विनियोजन विधेयकमाथिको छलफल जारी | Khabarhub Khabarhub

विनियोजन विधेयकमाथिको छलफल जारी


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

बैठकमा अर्थ, सहरी विकास, खानेपानी, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथिको छलफल चलिरहेको छ । मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले आ–आफ्नो धारणा राखेका छन् ।

मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेटले सन्तुलित विकासको नीति अवलम्बन गर्न नसकेको र धेरै वटा आयोजनालाई बजेट छरेको धारणा राखे। सन्तुलित विकासका लागि कर्णाली, मधेस र सुदूरपश्चिम क्षेत्रको विकासमा जोड दिइनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, बजेटमा संशोधन नहुने हो भने मन्त्रालयगत छलफलको औचित्य नहुने उनले बताए । ‘एक घर: एक धारा’ को नीति कार्यान्वयनमा लागि बजेटले पर्याप्त ध्यान दिनुपर्ने कार्कीको भनाइ छ । ‘हामीले खानेपानीको क्षेत्रमा आशातीत प्रगति गर्न सकेका छैनौँ । स्वच्छ खानेपानी हाम्रो जीवन पद्धतिसँग जोडिएको विषय भएका कारण ‘एक घर: एक स्वच्छ खानेपानी धारा’लाई नारामा मात्रै सीमित नराखियोस् । यसलाई कसरी सफल बनाउन सकिन्छ त्यसबारे सोचौँ’, उनले भने ।

अहिले कनिका छरेकोजस्तो बजेट विनियोजनले एक घर: एक धारा अभियानलाई पूर्णता दिन सक्ने नदेखिएको उनको भनाइ छ ।

सांसद छविलाल विश्वकर्माले सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक विनियोजनमा तादत्म्यता मिल्न नसकेको बताए । त्यस्तै, विषयगत मन्त्रालयले अगाडि सारेका प्रस्ताव पनि वार्षिक बजेटमा नअटाएको देखिएको उनको भनाइ छ । तीन तहका सरकारले कार्यान्वयन गर्ने कतिपय आयोजनामा दोहोरोपना देखिएको र तादत्म्यता नमिलेको सांसद विश्वकर्माको भनाइ छ । जनता आवास कार्यक्रमको प्रभावकारिता देखिन नसकेको उनको भनाइ छ ।

सांसद हितबहादुर तामाङले काठमाडौँ उपत्यकामा खानेपानी व्यवस्थापनका लागि मेलम्चीबाहेकको वैकल्पिक खानेपानी आयोजना आउन नसकेको बताए । ढल व्यवस्थापन, सार्वजनिक शौचालय निर्माणलगायतका क्षेत्र बजेटको प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन नसक्दा श्रम शक्ति विदेशिनुपर्ने बाध्यता रहेकाले दक्ष जनशक्तिका रूपमा विदेश पठाउन सीप विकासका कार्यक्रममा जोड दिनुपर्ने सांसद तामाङले बताए ।

नागरिकको शुद्ध खानेपानीको हक अझै स्थापित हुन नसकेको धारणा रादै सांसद निशा डाँगीले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् । नागरिकले अझै स्वच्छ खानेपानीको सुविधा नपाएकाले सरकारले बजेट विनियोजन गर्दा आधारभूत आवश्यकता पूर्ति गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । सहरी विकास मन्त्रालय र अन्य मन्त्रालयको काम बाझिएको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटले मुलुकको अहिलेको आर्थिक मन्दीलाई रोक्नसक्ने कुनै स्पष्ट आधार पेश गर्न नसकेको धारणा सांसद दीपकबहादुर सिंहले राखेका छन् । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको रकम काठमाडौँ–तराई मधेस द्रुतमार्ग बनाउनका खर्च गर्नुपर्ने उनको भनाइ छ ।

सांसद रञ्जु कुमारी झाले आगामी आवको बजेट निर्माणमा सांसदको भन्दा कर्मचारीको भूमिका बढी देखिएको बताइन् । आर्थिक सुधारका लागि बजेटमा स्पष्ट कुनै मिसन–भिजन नदेखिएको र धेरैजसो योजना तथा कार्यक्रमको बजेट तालिम गोष्ठीमा बढी जोड दिइएको उनको भनाइ छ ।

तीन खम्बे अर्थनीतिअनुसार महत्त्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी क्षेत्र उपेक्षामा परेकोप्रति बजेटले ध्यान दिन नसकेको उनले बताइन् । त्यस्तै पहुँचका आधारमा बजेट विनियोजन हुँदै केही जिल्लामा मात्र बजेटको ठूलो अङ्क गएको सांसद झाले संसद्मा बताइन् ।

अहिले कालोधन बढेकाले एक हजार र पाँच सय रुपैयाँ दरका बैंक नोट बन्द गरिनुपर्ने धारणा मेटमणि चौधरीले संसदमा राखे । अनौपचारिकरूपमा ठूलो रकम विदेशिरहेको पनि उनको भनाइ छ । बैंकको ब्याजदर नघटेसम्म नेपालको वित्तीय क्षेत्रमा सुधार नहुने सांसद चौधरीले बताए । ब्याजदर घटाएर कर्जा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ६ : ४५ बजे

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए

गाजा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको