पर्यटन प्रवर्द्धनार्थ जंगलमा ताल निर्माण सुरु | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धनार्थ जंगलमा ताल निर्माण सुरु


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा कृत्रिम ताल निर्माण थालिएको हो । 

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार हिलेजलजले ‘ख’ वनमा ० दशमलब ४९ हेक्टर क्षेत्रफलको ताल बनाउन लागिएको छ । प्रदेशको पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेपछि प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले डिभिजन कार्यालयमार्फत निर्माण गर्न लागेको तालमा डुंगा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यका लागि सजावटका काम हुने जनाइएको छ । 

यस्तै ताल परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेत  संरक्षण गर्ने गरी ताल संरक्षण गर्ने योजना बनाइने, ताल क्षेत्र वरपरका रुखमा ‘ट्रि हाउस, ट्रि सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्याउन संरचना निर्माण गर्न सकिने जनाइएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माण गर्न गत वर्ष डिपिआर तयारपछि प्रारम्भिक वातावरणीय मूल्यांकन प्रतिवेदनलाई केही परिमार्जन गरी ताल निर्माणार्थ जङ्गलका रुख कटानको प्रक्रियासमेत सँगसँगै अघि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यालयका डिभिजन प्रमुख तथा इञ्जिनीयर मनिष महर्जनका अनुसार ताल निर्माण हुने स्थानमा रुख कटानका लागि प्रक्रिया चलिरहेको छ । रुख कटान आदेशसँगै ताल निर्माणको काम अगाडि बढिरहेको र ताल निर्माण हुने स्थानका तीन सय सात वटा रुख कटान गर्नुपर्ने छ ।

ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध निर्माण गरिने र  पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडा तथा एक सय ८२ मिटर लामो हुने उनले बताए । पहिलो चरणमा ताल निर्माण गरिने र दोस्रो चरणमा टिकट घरलगायत पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचनाका अन्य पूर्वाधार निर्माण गरिने छ । 

ताल निर्माणका लागि चालु आर्थिक वर्षको पहिलो चरणमा रु एक करोड बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । तालसहितका उल्लेखित संरचना निर्माण गर्न थप रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । ताल निर्माणपछि सङ्घीय राजधानी काठमाडौँको नजिकैको एक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । 

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाइएको र हाल बहुउद्देश्यीय परियोजनाका रुपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागतरुपमा लगिएको सांसद गोकुल बाँस्कोटाले बताएका छन्।

 उनका अनुसार बनेपाको वासुकी क्षेत्र र हिलेजलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो । यस्तै तीन वर्षअघि सङ्घीय पर्यटन मन्त्रालयको सशर्त अनुदानको रु १५ लाख डिपीआरलगायतका लागि विनियोजन गरिएको थियो ।  

हाल सानो पोखरीमा अवस्थित हिलेजलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व रहेको पाइएको छ । नगरकोटस्थित महादेव पोखरी र हिलेजलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किम्बन्ती छ । यस्तै वासुकी नाग हिले जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास गरिन्छ । हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही)का दिन पनौतीमा लाग्ने जात्रामा हिलेजलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने हुँदै आएको छ ।वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कँदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि रहेको पाइन्छ । 

वासुकी नागले पनौतीको भ्रमण गर्दा उनको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास यहाँका बासिन्दामा  रहेको स्थानीयवासी कृष्णप्रसाद दाहालले बताएका छन्। हिलेजलजले क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयवासीको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माण गर्न लागिएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १ : ३५ बजे

केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?

काठमाडाैं – सरकारले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं – पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित