ग्लायामर, मिडियाबाजी र उपयुक्त समयमा चुक्ने इङ्गलीस फुटबलको परम्परा नै हो। यस परम्पराले हालै अस्ट्रेलिया र न्युजील्यान्डमा भएको विश्वकपमा पनि निरन्तरता पाएको छ।
फुटबलमा हार र जित सामान्य प्रक्रिया हो। आइतबार भएको महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्पेनले इङ्गल्यान्डलाई १-० ले पराजित गरेको हो।
लामो समयको अन्तरालमा फाइनल प्रवेश गरेको इङ्गल्यान्ड अर्को एक पटक महत्त्वपूर्ण उपलब्धिको नजिक पुगेर चुकेको भने यथार्थ हो।
महिला फुटबलमा लामो समयदेखि प्रभाव जमाएका अमेरिका, जर्मनी र ब्राजिल जस्ता देशको कमजोर प्रदर्शनसँगै यी दुई देशको उदय भएको विश्वकपको फाइनलमा कारमोनाले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको थियो।
किन चुक्छ इङ्लिस फुटबल महत्त्वपूर्ण समयमा भन्ने एउटा गम्भीर बहसको विषय अझ पेचिलो बनेको छ।
प्रसङ्ग पुरुष फुटबलबाटै। सन् १९६६ मा इङ्गल्यान्डले पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो। त्यसपछि लामो समय इङ्लिस फुटबल ल्याटिनको प्रभावमा रहेको थियो।
ल्याटिन अमेरिकी देश ब्राजिल र अर्जेन्टिना मात्र होइन युरोपेली देश जर्मनी, इटाली र स्पेन त्यस बीचको समयमा इङ्गल्यान्ड भन्दा अघि रहेका थिए।
स्पेनले विश्वकप उपाधि जित्न लामो समयको प्रतीक्षा गर्नु किन परोस् तर उसको प्रदर्शनले धेरैलाई लोभ्याएको थियो।
सन् १९६६ पछि सन् १९८६ मा इङ्गल्यान्ड फेरि बलियो टोलीको रूपमा उदाएको थियो। सन् १९८६ मा गेरी लिनेकरको प्रभावमा रहेको इङ्गल्यान्ड क्वार्टर फाइनलमा अर्जेन्टिनासँग पराजित भएको हो।
सन् १९९० को सेमिफाइनलमा जर्मनीसँग टाई ब्रेकरमा हारेको इङ्गल्यान्डले लामो समय विश्वकप फुटबलमा महत्त्वपूर्ण उपस्थित जनाउन सकेन।
स्टार खेलाडीको उदयलाई आधार मान्ने हो भने सन् २००० को दशकमा भने इङ्लिस फुटबल छाएको थियो।
इङ्लिस लिगले व्यावसायिक रूपमा र लोकप्रियताको कसीमा संसारका अन्य लिगलाई पछि पारेको थियो। इङ्गल्यान्डका खेलाडीको चर्चा र लोकप्रियता पनि बढी रहेको थियो। यस अघि संसारको व्यवसायी लिगमा स्पेनिस क्लबको पकड पनि सोही समयमा कम हुन थालेको थियो।
धरै महत्त्वपूर्ण प्रतियोगितामा सफलता पाउन चुकेपछि यसका कारणका बारे धेरै चर्चा भएको थिए। विज्ञहरूले केही अनुमानित कारणका बारे चर्चा गरेको थिए । पहिलो त जब महत्त्वपूर्ण प्रतियोगिता नजिक आउँछ इङ्गल्यान्डले उपाधि नै जितेको झैँ प्रचार हुन्छ।
यसले त्यस टोलीलाई अत्यन्त बोझ र भारको महसुस हुने र ठुला प्रतियोगितामा चुक्ने डर बढी हुन्छ।
इङ्लिस फुटबल टाई ब्रेकरमा भने धेरै जसो चुक्ने गरेको छ। यसले महत्त्वपूर्ण समयमा उनीहरू चुक्ने र दबाब झेल्न कठिन टोली भएको प्रस्ट हुन्छ।
सन् २००० को दशकमा डेभिड बेकह्याम, स्टेफन गेरार्ड, फ्रान्क लाम्पार्ड, माइकल ओवेन र वाइन रोनीको लोकप्रियताको वरपर इङ्गल्यान्डको फुटबल घुमेको थियो।
इङ्गल्यान्डको पनि विशेषता के थियो भने यस टोलीले प्राय जसो पहिलो चरणमा राम्रो प्रदर्शन गर्ने गरेको छ। तथापि त्यो प्रदर्शन र नतिजा अन्तिम समयसम्म कायम रहन सकेको छैन।
फ्यान र सञ्चार माध्यमले व्यक्त गर्ने उनीहरूको अपेक्षाका कारण इङ्लिस टोली सधैँ दबाबमा रहने गरेको छ।
इङ्गल्यान्डको टोलीलाई अभागी टोलीको रूपमा पनि लिइन्छ। फुटबलमा भाग्यको मापन टाई ब्रेकरमा हुने जहाँ उनीहरू चुक्ने गरेका छन्।
सन् २००४ को युरो कपमा पोर्चुगलसँग टाइब्रेकरमा पराजित इङ्गल्यान्ड त्यस भन्दा पछि विश्वकपमा फ्रान्ससँग पेनाल्टीमा नै हारेको थियो। यस्तै नियति सन् १९९० को दशकमा पनि लागु भएको थियो।
सन् १९९० को विश्वकपको सेमिफाइनलमा जर्मनीसँग पराजित इङ्गल्यान्ड को त्यसको आठ वर्ष पछि अर्जेन्टिनासँग दोस्रो चरणमा पराजित भएको थियो। इङ्गल्यान्डको यो नियति अझै कायम नै छ।
खेलको दौरान खेलाडीहरू बारम्बार अनुशासनमा चुक्नु र लय गुमाउने त्यस टोलीको नियति नै बनेको थियो।
डेभिड बेकह्याम सबै भन्दा चर्चामा रहेको सन् १९९८ को विश्वकपको दोस्रो चरणमा अर्जेन्टिनासँगको खेलमा रातो कार्ड पाएर बाहिरिएका थिए।
सोही खेलमा इङ्गल्यान्ड पराजित हुँदै बाहिरिएको हो। स्टार खेलाडीले नै रातो कार्ड पाउने इङ्लिस फुटबलको कथा अझ यथावतै छ।
त्यसो त टोली अनुसारको मेनेजर नपाएको गुनासो पनि धेरे सुनिएको थियो। महत्त्वपूर्ण उपाधि जित्न नसक्ने मात्र होइन छनोट चरणमा धेरै चुक्ने स्टार खेलाडीले भरिएको देशको रूपमा पनि इङ्गल्यान्डकै परिचय छ।
यसको सबै भन्दा बलियो उदाहरण सन् २००८ को युरो कप हो। सो युरो कपमा इङ्गल्यान्डले नै सफलता पाउने अनुमान थियो। तथापि रियो फर्डीनान्ड सहितका स्टार भएको सो टोली छनोट हुन नै असफल भएको थियो।
धेरै स्टार खेलाडी भएको समयमा एक आपसमा इगोको समस्या धेरै रहने टोली पनि इङ्गल्यान्डलाई मान्ने गरिन्छ।
सन् २००० को दशकदेखि अहिलेसम्म महत्त्वपूर्ण समयमा टोलीमा रहने खेलाडी आपसी असमझदारी र इगोको समस्या अझ कायम छ ।
त्यहाँको व्यावसायिक फुटबलले अन्य लिगलाई धेरै प्रभावमा त पार्न सफल भयो। परन्तु यो सफलता नै राष्ट्रिय टोलीको असफलताको एउटा कारण पनि बनेको पण्डितहरूको मत छ।
त्यहाँका क्लबमा रहेको प्रतिद्वन्द्वी अहिले पनि यथावतै छ। त्यसले इङ्गलीस फुटबललाई नराम्रोसँग गाँजेको छ। क्लब फुटबलमा रहेको प्रभाव उनीहरूले राष्ट्रिय टोलीमा पार्न पनि सकेनन्।
यस महिला विश्वकपमा इङ्लिस टोलीको यात्रा हाइटी माथिको १-० को जितबाट सुरु भएको थियो।
अर्को खेलमा डेनमार्कलाई इङ्गल्यान्डले सोही गोल अन्तरले हराएको हो। कुनै समय महिला फुटबलमामा शक्तिको रूपमा रहेको चीन अहिले भने निरीह साबित भयो। चीनलाई इङ्गल्यान्डले ६-१ ले हराएको हो।
दोस्रो चरणमा नाइजेरियासँग भिडेको इङ्गल्यान्डले प्रदर्शन त्यसै अनुरूपको थिएन। टाइब्रेकरमा ४-२ ले पराजित गर्दै इङ्गल्यान्ड क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो। ९० मिनेटको समयमा २० पटक आक्रमणको प्रयास गरे पनि सफलता पाउन सकेन। यस मध्येको दुई प्रहार गोल पोस्टमा लागेको थियो।
क्वार्टर फाइनलमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै कोलम्बियालाई इङ्गल्यान्डले २-१ ले हरायो।
घरेलु टोली अष्ट्रेलिया यस विश्वकपमा शानदार रूपले प्रस्तुत भएको थियो। उसका लागि सेमिफाइनल यात्रा पक्कै महत्त्वपूर्ण हो। त्यसै अष्ट्रेलिया सेमिफाइनलमा इङ्गल्यान्डसँग ३-१ ले हारेको हो।
इङ्गल्यान्डलाई एउटा अवसर पनि प्राप्त भएको थियो। जसरी जाभी , आन्द्रेइ इनेस्टा र डेभिड भिल्ला प्रभावित स्पेनले सन् २००८ बाट स्वर्णिम युग बिताएको थियो। त्यसैगरी महिला फुटबलमा इङ्गल्यान्डको स्वर्णिम युगको त सुरु हुने होइन भन्ने पनि अनुमान थियो।
युरोपेली च्याम्पियन इङ्गल्यान्ड यस पटक फाइनलमा फेरी चुकेको छ। एउटा स्वर्णिम इतिहास बनाउने अवसर इङ्गल्यान्डले फेरि गुमाएको छ। स्रोतः सपोट्स केडीया, बीबीसी
प्रतिक्रिया