जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती | Khabarhub Khabarhub

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ । 

जिल्ला कारागार कार्यालय गुल्मीमा कैदीबन्दीको क्षमता मात्रै २५ जना हो । विसं २०२४ मा स्थापना भएको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहे पनि यहाँ अहिले तेब्बरभन्दा पाँचले बढी कैदीबन्दी छन् । कारागारमा हाल ८० जना कैदीबन्दी छन् । जसमध्ये ७३ पुरुष र सात महिला कैदीबन्दी रहेको कार्यालयका निमित्त प्रमुख रेश्मीराज पन्थी जानकारी दिए।

जिल्ला कारागारमा अहिले कैदी ४५ र थुनुवा २८ पुरुष छन् । पाँच कैदी र दुई थुनुवा महिला छन् । जसमा जबरजस्ती करणी, कर्तव्य ज्यान, चोरी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बहुविवाह, सवारी ज्यान र अङ्गभङ्गलगायत मुद्दाका कैदीबन्दी छन् ।

जीर्ण भवनमा दिनानुदिन कैदीबन्दी थपिँदा समस्या भएको निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले बताए। ‘कैदीबन्दी आलोपालो सुत्नुपर्ने, बस्ने, खाने र खानेपानीको पनि उत्तिकै समस्या छ’, पन्थीले भने, ‘हरेक हिसाबले समस्या छ, समाधानको लागि कुनै पहल भएन ।’ उनका अनुसार कारागारमा कैदीबन्दी रातको १२ बजेसम्म एक समूह र त्यसपछि अर्को समूह सुत्ने गरेका छन् । खाना खान, नुहाउन, बस्न, भेटघाट गर्न र कपडा धुनेलगायतका क्रियाकलापका साथै उपचार गर्न निकै सास्ती भइरहेको छ ।

कारागारमा लामो समयदेखि कार्यालय प्रमुख हुनुहुन्न । अधिकृतको दरबन्दी भए पनि काजमा काठमाडौँ फिर्ता भएपछि नायबसुब्बाको भरमा कार्यालय चलिरहेको छ । एक जना स्वास्थ्यकर्मीको दरबन्दी कार्यालयमा छ । 

तर, कार्यालयले आजसम्म कुनै स्वास्थ्यकर्मी पाएको छैन । जसका कारण कैदीबन्दी सामान्य बिरामी हुँदा पनि गुल्मी अस्पतालमा पुर्‍याउनुपर्ने बाध्यता छ । १० जनाको दरबन्दी रहे पनि हाल कारागारमा सात जना कर्मचारी छन्। तिन जना कर्मचारी र चार जना कार्यालय सहयोगी छन्। कार्यालय प्रमुख, सिनियर अहेब र एक जना कर्मचारीको अभावका कारण पनि समस्या भएको निमित्त कार्यालय प्रमुख पन्थीले बताए।   

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी र कर्मचारीको अभाव हुँदा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीको ध्यान गएको छैन । कारागारको स्तरवृद्धि र कर्मचारी व्यवस्थापनमा चासो दिनुको सट्टा जिल्ला प्रशासनले कर्मचारी आफ्नो कार्यालयमा तानेको छ । कारागारमा रहेका एक जना खरिदार हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कैदीबन्दीको आन्तरिक समस्यामा पहलगर्ने बताए । 

भौतिक संरचना बनाउने र कर्मचारी तत्काल व्यवस्थापन गर्नेभन्दा पनि पहिले कैदीबन्दीको सहजताको लागि खानेपानीको व्यवस्थालगायतका भित्रि समस्यामा ध्यान दिने प्रमुख जिल्ला अधिकारी पाठकलले बताए । ‘क्षमताभन्दा बढी कैदी हुँदा निकै समस्या भएको देखियो’, उनले भने , ‘सोही संरचनालाई थप व्यवस्थित गरेर भित्रका समस्या समाधान गरिनेछ ।’ कर्मचारी अभावले सेवा प्रवाहमा अवरोध नभएको भन्दै कैदीबन्दीको समस्यामा गुनासो आएकोले त्यसमा सहजता ल्याउने पाठकले बताए । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : २९ बजे

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका