विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज पुस ४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी

आगामी वर्ष रुसको राष्ट्रपति पदका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएको अधिकारीहरूले बुधबार बताएका छन् । निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल प्राप्त हुने अपेक्षा गरिएको छ ।

मस्कोले वर्षौंदेखि विपक्षी व्यक्तित्वहरूलाई निर्वाचन र राजनीतिक जीवनबाट बेवास्ता गरेको छ । सन् २०२२ मा क्रेमलिनले रुसी सैनिकलाई युक्रेनमा प्रवेश गर्न आदेश दिएपछि यो कठोर नीति अझ तीव्र भएको छ ।

सरकारी आरआइए नोभोस्ती समाचार एजेन्सीले केन्द्रीय निर्वाचन आयोग (सिइसी) का अध्यक्ष एला पामफिलोभालाई उद्धृत गर्दै भनेको छ, ‘अहिलेसम्म हामीले राष्ट्रपति निर्वाचनका लागि १६ जनाको आवेदन प्राप्त गरेका छौँ ।’

राष्ट्रपति पुटिनले यसै महिना सैन्य दिग्गजहरूसँगको बैठकका क्रममा उहाँ आगामी वर्षको मार्च १५ देखि तीन दिनसम्म हुने निर्वाचनमा सहभागी हुने पुष्टि गरेका थिए ।

सिइसीका अनुसार उसले आंशिकरूपमा रुसी सेनाले कब्जा गरेको चार युक्रेनी क्षेत्र र सन् २०१४ मा किएभबाट खोसिएको क्रिमिया प्रायद्वीपमा पनि मतदान गराउने छ । रुसको क्रेमलिन–अनुकूल लिबरल डेमोक्रेटिक पार्टीले यसै साता युक्रेन युद्धका लागि पूर्ववार्ताकार लियोनिद स्लुत्स्कीलाई उम्मेदवारका रूपमा मनोनयन गरेको बताएको छ । स्लुत्स्कीले उनको उम्मेदवारीले पुटिनबाट ‘मत नखोस्ने’ बताएका छन् ।

निर्वाचन नियमअनुसार मार्चमा हुने मतदानमा भाग लिनका लागि उम्मेदवारहरूले डिसेम्बर २७ सम्म आवेदन फाइल गर्नुपर्नेछ । त्यसपछि उनीहरूले मतपत्रमा स्थान सुरक्षित गर्नका लागि समर्थकहरूबाट हजारौँ हस्ताक्षर जम्मा गर्नुपर्नेछ ।

चरमपन्थीको आरोपमा मुद्दाको प्रतीक्षामा हिरासतमा रहेका तथा क्रेमलिनका आलोचक कट्टर राष्ट्रवादी इगोर गिर्किनले पुटिनलाई चुनौती दिन चाहेको बताएका छन् । कारागारमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीलाई जालसाजीको आरोपमा सन् २०१८ मा निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको थियो । उनका सहयोगीहरूले यसलाई राजनीतिकरूपमा प्रेरित भएको बताएका छन् ।

ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न कोलोराडो सर्वोच्चको रोक
संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव लड्न योग्य नभएको बताएको छ।

अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी विधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।

कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै सो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा अमेरिकी संसद्मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

अमेरिकी संविधानको १४ औं संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।

चिनिँया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् ।

चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहबीच विभिन्न व्यापारिक सहयोग भएको बताएका छन् ।

यस वर्षमा चीन तथा रूसबीचको द्विपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ । यसै सन्दर्भमा उनले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताएका छन् ।

चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउँदै राष्ट्रपति सीले आगामी वर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ बार्षिकोत्सवलाई नयाँ बिन्दुमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

कंगोबाट शान्ति सेना फिर्ता गर्ने राष्ट्रसंघको निर्णय, नेपाली सेना बेखबर
डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मतरूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ ।

आजबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुँदैछ । त्यसको एक दिन अगाडी संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको हो ।

शान्ति सेनाले शान्ति ल्याउन नसकेको भन्दै कंगो सरकारले लामो समयदेखि शान्ति सेना फिर्ता गर्न माग गर्दै आएको थियो ।

कंगो सरकारको माग अनुसार नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले यस्तो निर्णय गरेको बताइएको छ । हाल कंगोमा रहेका १४ हजार विदेशी सेना यही वर्षको अन्तिमसम्ममा फिर्ता हुनेछन् ।

नेपालबाट पनि कंगोमा शान्ति सेना पठाउँदै आइएको थियो । हाल नेपाली सेनाका तर्फबाट कंगोमा ११५२ सैनिक रहेको नेपाली सेनाले जनाएको छ ।

कंगोमा शान्ति सेना नपठाउने राष्ट्रसंघको निर्णय बारे नेपाली सेनालाई औपचारिक जानकारी भने नआएको बताइएको छ ।

भियतनामले आर्थिक कार्यक्रम विस्तार गर्न विचार गर्नु पर्छ : विश्व बैंक
भियतनामी अर्थतन्त्रले अझै पनि संकटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न आर्थिक सहायता कार्यक्रम २०२२-०२३ को कार्यान्वयनलाई अर्को वर्षसम्म विस्तार गर्न विश्व बैंकले सुझाव दिएको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको भियतनाम म्याक्रोँ मोनिटरिङ रिपोर्टमा यस्तो सुझाव दिइएको भियतनाम न्यूज एजेन्सीले जनाएको छ । बैंकले भियतनाममा अल्पकालीन आर्थिक स्थायित्व र दीर्घकालीन रूपमा आर्थिक वृद्धिलाई समर्थन गर्न घरजग्गा बजारको विश्वास बहाली र स्वस्थ विकासलाई बढावा दिने प्रयासहरू महत्वपूर्ण हुने बताएको छ ।

प्रतिवेदनका अनुसार विश्वव्यापी अनिश्चितताका बावजुद सन् २०२३ को पहिलो ११ महिनामा भियतनाममा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता निरन्तर वृद्धि भई २८ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ, जुन सन् २०२२ को सोही अवधिको तुलनामा १४।८ प्रतिशतले बढी हो ।

यसले भियतनामको आर्थिक सम्भावनाप्रति लगानीकर्ताको विश्वास प्रतिबिम्बित गरेको बैंकले जनाएको छ । बैंकले सन् २०२३ मा भियतनामको आर्थिक वृद्धिदर ४।७ प्रतिशत, सन् २०२४ मा ५।५ प्रतिशत र सन् २०२५ मा ६।० प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ ।

भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो ।

भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ०० बजे

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन 

पहिरेबेंसी– चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित