आँबुखैरेनीमा पर्यटन, स्वास्थ्य र शिक्षाका लागि विशेष पहल  « Khabarhub

आँबुखैरेनीमा पर्यटन, स्वास्थ्य र शिक्षाका लागि विशेष पहल 


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली- पर्यटनमार्फत गाउँलाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ आँबुखैरेनी गाउँपालिकाले कार्ययोजना तयार गरेको छ । धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने र मर्स्याङ्दी नदीमा मोटरबोटर सञ्चालन गर्ने गाउँपालिकाको अवधारणा छ । आँधीमूललाई धार्मिक पर्यटकीय स्थलको गन्तव्य बनाउन त्यहाँ ताल बनाउने योजना अगाडि सारिएको छ ।

आँबुखैरेनी गाउँपालिका–१ आँधीमूलमा ताल बनाउन चालु आर्थिक वर्षमा ५० लाख बजेट रुपैयाँ विनियोजन गरिएको छ । पृथ्वी राजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ ।

आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकाले पूजा अर्चनाका साथै वनभोजका लागि मानिस टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

प्यागोडा शैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रूपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरूपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ । प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको छ । महाभारत शृङ्खलाअन्तर्गत तनहुँकै अग्लो स्थानमा रहेको छिम्केश्वरी यही गाउँपालिकामा पर्दछ ।

प्राचीन काल देखि नै यहाँ स्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्व कालदेखि नै हरिबोधिनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

गाउँपालिकाले वडा नं ४ मा रहेको मर्स्याङ्दी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ । मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । ‘यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ’, उनले भने, ‘त्यसका लागि ऊर्जा मन्त्रालयमार्फत अनुमति चाहेका छौँ ।’

चुमानका अनुसार चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ । ‘नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरूलाई आँबुखैरेनीमा एक दिन भए पनि राख्न सकिए यहाँका स्थानीयवासीको जीविकोपार्जनमा पनि सहयोग पुग्छ’, चुमानले भने । उनले भने, ‘आँबुखैरेनीलाई देशकै नमूना पालिका बनाउने गरी योजना अगाडि सारेका छौँ ।’

गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि केही काम सुरु गरिसकेको छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवान्का आकृति बनाइरहेको छ । यस ठाउँलाई पर्यटनको गन्तव्य बनाउन यहाँका प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुद्न सुरु गरिएको छ । ‘ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ’, अध्यक्ष चुमानले भने ।

ऐनापहरामा पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यहाँ थप पूर्वाधार निर्माणका लागि रु पाँच करोड बजेट आवश्यक पर्ने देखिएको छ । थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ ।

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा जीप फ्लायरको सम्भाव्यता अध्ययन गर्न लागिएको छ । छिम्केश्वरी मन्दिरको प्रवर्द्धनका लागि जीप फ्लायर सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने चुमान बताउँछन् ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनः निर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदल मार्ग र रेलिङ निर्माण गरिएको छ । छिम्केश्वरीको पर्यटन प्रवर्द्धनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि केही नवीन काम गर्न खोजेको छ । गाउँपालिकामा रहेको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिदेखि विद्यालयको भौतिक एवं शैक्षिक सुधारका लागि प्रयास थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ वडा कार्यालयले आफ्नो भवन इन्द्रदेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । वडा कार्यालय बरु अन्य ठाउँमा सञ्चालन गरेर सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकिएको छ । उक्त निर्णय आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुनेछ । आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् ।

पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीको आँपको बृहत् बगैँचा भएकाले आँबु र आसपासमा खयरको समेत जङ्गल रहेकाले खैरेनी भन्ने चलनबाट अपभ्रंस भई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । यहाँ भौगोलिक रूपमा लेक, बेँसी, पहाड भू बनोटको विविधता पाइन्छ । यहाँ मुख्यगरी मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत विभिन्न जातजातिको बसोबास रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  २ : ३८ बजे

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ

एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

रातभर लगाएर एमालेको महाधिवेशनस्थल तयार, प्रतिनिधिहरूको चहलपहल सुरु

भक्तपुर– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि रातभर लगाएर उद्घाटनस्थलको

महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न

काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको