हावाहुरीसँगै वर्षा हुन थालेपछि… « Khabarhub

हावाहुरीसँगै वर्षा हुन थालेपछि…


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ। उनी यसो माथि घरको छानो हेर्छन्। छानोदेखि तपतप पानी चुइरहेको हुन्छ। पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै कुना खोज्दाखोज्दै उज्यालो हुन्छ।

यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका लिम्बूको घरको बसाइको अवस्था। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्णपमा बस्दै आएका छन्। मिक्वाखोला –४ साँबाका स्थानीय लिम्बूको परिवार फुस (खर)ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका हुन्।

निकै जीर्ण बनेको घर पुनःनिर्माण गर्ने आर्थिक अवस्था नहुँदा लिम्बूको परिवार जोखिमयुक्त घरमा बस्न बाध्य भएको छ। फुसले छाएको छानो धेरै नै पुरानो भएकाले घामपानी र हावाहुरी छेक्न नसक्ने अवस्थाको जीर्ण घरमा लिम्बूको परिवारको बसोबास रहेको छ।

झट्ट हेर्दा हालको उक्त संरचनामा मानिसको बसोबास नरहेको अर्थात् पहिले नै छाडिसकेको जस्तो देखिने जीर्ण घरमा लिम्बूको परिवारको बास रहेको छ। लिम्बूको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमती छन्। परिवारमा छ जनाको सङ्ख्या रहे पनि अधिकांश समय लिम्बूकी श्रीमती रीता र कान्छी छोरी माया लिम्बू बस्दै आएका छन्।

दुई दाजु काम वा अन्य सिलसिलामा बाहिरै बस्ने गरेको, दिदी फुपूको घरमा र आफूचाहिँ आमासँगै रहेको १४ वर्षीया माया लिम्बूले बताए। बाबु सुरेश गाउँघरतिरै डुलघुम गर्दै घर आउने टुङ्गो नरहने मायाले सुनाए। उनले यस वर्ष बर्खा नलाग्दै हावाहुरी र पानी पर्न थालेकाले घर चुहिएर बसिनसक्नुरहेको बताए।

केही ठूलो पानी पर्दा घरभित्र आहाल (पानी जम्ने) हुने र चुल्होमा आगो बाल्नै नमिल्ने अवस्था रहेको छोरी मायाले सुनाइन्। “कुनै समय ठूलो पानी परेका बेला रातभर नसुती (जाग्राम) बस्ने गरेका छौँ”, उनले भनिन्। गाउँपालिका र वडाका जनप्रतिनिधिले सहयोग गर्ने कुरा के छ ? भन्ने प्रसङ्गमा आफूलाई केही थाहा नभएको उनले बताइन्। उनले घरको एकछेउमा थोरै जस्तापाताले छाएको छाल्की रहेकाले टाउको ओताउने ठाउँ भएको बताइन्।

यसरी पानी चुहिएर घर जीर्ण भई दयनीय अवस्थासँगै लिम्बूको परिवारमा दैनिकी चलाउनलाई पनि मुस्किल रहेको स्थानीयले बताएका छन्। घरमुली लिम्बूले आफ्नो घरको व्यवस्थापन गर्नेतर्फ खासै चासो नदिएकाले पनि थप संरचना जीर्ण बन्दै गएको छरछिमेक बताउँछन्। स्थानीय छिमेकीले परिवारमा अभिभावकीय भूमिका निभाउने कार्यमा पनि लिम्बूको कमजोरी औँल्याएका छन्।

लिम्बूको घरको दयनीय अवस्थाबारे आफूलाई हालसम्म कुनै जानकारी नै नगराइएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताए। उनले लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने बताए।

साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूले फुसको छाना विस्थापन कार्यक्रमअन्तर्गत लिम्बूको नाम पनि सूचिकृत भएको जानकारी दिए। वडाका १८ परिवारको सूचीकृत भएका नाममा लिम्बूको नाम रहेको वडाध्यक्ष साँवाले बताए। सरकारी अनुदान लिने उद्देश्य राखेर कतिपय परिवारले आफ्नो घरको बेवास्ता गर्ने गरेको पाइएको पनि वडाध्यक्ष साँवाको भनाइ छ।

उनका अनुसार समयमा आफ्नो घर वा संरचनाको सुरक्षाप्रति घरधनीले बेवास्ता गर्दा छाना चुहिएर घर थप जीर्ण बन्ने गरेको पाइएको छ। ढुङ्गा र माटोले बनेको घरको वाल (गारो) धराप हुने गरेको छ भने छानाका डाँडाभाटा, दलिन, सेप्रीमा प्रयोग गरिएका काठहरु मक्काउने गरेका छन्।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १० : २९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी