देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

October 20, 2023

दिनभर आजमा एनआरएनए निर्वाचनमा विवाद, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त, तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने,राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिनेलगायतका समाचारले प्रमुख स्थान पाए ।

एनआरएनए निर्वाचनमा विवाद

गैरआवासीय नेपाली सङ्घ एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज बिहान घोषणा भएपछि उनका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गरेका छन् ।

उनीहरुले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने बताएका हन् । “प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने हामीले अपेक्षा गरेका थियौँ, तर पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन”, अध्यक्षका प्रत्यासी श्रेष्ठ र शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् ।

एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताए ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो ।

डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन् । यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने

तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १८ गतेदेखि २५ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा राणा

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छिन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा राणाले जलवायु परिवर्तनले नेपालका विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताएकी हुन् ।

राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने

मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चवती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ ।

मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका–१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गर्ने प्रतिबद्धता जनाएका हुन् ।

ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान

‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा ३ सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले बिहीबार ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार्फत जडान गरिएका सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

नेपाल प्रहरीमा नयाँ भर्ना खुलाइएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको हो ।

इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ ।