कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी « Khabarhub

कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताए । बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताए ।

“चीनको सिमाना कोरला र भारतको सिमाना त्रिवेणी नाकालाई सडक सञ्जालले जोडेर दुवै देशसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध विस्तारमा हाम्रो प्राथमिकता रहेको छ”, उनले भने, “कालीगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफ लाइन हो । यहाँको उत्पादन र खनिजजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारका लागि दुवै नाका सञ्चालनमा हाम्रो जोड रहन्छ ।”

प्रकृृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिविधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउँदै मुख्यमन्त्री अधिकारीले धैर्य र साहसतापूर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

“उद्योगी व्यवसायीलाई अहिले गाह्रो परेको सरकारले महसुस गरेको छ”, अधिकारीले भने, “धैर्य गर्नुहोस्, उद्योग व्यवसाय बन्द नगर्नुहोस् । सरकार साथमा छ । साहस बटुलेर परिस्थितिको सामना गर्नुहोस् ।”

सङ्घीय संसद्ले आवश्यक छिटो ऐन, कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गरे। उत्पादन वृद्धि र आत्मनिर्भरतामा सरकारको जोड रहेको बताउँदै उनले म्याग्दीमा बन्द रहेका स्लेट, तामा र खरिढुङ्गा खानी सञ्चालनका लागि आवश्यक ऐन, कानुन बनाउने प्रतिबद्धता जनाए ।

बेनी अस्पतालको निर्माणाधीन ५० शय्या क्षमताको भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलाई जतिसक्दो छिटो काम सक्न निर्देशन दिँदै अधिकारीले बेनी बजार संरक्षण, बेनीको खुलामञ्च खेलमैदान निर्माणलगायतका योजनामा प्रदेश सरकारले साथ दिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका धेरै योजना अधुरा, अलपत्र हुँदा नागरिकले सास्ती पाएको बताउँदै भूगोल र आवश्यकतालाई आधार मानेर बजेट, योजना र कार्यक्रम बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले अधुरा र अलपत्र आयोजनालाई पूर्णता दिनै तीनै तहका सरकारको सक्रियता आवश्यक रहेको बताए । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सवमार्फत म्याग्दीको सम्भावनाको उजागर, कला र संस्कृतिको संरक्षण, आर्थिक गतिविधिलाई चलायमान बनाउन र प्रतिभाको पहिचान गर्न सहयोग पुगेको बताए ।

पुस २८ गतेदेखि बेनीको खुलामञ्चमा सञ्चालन भएको महोत्सवमा दुई सय ६० व्यापारिक कक्ष राखिएका थिए । महोत्सवको अवसरमा पालिकास्तरीय महिला–पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : १६ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’