अन्तर्वार्ता

समाजवादी मोर्चाले सरकारलाई ‘गाइड’ गर्छ

By खबरहब

June 21, 2023

नेकपा (एकीकृत समाजवादी) अहिले सत्ता घटकको एउटा सहयात्री दल हो। सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)सहित सत्ता घटककै एउटा मोर्चा घोषणा भएको छ। यो मोर्चामा सहभागी संसदको संख्या ५४ पुगेको छ। अरू ठुला दललाई चुनौती दिन यो आवश्यकता हो ? अथवा यसमा आबद्ध भएका दलको शक्तिका हिसाबले एकत्रित गर्ने यो मोर्चा हो। खासमा के हो ? यो मोर्चाले गर्न खोजेको के हो ? नेकपा एसले यसमा कस्तो भूमिका निर्वाह गरेको छ ? यी र यस्तै विषयमा आधारित रहेर नेकपा (एस)का नेता एवम् पूर्व मन्त्री विरोध खतिवडासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:

यतिबेला यो मोर्चा के को लागि हो ? मन मिल्ने साथीहरू सँगै हिँड्ने, सँगै बस्ने र मनका कुरा साटासाट गर्ने प्रक्रिया पुरानै हो। हाम्रो समाजमा यो प्रक्रिया लामो समयदेखि चल्दै आएको छ। मुद्दा मिल्ने दलहरू मिलेर एक भएर जान हामीले यो मोर्चा बनाएका हौं। संगठित रूपबाट सरकारले कुनै नराम्रो गर्न खोज्यो भने हामीले यो गर्नु हुँदैन भनेर दबाब दिने हो। छुट्टाछुट्टै रूपमा सुझाव दिनु भन्दा साङ्गठनिक रूपले अगाडि बढौँ भनेर यो मोर्चा बनाएका हौं। यो पार्टी एकता होइन, पार्टी सबै आफै स्वतन्त्र हुन्छन्।

यो मोर्चामा ५ वटा दल मिलेका छन्। आफैमा संकट आइलाग्यो र त्यसलाई पार लगाउन यो मोर्चा गठन गरेको भन्ने आरोप छ। यथार्थ त्यही हो ? हाम्रा आकार र साइज तिनै हुन्। संसद्‍मा प्रतिनिधित्व थियो। त्यो यथावत् छ। समाजमा बेलाबेलामा उठ्ने विभिन्न मुद्दामा हामीले साझा दृष्टिकोण दिने सहमति गरेका छौं। सँगै बस्दै गएपछि मित्रता बढ्दै गयो भने आवश्यक पर्दा दुई वा तीन वटा पार्टी पनि मिल्न सक्छन्। पार्टी एकताको लागि पनि यसले बाटो सहज बनाउन सक्छ। अर्थात् एकताका लागि सहकार्य सरल बाटो हुनसक्छ।

नेपालमा एउटा दलमा आबद्ध भएका शीर्ष नेताले एउटालाई नेतृत्व सुम्पिन तयार हुँदा रहेनछन् भन्ने उदाहरण हामीले देखिरहेका छौँ। तपाईंको कुरा यसमा मेल खान्छ त ? पाँच वटै दल मिलेर एक हुन्छन् भनेर हामीले सोचेको होइनौँ। पार्टी एकता नभए पनि अहिले विद्यमान मुद्दामा उठेका समस्या सामूहिक रूपमा समाधान गर्न हामी अगाडि बढेका छौँ। यो मोर्चा निर्माण गर्ने क्रममा कुनै समस्या देखिएको छैन। प्रत्येक बैठकमा एउटा चियर पर्सन बस्नुपर्छ त्यसमा सबै जना पालैपालो बस्नु हुन्छ।

मोर्चाले पार्टीमा देखिएका समस्यालाई मात्र हेर्ने कि, भारत भ्रमणमा प्रधानमन्त्रीले सीमाका विषयमा बोल्नु भएन, भारतीय फिल्मको कुराले स्थानीय तहका प्रमुखले बोलेर चर्चा भइरहेको छ। त्यहाँ ध्यान किन नदिने ? सबै जना त्यही ढङ्गबाट हिँड्नुपर्छ भन्ने छैन। हामी सबैले राष्ट्रियताको सवालमा स्वतन्त्र रूपमा बोल्न पाइन्छ। यो तुलना गर्ने भन्दा पनि आफूलाई लागेका कुरा राख्न पाइन्छ। त्यो सही छ भने कार्यान्वयनमा आउँछ गलत छ भने प्रतिवाद हुन्छ। त्यसैले यो मुद्दा यसले नै उठाउनु पर्छ भनेर जानु हुँदैन।

अहिले नेकपा एसको अवस्था चाहिँ के हो ? कमजोर बन्दै गएको हो ? हामी बलियो हुँदै गएका छौँ। केही तहमा पुरानै ठाउँमा छौँ। सोचे जति विस्तार गर्न सकेका छैनौँ। त्यसले गर्दा हामी जुन उद्देश्यले बाहिर आयौँ त्यो ठिक भएन भन्ने छैन। ठुलो पार्टीमा ठुलै निराशा छन् र सानामा पनि सानै निराशा छन्।

नेकपा एसमा जोडिने भन्दा पनि तोडिने धेरै भएका छन्, किन ? तोडिने मात्र होइन। पार्टीमा केही मान्छे आएका पनि छन्। हिजो नेकपा बन्दा सबैको साझा सहमति थियो। अब चेत आएको हो भने पुरानै नेकपा ब्युँताउन अभ्यास गर्नुपर्ने आवश्यकता छ। नेकपा ब्युँताउने कुरामा हाम्रो आपत्ति छैन। यही कुरा बाहिर आउँदा माधव नेपाल जान खोजे भन्ने समाचार बाहिर आए। हामी विभाजित भएपछि एमालेले १५ सय जनाको केन्द्रीय कमिटी बनायो। हिजोदेखि केन्द्रीय कमिटीमा बस्न चाहेका त्यहाँ पुग्न नपाएका नेताले हाम्रोमा सम्मानजनक जिम्मेवारी पाएका छन्।

समाजवादी मोर्चाबाट आम नागरिकले के पाउँछन् ? मुद्दा पाउने हो। अहिले हामीले समाजमा भएका समस्यालाई उठाउने हो। नेपाली जनताले पाउने डेलिभरी भनेको पार्टीले नेताले हात हातमा गएर दिने होइन। सरकारलाई गाइड गर्ने हो। जो जुन साइजमा छौँ। यो मोर्चा बनाएर कसैलाई असर गर्ने होइन। हामीले जनताका मुद्दा उठाउने हौँ। मोर्चा गठन भएपछि सरकारलाई र विपक्ष दल कसैलाई पनि संकट आउँदैन। कसैलाई समस्या हुँदैन।