुले कक्षा लिन थालेको तीन महिना भइसकेको थियो । तर घरको कडा मेहनतपछि कक्षा टपिन् ।

‘दुईटा बच्चा छोडेर पढ्न गएको देखेपछि घर गाउँलेलाई भाउन्न छुट्यो । श्रीमानलाई उचाल्नेहरु त्यतिक्कै थिए । कतिले त चरित्रमाथि प्रश्न पनि उठाए ।’ ललिता भन्छिन्– ‘म पनि यति जब्बर भइसकेकी थिएँ कि हरेक काम गर्न आट गरेर बाहिर निस्कन्थेँ । कति त पशुपति शर्माको….आँखा जुधाउने, चित्त बुझाउने…गीतको प्रसंग निकालेरै भए पनि दुरुत्साहन गर्न खोज्थे ।’

ललिताका दुई सन्तान छोरा १६  र छोरी २२ वर्षका भए । आमाले गरेको संघर्षको उनीहरु मुक्तकण्ठले प्रशंसा गर्छन् । अहिले समाजमा सबैकी आँखाकी नानी बनेकी छन् । स्कुल जाँदा उडाउनेहरु भक्त छन् । श्रीमान पनि मख्ख छन् । घरगाउँका सामाजिक, सांस्कृतिक र विकासका काममा दोस्रो हुन उनले जानेकै छैन ।

त्यसो भए ललिताको संघर्षले सिङ्गो नेपाली महिलालाई दिने सन्देश के हो ? महिलाले समाजलाई प्रमाणित गरेर देखाउनुपर्छ । पढ्न आएर फेल हुने र त्यत्तिकै घरमा बसेको भए सबैले कुरा काट्थे । बिहे गरेपछि पढेर काम छैन भन्ने सन्देश जान्थ्यो । घरका सबै कर्म धानेर पनि पढ्न सकिने रैछ भनेर प्रमाणित गर्न आफू सफल भएको बताउने उनी भन्छिन् – ‘इच्छाशक्ति भयो भने गरिबी पनि केही होइन, माहोल आफूले मिलाउने हो । सतप्रतिशत व्यवहार मिलाएपछि इच्छाएको काम सम्पन्न गर्छु भन्नु त्यो काम अन्तत : सफल नगर्नु नै हो ।’

टोल विकास, सहकारी, महिला समूह, शैक्षिक गतिविधि जताततै ललिता छाउँछिन् । उमेर घर्किएपछि पढ्न खोज्नेहरुका लागि त उनी आदर्श नै हुन् । निरन्तरताले चट्टानलाई पानीले खियाएको उदाहरण दिँदै आलोचनाबाट नडराई अघि बढ्न दिदीबहिनीलाई सल्लाह दिन्छिन् । पढेका आमाको सन्तान उच्चकोटीका हुने निष्कर्षमा अडिग ललितामा ज्ञान अचूक हतियार भएको बुझाइ छ ।

‘शिक्षाले ज्ञान बढाउँछ, ज्ञानले आत्मबल बढाउँछ । जसबाट नेतृत्व विकास हुन्छ, क्षमता विकास हुन्छ । शिक्षा हासिल गर्ने सवालमा उमेरलाई बाधक ठान्ने भूल गर्नुहुन्न । उमेर संख्या हो हामीले जुनसुकै उमेरमा पनि पढ्न सक्छौँ,’ केही गर्न खोज्नेलाई उर्जा भर्दै ललिता भन्छिन् ।

ललिता मध्यमवर्गीय परिवारकी आम पात्र हुन् । जसको अतीतले संघर्ष अरुसँग नभई आफूसँग गर्ने हो भन्ने शिक्षा दिन्छ । गीतामा उल्लेख भए झैं कर्म गर्ने फलको आश नगर्ने यस्तै ललिताहरुको समाजमा खाँचो छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ५८ बजे

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, चितवनमा २१ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको

बर्डफ्लु मानिसबाट मानिसमा सर्दैन : डब्लुएचओ

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड

स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

काठमाडौं– नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी

स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

काठमाडौं– काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगद रुपैयाँ सहित

आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै