दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्रले गति लिँदै | Khabarhub Khabarhub

दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्रले गति लिँदै


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र यहाँको बेदकोट नगरपालिकामा निर्माण हुने छेला औद्योगिक क्षेत्रको कामले गति लिन थालेको छ । एक साताअघि कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह स्थलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राथमिकतामा राख्दै आयोजनास्थलको निरीक्षण गरेसँगै काम अघि बढेको हो । भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँ भारतीय ‘राइट्स कन्सटेन्सी’ ले फिल्ड सर्वे गरेर विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको छ ।

भारतीय कम्पनीले छ महिनामा डिपिआर तयार गरी बुझाउने भने पनि दुई-तीन महिनाभित्रै आउनेमा आशावादी नेपाली पक्ष छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रधानमन्त्रीस्तरबाटै उक्त आयोजना प्राथमिकतामा परेपछि आयोजनाले गति पाउने बताए।

‘तोकिएको समयभन्दा ढिलो गरेर आयोजनाका प्रक्रियागत काम अब रोकिनुहुन्न’, कार्यकारी निर्देशक गजुरेलले भने , ‘हाम्रो समितिलाई भारतीय पक्षले ‘फोकल एजेन्सी’का रुपमा तोकेर सूचना आदानप्रदानको काम गर्दैछ ।’ यसअघि वीरगञ्ज, भैरवा, विराटनगर लगायतका स्थानका सुक्खा बन्दरगाहको डिजाइनसमेत भारतीय ‘राइट्स कन्सटेन्सी’ले नै गरेको थियो ।

त्यसैगरी यातायात विकास समितिका अनुसार दोधारा चाँदनी सुक्खा बन्दरगाह÷एकीकृत जाँच चौकी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाइएको छ । ‘अहिले राय, सुझाव संकलनका लागि एकहप्ते सूचनासमेत जारी भएको छ’, गजुरेलले भने, ‘स्थानीयस्तरबाट प्राप्त राय, सुझावसहित हामी मन्त्रालयमा पेस गर्छौं ।’

आयोजनास्थल निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षले बनाउने प्रतिवद्धतापछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए । उक्त विषय आफ्नो आसन्न भारत भ्रमणका क्रममा उच्च प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो ।

दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्र अधिग्रहण गरी बन्दरगाह निर्माण भइरहेको हो । बन्दरगाह निर्माणको प्रक्रिया थाल्न सरकारले चालु आर्थिक वर्षमा रु एक अर्ब बजेटसमेत विनियोजन गरेको छ ।

वन क्षेत्रको प्रस्तावित करिब दुई सय ८० बिघा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, सुरक्षा निकाय, पार्किङ याड, क्वारेन्टाइनलगायतका भौतिक संरचना निर्माण हुनेछन् । बन्दरगाह क्षेत्र महाकालीमा निर्माण भएको चार लेनको पक्की पुलदेखि एक किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ ।

त्यसैगरी अढाइ दशकभन्दा बढी समयदेखि चर्चामा मात्रै सीमित रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको स्थापनाको काम अग्रसरताका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नै सक्रियता बताएका छन् । केही दिनअघि मात्रै औद्योगिक क्षेत्रको निरीक्षण गरेका मन्त्री भण्डारीले आज औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन गर्दै छन् ।

नौ सय बिघा क्षेत्रफलमा घोषणा गरिएको क्षेत्रमा तीन सय ५५ बिघामा उद्योग विस्तार गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । विसं २०७३ माघको मन्त्रिपरिषद्को बैठकले साविक चार किल्ला संशोधन गरी पूर्वतर्फ मुक्तकमैया बस्ती, धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन र दक्षिणतर्फ चाँदनीफाँटा बस्ती कायम गरेको छ ।

यहाँ पहिलो चरणमा साना, मझौला तथा ठूला गरी एक सय उद्योग स्थापना गरिने र प्रति उद्योग पाँच कट्ठादेखि पाँच बिघा जमिन छुट्याइने लिमिटेडले जनाएको छ । छेला औद्योगिक क्षेत्रको निरीक्षणका क्रममा उद्योगमन्त्रीले सुदूरपश्चिममा उद्योगको अवस्था न्यून रहेको बताए। ‘उद्योगको ‘हब’का रुपमा कञ्चनपुर विकास हुने क्रममा छ’, उनले भने, ‘यस क्षेत्रका कामलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नेछु ।’

डेढ वर्षभन्दाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको छेला औद्योगिक क्षेत्रको निर्माणका लागि पनि चालू आर्थिक वर्षमा सरकारले  एक अर्ब बजेट विनियोजन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले औद्योगिक क्षेत्रमा पर्ने रुख कटानका लागि ‘नम्बरिङ’ को काम भइरहेको बताए ।

‘सुरुमा इआइए गर्दा २५ हजार रुख काटनुपर्ने थियो’, उनले भने, ‘फिल्डमा खटिँदै गर्दा करिब ३५ हजारभन्दा बढी रुख कटान गर्नुपर्ने देखिन्छ ।’ उनले दुई समूहमा रुख नम्बरिङको काम भइरहेको बताउँदै एक साताभित्र उक्त काम सकिने जानकारी दिए ।

–शेरबहादुर सिंह रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ४ : ०० बजे

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका