गणतन्त्र र संघीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

गणतन्त्र र संघीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र संघीयतामाथिको प्रहार स्वीकार्य नहुने बताएका छन् ।

म्याग्दीको बेनीमा आजदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको उद्घाटनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिविधि स्वीकार्य नभएको बताए । 

‘आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार यही व्यवस्थाले नागरिकलाई दिएको छ, गणतन्त्र र संघीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘गल्ती गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।’

दुई सय ४० वर्षको राजतन्त्र, ३० वर्षे पञ्चायती व्यवस्था र एक सय चार वर्षे राणा शासनको इतिहास अध्ययन गर्न अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र संघीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । 

प्रदेश सरकारले म्याग्दी, मनाङ, मुस्ताङलगायत विकासमा पछाडि परेका जिल्लाको पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउदै उनले संघीयताका कारण पहुँच नभएका र पछाडि परेका क्षेत्र, समुदाय र भूगोलका नागरिकले विकासको लाभ लिन थालेको बताए। 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रदेश सरकार मातहतको बेनी अस्पताल नगरपालिकालाई हस्तान्तरणका लागि गरेको प्रस्तावका विषयमा मुख्यमन्त्री पाण्डेले अस्पताल सञ्चालन गर्ने बजेटको स्रोत सुनिश्चितता गरेर आउन आग्रह गरे।

“तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरेर आफ्नो अधिकार क्षेत्रमा रहेर जिम्मेवार भएर काम गर्न आवश्यक छ”, उनले भने, “एकले अर्कालाई दोषारोपण गर्ने र जिम्मेवारीबाट पन्छने छुट कसैलाई छैन ।” मुख्यमन्त्री पाण्डेले म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माण गर्ने घोषणा गरे । 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीका मुख्य सडकलाई कालोपत्र र सहायक सडकलाई ग्राभेल गर्ने लक्ष्यसहित योजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिए । अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शय्या क्षमताको भवनलाई पूर्णता दिन संघीय सरकार र निर्माण व्यवसायीलाई सहजिकरण गरेर काममा फर्काउने प्रयास गरिरहेको उनको भनाइ छ । 

‘बेनी अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउने र कामलाई तीव्रता नदिए ठेक्का तोड्नुपर्ने दुई वटा मात्रै विकल्पमा केन्द्रित भएका छौ,’ उनले भने। 

म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको सम्मेलनको उद्घाटन समारोहमा म्याग्दीका भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो उद्यमी किरण थापा, पहिरोग्रस्त क्षेत्रमा उद्धारमा योगदान पुर्‍याउने इन्द्रसिंह शेरचन र गायक प्रकाश दुतराजलाई सम्मान गरिएको थियो । निर्वाचन क्षेत्र ९२० अन्तर्गतका ४१ शाखासहित देशभरका १७८ वटै जेसीजका प्रतिनिधि पर्यवेक्षकहरूको सहभागिता रहेको सम्मेलन दुई दिनसम्म चल्ने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले बताए । 

‘सम्मेलनमा म्याग्दीको पहिचान र चिनारी गराउने कोसीस गरेका छौँ’, उनले भने, ‘यो सम्मेलनले थलिएको बेनीको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।’ नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवर्द्धन, उत्पादित बस्तु तथा उपजको प्रचारप्रसारका साथै कला, संस्कृतिको संरक्षणसँग जोडिएको उनले बताए । 

उद्घाटन समारोह सुरु हुनु अघि विभिन्न जातजातिको झाँकीसहितको र्‍यालीले बेनी बजार परिक्रमा गरेको थियो । म्याग्दीका विभिन्न समुदायले चोक चोकमा झाँकी देखाएर अतिथिलाई स्वागत गरेका थिए । अतिथिहरूलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पवित्र कालीगण्डकी नदीमा पाइने शालिग्राम मायाको चिनोको रुपमा प्रदान गरिने सम्मेलनका निर्देशक सुविन श्रेष्ठले बताए । 

प्रतिनिधिहरूलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरू लभ्लीहिल, गलेश्वरधाम, सिङ्गा तातोपानीलगायतका क्षेत्रमा भ्रमण गराउने कार्यक्रम छ । सम्मेलन स्थल बेनीको खुल्ला मञ्च परिसरमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अष्ट्रेलियासँगको सहकार्यमा नदेखिएको म्याग्दी शीर्षकको तस्बिर प्रदर्शनी गरिएको छ । 

म्याग्दीको मौलिक कला र संस्कृति सहितको मनोरञ्जन दिन उद्घाटन हुने दिनको साँझमा ‘म्याग्दी नाइट’ सांस्कृतिक प्रस्तुति आयोजना गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ४ : १९ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका